कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

माधव ढुंगाना

भैरहवा — आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ

भारतसंगको सीमावर्ती क्षेत्र रुपन्देहीको मर्चवारी गाउँपालिका–३ सेमरहवामा नैना हेल्थ क्लिनिक पसल संचालन गरी शल्यक्रिया समेत गर्ने गरेका नागन्द्र मिश्रा नामका भारतीय नागरीकलाई बुधवार रुपन्देही प्रशासनले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन र छानबिन पश्चात् उनलाई नियन्त्रणमा लिइएको हो । स्थलगत अनुगमन टोलीका अनुसार स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनैपनि निकायमा उक्त क्लिनिक दर्ता छैन ।

अनुगमन टोली पुग्दा एक बृद्धको शल्यक्रिया गरीरहेको अवस्थामा फेला परेका मिश्राले आफू भारतीय नगारिक रहेको र फार्मेसी अध्ययन गरेको बताएका थिए । ‘त्यस क्लिनिकमा फार्मेसी पढेको भारतीय नागरीकले शल्यक्रिया समेत गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको सूचना आएको थियो’ स्थलगत छानबिन पश्चात् रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद अर्यालले भने, ‘यस बारेमा थप अनुशन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय नागरीक मिश्रालाई नियन्त्रणमा लिइएको छ ।’

मिश्राले उपचार गरेका अन्य विरामीहरुसंग बुझ्ने र यसमा अरुकोपनि संलग्नता भए/नभएको बारेमा छानबिन गरीने अर्यालले बताए । स्थलगत अनुगमन टोलीले उक्त क्लिनिकमा सिलबन्दी गरेको छ । तीन वर्ष भन्दा धेरै समयदेखि संचालनमा रहेको उक्त क्लिनिकमा पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया हुने गरेको थियो । पक्राउ परेका मिश्रामाथि थप अनुशन्धानकालागि प्रहरीको जिम्मा लगाइएको छ ।

स्थलगत अनुगमन टोलीका अनुसार, क्लिनिकमा यत्रतत्र औषधि छरिएका थिए । कैयन् औषधि म्याद गुज्रिएको भेटिएका थिए । सिरिन्ज लगायतका पुनःप्रयोग गर्न नमिल्ने औषधि भुइभरि थिए । स्थानीयका अनुसार मिश्राले आफूलाई चिकित्सक बताउने गरेका थिए । झ्यालमा किला गाडेर सलाइन पानी चढाउने र अक्सिजन दिने गरेको पाइएको थियो ।

प्रकाशित : जेष्ठ २, २०८१ १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×