कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक हस्तान्तरण भइसक्दा पनि बनेन पुल

राजबहादुर शाही

मुगु — मुगु– हुम्लादार्म लिंक रोड निर्माण अन्तिम चरण पुगे पनि कर्णाली नदीमा बेलिब्रिज नबन्दा सवारी चलाउन मुस्किल भएको छ । ग्रामीण पहुँच कार्यक्रमले ६७ किमिमध्ये २६ किमी सम्पन्न गरी कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । बाँकी ४१ किमि पनि अन्तिम चरणमा पुगेको हो ।

जिल्ला प्राविधिक कार्यालयको ८ करोड आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको रुघा, भट्टेचौरमा २०६३ सालमै पुल बनाउन थालिए पनि अझै सम्पन्न भएको छैन । उक्त पुल २०६३ र २०७६ साल गरी दुई पटक उद्घाटन भएको हो ।

गत वर्ष मुख्यमन्त्री महेन्द्रबहादुर शाही एक साताभित्रै काम थाल्ने भन्दै पुल उद्घाटन गरी फर्किएका थिए । पुल निर्माण जिम्मा आशिष पृथिवी जेबीले लिएको थियो । ठेक्का सम्झौताको पाँच वर्ष बित्दा काम अझै अलपत्र छ । सडक बने पनि सवारी साधन चल्न कठिनाइ भएको रुघा गाउँका धनजित लावडले बताए । ‘सडक बने पनि हिँडेरै सदरमुकाम गमगढी आउजाउ गर्नुपरेको छ,’ उनले भने ।

पुल नहुँदा भौतिक पूर्वाधारका निर्माण समाग्री, खाद्य वस्तु ओसारपसार गर्न सास्ती भएको १४ नम्बर वडाध्यक्ष नन्दबहादुर बडुवालले बताए । उनले भने, ‘पुल नबन्दासम्म सडक बनेको के काम ?’

रुघा, बाम, लुम, हुम्लादार्म देउलीका बासिन्दा अझै पनि खाद्य वस्तु खच्चरमा बोकाउन बाध्य छन् । ठेकेदार कम्पनीका राजु कार्की भने पुल निर्माणस्थलमा कडा चट्टान भेटिएको काम गर्न नसकिएको बताउँछन् । कार्यालयले वातावरणीय अध्ययन र माटो परीक्षण नगरी ठेक्का खोल्दा अहिले अप्ठेरो परेको उनको भनाइ छ ।

जिल्ला पूर्वाधार विकास कार्यालयले भने ठेकेदारले १ करोड ९५ लाख रुपैयाँ पेस्की लिइसके पनि काम नगरेको आरोप लगाएको छ । ‘ठेकेदारले हरेक वर्ष ठेक्काको म्याद मात्र थपिरहेको छ,’ कार्यालय प्रमुख योगेन्द्र धरालाले भने, ‘आयोजनास्थलमा कुनै काम गरेको छैन ।’

प्रकाशित : पुस १९, २०७७ १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?