कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ जनालाई प्राविधिक पढाउँदै आठबीसकोट

हरि गौतम

रुकुम पश्चिम — ऋण अनुदानमा दुई जनालाई पाइलट पढाएको आठबीसकोट नगरपालिकाले अरु १७ जना विद्यार्थीलाई विभिन्न प्राविधिक शिक्षा अध्ययन गराइरहेको छ । नगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न १२ छात्र र ५ छात्रालाई पूर्ण छात्रवृत्तिमा प्राविधिक शिक्षा पढाइरहेको हो ।

१७ जनालाई प्राविधिक पढाउँदै आठबीसकोट

जेहेन्दार भए पनि गरिबीका कारण पढ्न नसकेका विद्यार्थीहरु तीन वर्षे कोर्ष अध्ययनका क्रममा छन् । २ जनाले हेल्थ एसिस्टेन्ट र ३ जनाले इन्जिनियरिङको अध्ययन गरिरहेका छन् भने ३ जनालाई सब इन्जिनियर पढाइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका अनुसार २ जनाले कानुन, ३ जनाले आईटी, २ जनाले कृषि र २ जनाले स्टाफ नर्स अध्यययन गरिरहेका हुन् । कोर्ष पूरा गर्दा लाग्‍ने कलेजको सम्पूर्ण शुल्क तिरेर विद्यार्थीलाई पढाइरहेको नगरप्रमुख गोर्खबहादुर केसीले बताए । उनका अनुसार खाने र बस्ने व्यवस्था भने विद्यार्थी आफैंले गरिरहेका छन् । पढ्न चाहेको विषय र प्रवेश परीक्षा पास गरेको प्रमाणसहित छात्रवृत्तिका लागि निवेदन दिएकामध्येबाट विद्यार्थी छनोट गरिएको उनले जानकारी दिए ।

नगरपालिकाका अनुसार २०७५ मा ५ र २०७६ सालमा १२ जनालाई छात्रवृति सुविधा दिइएको छ । यो वर्ष कोरोना महामारीका कारण प्रक्रिया सुरु हुन नसकेको उनले बताए । ‘कुनै पनि विषय र कोर्ष पढ्न चाहनेहरुको पढाइ पैसाकै कारण रोकिएको छैन,’ नगरप्रमुख केसीले भने, ‘शिक्षा पाउनु सबैको मौलिक हक हो, हामीले अभियानकै रुपमा वर्षेनि यो कार्यक्रम अगाडि बढाइरहेका छौं ।’ उनका अनुसार १७ जना विद्यार्थी पढाउन नगरपालिकाले ३९ लाख ४४ हजार रुपैयाँ खर्चेको छ । जसमा एक जना विद्यार्थीले १ लाखदेखि ३ लाख ५० हजार रुपैयाँसम्म सहयोग पाएका छन् ।

प्राविधिक जनशक्तिको व्यवस्थापनका लागि नगरपालिका आफैं अघि सरेको केसीले बताए । ‘काम गर्ने क्रममा प्राविधिक जनशक्तिको अभाव देखियो,’ उनले भने, ‘नगरपालिकामै यस्तो जनशक्ति तयार पारेपछि सजिलो होला भन्ने कार्यक्रमको उद्देश्य हो ।’

प्रकाशित : पुस २०, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?