२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

धमाधम मर्दै गिद्धका बचेरा

उड्ने अभ्यास र आहारको खोजीमा निस्कँदा गिद्धका बचेरा घाइते र उपचार अभावमा धमाधम मृत्युको मुखमा
मनोज पौडेल

कपिलवस्तु — चार महिनाको दुर्लभ डंगर गिद्धको बचेरा उड्ने क्रममा खसेर घाइते भयो । बुद्धभूमि नगरपालिकास्थित भृकुटी सामुदायिक वनमा साजको रुखमा हुर्किएको बचेरा उड्न खोज्दा गोरुसिंगेको सोसल बोर्डिङ स्कुलको नालामा खसेको हो ।

धमाधम मर्दै गिद्धका बचेरा

गत मंगलबार उड्दा उड्दै भुइँमा खसेर घाइते भएको बचेराको उक्त विद्यालयका शिक्षक जोसेफ लेप्चाले उद्धार गरेर डिभिजन वन कार्यालयमा बुझाए । एक महिनाअघि कपिलवस्तु नगरपालिका–९ बैरेनी डाँडामा सिमलको रुखमा रहेको गुँडबाट भुइँमा खसेर भुँडीफोर गरुडको बचेरा घाइते भयो । खुट्टामा चोट लागेर सख्त बचेरालाई स्थानीयले उद्धार गरेर डिभिजन वन कार्यालयमा बुझाए । तर, डिभिजन वनले उपचार गरे पनि ती दुवै बचेरालाई बचाउन नसकेको कार्यालयका सहायक वन अधिकृत खिल तामाङले बताए ।

यसरी अग्ला रुखमा ओथारो बसेका चराका बचेरा उड्न अभ्यास गर्दा र आहाराको खोजीमा जान खोज्दा घाइते हुने गरेका छन् । खानपान र आहाराको अभाव हुन थालेपछि राम्ररी नहुर्कंदै बचेरा उड्न खोज्दा दुर्घटनामा पर्ने देखिएको चराविद् कृष्णप्रसाद भुसालले बताए । ‘माउले ल्याएको आहारा बचेरालाई पुग्दैन । आहारका लागि उडान गर्न योग्य नहुँदै बचेरा उड्न खोज्छ,’ चराविद् भुसालले भने, ‘आहारा खोज्न परपरसम्म पुग्दा समस्या बढ्दै गएको देखिन्छ ।’ घाइते बचेराले सामान्य उपचार र स्याहार नपाउँदा मर्ने गरेको उनले बताए ।

गत साता दाङको लमही नगरपालिका उचानिम्बु सामुदायिक वनमा पनि उड्ने क्रममा विश्वमै दुर्लभ डंगर गिद्धको बचेरा जमिनमा बजारियो । घाइते अवस्थामा उद्धार गरेर फेरि वनमै लगेर छाडिएको संरक्षणकर्मी चिरञ्जीवी खनालले बताए । त्यस्तै कावासोती नगरपालिकाको पिठ्यौलीस्थित जटायु रेस्टुरेन्टमा पनि उड्न सिक्ने क्रममा घाइते भएका दुई डंगर गिद्धका बचेराको उपचार भइरहेको छ ।

स्थानीय सामुदायिक वनको रुखमा लगाएको गुँडमा हुर्किरहेका बचेरा अभ्यास गर्ने क्रममा भुइँमा खसेको संरक्षणकर्मी ईश्वरी चौधरीले बताए । भुइँमा खसेका धेरै बचेरा घाइते हुने र उपचार नपाउँदा अधिकांश मर्ने गरेको चराविद् हेमसागर बरालले बताए । ‘खसेका बचेरा उड्न सक्दैनन्,’ उनले भने, ‘माउले पनि उडाएर लिएर जान सक्ने अवस्था हुँदैन । यो समस्या मुख्य चुनौती बन्दै गएको छ ।’

विश्वकै दुर्लभ डंगर गिद्धका बचेरा यतिबेला गुँड छाडेर उडान भर्ने तरखरमा छन् । कात्तिक–मंसिरदेखि गुँड बनाउन सुरु गर्ने डंगर गिद्ध करिब दुई महिनासम्म ओथारो बस्छ । पुस–माघमा बच्चा कोरल्ने गिद्धका बच्चा ४ महिनापछि उड्न तयार हुने गर्छन् । एउटा मात्र अण्डा पारेर बच्चा जन्माउने डंगर गिद्धका बच्चा उड्न सिक्दा सिक्दै घाइते भएर मृत्यु हुनु दुःखद भएको चराविद् बताउँछन् । गुँड आसपास रुखमा पहिले बचेरा हिँड्न सिक्छन् । त्यसपछि पखेटा उचाल्छन् । पखेटाको सहाराले उड्न खोज्छन् । उड्न सिक्दै गरेका बचेरा राम्रोसँग उडान भर्न नसकी रुखमा ठोक्किने वा आहार जुटाउन नसकी घाइते तथा कमजोर भएर भुइँमा झरेर घाइते हुन पुग्ने गरेका छन् ।

४०/५० मिटरमाथि साज, सिमल र सालका रुखमा डंगर गिद्ध ओथारो बस्छ । लमही नगरपालिकास्थित उचानिम्बु सामुदायिक वनमा ४० डंगर गिद्धले गुँड लगाएको अनुगमन गर्दा एउटा गुडमा बचेरा मरेको पाइएको चराविद् भुसालले बताए । ओथारो बसेका गिद्धमध्ये ६० देखि ७० प्रतिशत बच्चा मात्र हुर्कन्छ । प्रकृतिको कुचीकार मानिने गिद्धले सिनो खाएर वातावरण स्वच्छ राख्न मद्दत गर्छ ।

वातावरणीय चक्र र खाद्य शृंखला सन्तुलित तथा गतिशील बनाउन भूमिका हुँदा समाज उपयोगी पन्छी मानिने गिद्धको संरक्षण जरुरी भएको डिभिजन वन कार्यालयका डीएफओ विजयराज सुवेदीले बताए । गिद्धले बच्चा हुर्काउन साल र असना जस्ता अग्ला रुख मन पराउँछ । बच्चा जन्मिने सिजनमा रुखका पात झरेर नयाँ पलाउने हुँदा बच्चाले सूर्यको प्रकाश सजिलै पाएर हुर्किन मद्दत गर्छ । आक्रमण गर्न तलबाट कोही रुखमा चढे पनि सजिलै देखिने हुँदा गिद्धले यस्ता रुख सुरक्षित मान्ने गरेको विज्ञहरू बताउँछन् ।

एउटा गिद्धले ३ दिनमा एक किलो तथा वर्षमा १ सय २० किलो सिनो खाएर प्रकृति सफा राख्छ । गिद्ध अप्ठेरो ठाउँमा पनि गएर सिनो र फोहोर खाएर वातावरण स्वच्छ राख्न सहयोग गर्ने उनले बताए । डंगर गिद्धलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले अत्यन्त लोपोन्मुख वर्गमा सूचीकृत गरेको छ । नेपालभरि यो प्रजातिको संख्या दुई हजारभन्दा कम रहेको अनुमान गरिएको नेपाल पन्छी संरक्षण संघले जनाएको छ ।

प्रकाशित : जेष्ठ २२, २०८१ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x