कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

माओवादी केन्द्रका महरा मुख्यमन्त्री बन्दै
घनश्याम गौतम

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन् । केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए ।

लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार राजीनामा दिएका हुन् ।

सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन् । हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए ।

औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको विकास हुन नसक्ने उनको दाबी थियो । प्रदेशको औचित्य पुष्टि गर्न स्रोत र साधनमै पहुँच हुनु जरुरी रहेको उनले बताए । ‘प्रदेशमा हामी आफैंले कुनै पनि स्रोतको पहिचान र विकास गर्न सकेका छैनौं, मात्र मन्त्री र मुख्यमन्त्री बन्ने होडमा रमाइरहेका छौं,’ उनले भने, ‘मुख्यमन्त्रीको फोटो झुन्ड्याएर हामी रमाए पनि जनतामा चरम निराशा बढेको छ ।’ त्यसको सम्बोधन हामीले गर्न सकेका छैनौं ।

उनले प्रदेश सरकारको स्थायित्वको जरुरी रहेको बताए । ‘स्थायित्व भएन भने कुनै पनि विकास र समृद्धि अघि बढ्न सक्दैन,’ उनले भने, ‘हामी जनताकोमा ठाडो शिर लिएर जाने गरी काम गर्न सकेनौं भने औचित्य पुष्टि हुनै सक्दैन ।’

उनले हरेक प्रदेशहरुमा अस्थिरताको बादल छाएको बताए । राजनीति र संघीयतामा पनि ग्रहण लागेको भन्दै उनले संघीयता धरापमा पर्ने चिन्ता व्यक्त गरे । ‘प्रधानमन्त्री फुत्त फुत्त उफ्रने प्रवृत्तिले संघीयता धरापमा पर्न सक्छ,’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईं फुत्त फुत्त उफ्रने र यताको उता कुर्ची सार्नुभन्दा पहिला टेक्ने स्थान कहाँ हो त्यो निधो गर्नुस् ।’ फुत्तफुत्तले कहीं हामी सबैलाई डुबाउने हो कि भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।

बैठकमा बोल्दै मुख्यमन्त्री चौधरीले आफ्नो ११ महिने कार्यकालमा गरेका विकासका काम र सुरु गरेका प्रयासहरुको विषयमा बोलेका थिए । उनले सरकारले आवधिक योजना तयार गरेको, लगानी भित्र्याउनका लागि लोरियट्स एन्ड लिडर्स शिखर सम्मेलन आयोजना गरेको, २ लाख युवालाई रोजगारी दिने गरी कार्यक्रम तयार गरेको बताएका थिए । शिखर सम्मेलन राजनीतिक उथलपुथलकै कारण पूरा हुन नसकेको र २ लाखलाई रोजगारी दिने कार्यक्रम पनि अलपत्र परेको बताएका थिए ।

हरेक पटक मुख्यमन्त्रीको फोटो मात्र झुन्ड्याउने गरी मुख्यमन्त्री नबन्न आग्रह गर्दै उनले संघीयता बताउने गरी काम गर्न आउने मुख्यमन्त्रीलाई सुझाव दिए । ‘यसअघि मुख्यमन्त्रीमा मेरो फोटो झुण्डियो, अब तेस्रो मुख्यमन्त्रीको फोटो झुन्डिन्छ,’ उनले भने, ‘तर, संघीयता बच्छ कि बच्दैन भन्ने प्रश्न प्रमुख हुन थालेको छ, अब बन्ने मुख्यमन्त्रीले संघीयता बचाउने गरी काम गर्नुस्, मेरो शुभकामना छ ।’

प्रकाशित : चैत्र २२, २०८० १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?