कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

लुम्बिनी प्रदेशसभामा बजेटमाथि आजदेखि छलफल हुँदै

देउखुरी (दाङ) — लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथि आजदेखि लुम्बिनी प्रदेशसभा बैठकमा छलफल हुँदैछ ।

लुम्बिनी प्रदेशसभामा बजेटमाथि आजदेखि छलफल हुँदै

प्रदेशसभाको १४औं बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले आर्थिक वर्षका २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथि सैद्धान्तिक छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको लुम्बिनी प्रदेशसभा सचिवालय सूचना अधिकारी सम्झना सुवेदीले बताइन् । त्यसपछि बजेटमाथि छलफल सुरु हुनेछ ।

लुम्बिनी प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला मन्त्री आचार्यले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि कुल खर्च ३८ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरेका थिए । कुल विनियोजनमध्ये चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख ८४ हजार अर्थात् २८.८७ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख अर्थात् ६३.०९ प्रतिशत छुट्टाइएको छ । वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख १६ हजार अर्थात् ८.०६ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रदेश सञ्चित कोषबाट विनियोजन हुने रकमतर्फ ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार र प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड २१ लाख, संघबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट १२ अर्ब १ करोड ५० लाख, संघबाट प्राप्त हुने रोयल्टी ५० करोड १७ लाख, स्थानीय तहबाट बाँडफाँड भई प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड १९ लाख हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब २८ करोड ६४ लाख, सशर्त अनुदानबाट, ४ अर्ब १९ करोड ३३ लाख, समपूरक अनुदानबाट ७९ करोड ५० लाख, विशेष अनुदानबाट ७४ करोड ४६ लाख, चालु आर्थिक वर्षको नगद मौज्दातबाट २ अर्ब परिचालन हुने अनुमान गरिएको छ । बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले महालेखा परीक्षकको छैठौं वार्षिक प्रतिवेदन, २०८१ प्रदेशसभामा पेस गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित : असार ६, २०८१ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×