कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

वन्यजन्तु संरक्षण गर्न पशु बिमा

हरि गौतम

रुकुम पश्चिम — सेफोक्सुडो राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको संरक्षण गर्न पशु बिमा कार्यक्रम सुरु गरिएको छ । निकुञ्जमा पाइने हिउँचितुवा, ब्वाँसोलगायत वन्यजन्तुबाट घरपालुवा जनावरमा हुने क्षति न्यूनीकरण गर्न बिमा कार्यक्रम थालिएको हो ।

वन्यजन्तु संरक्षण गर्न पशु बिमा

मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने किसानले पालेका झन्डै ५ प्रतिशत पशुचौपाया वन्यजन्तुले मार्ने गरेको निकुञ्जको तथ्यांक छ । पशुचौपाया मारेको आक्रोशमा किसानले वन्यजन्तुमा क्षति पुर्‍याउन थालेपछि बिमा कार्यक्रम अघि सारिएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । ‘अब वन्यजन्तुमा क्षति रोकिने विश्वास छ,’ उनले भने, ‘निकुञ्ज आसपासका किसानले पालेका सबै पशुचौपायाको बिमा गर्न सुरु गरिसकेका छौं ।’ उनका अनुसार पशुचौपाया मरेपछि त्यसको क्षतिपूर्ति किसानले पाउनेछन् ।

निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश बासिन्दाको मुख्य आम्दानीको स्रोत नै पशुपालन व्यवसाय हो । त्यस क्षेत्रका किसानले चौंरी, भेडा, च्यांग्रालगायत पशुचौपाया व्यावसायिक रूपमै पालेका छन् । ‘हिउँचितुवालगायत दुर्लभ वन्यजन्तु जोगाउन किसान लक्षित बिमा कार्यक्रम ल्याइएको हो,’ पौडेलले भने, ‘पशु चौपायामा वन्यजन्तुले क्षति पुर्‍याएपछि बिमामार्फत तत्कालै राहत र क्षतिपूर्ति दिइनेछ ।’ उनका अनुसार अधिकांश किसानमा आफ्ना पशु चौपायालाई मार्ने वन्यजन्तुलाई सिध्याउनुपर्छ भन्ने मान्यता छ ।

स्थानीय समुदायको प्रिमियम र विश्व वन्यजन्तु कोषबाट प्रदान गरिएको अक्षय कोषको ब्याज रकमबाट बिमा कार्यक्रम सुरु गरिएको हो । मध्यवर्ती क्षेत्रमा मुगु र डोल्पाका विभिन्न गाउँ छन् । बिमा कार्यक्रमले स्थानीय समुदायको जीविकोपार्जनमा सुधार हुनेसमेत अपेक्षा गरिएको पौडेलले बताए ।

प्रकाशित : पुस २१, २०७७ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×