२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नक्कली नोटको धन्दा

जे पाण्डे

नेपालगन्ज — बाँकेको कोहलपुरका मोहन कुमाई, अछाम तुर्माखादका दीपक बीसी र सल्यान बनगाडका मोहन राना नक्कली रुपैयाँ किनेर नेपालगन्ज बजारमा बिक्री गर्न ल्याउँदै गर्दा पक्राउ परेका छन् । १ हजार रुपैयाँका ५ लाख ६९ हजार नक्कली नोटसहित उनीहरू पक्राउ परेका हुन् । 

नक्कली नोटको धन्दा

उनीहरूले बुटवल बजारमा दुई लाख सक्कली रुपैयाँ दिएर ६ लाख नक्कली नोट साटेको बताए । ६ लाखमध्ये ३१ हजार नक्कली रुपैयाँ खाना, नास्ता र बजारका होटलमा बस्दा खर्च गरेको प्रहरीसमक्ष उनीहरूले बयान दिएका छन् ।

‘सक्कली दिएर नक्कली रुपैयाँ किनेर रातारात धनी हुने प्रलोभनमा पर्दा जेल जानुपर्ने अवस्था आयो,’ बाँके प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले भने, ‘नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा तीन जनालाई नेपालगन्जको न्युरोडबाट पक्राउ गरिएको हो । तर, सक्कली नोट लिएर नक्कली बिक्री गर्ने मुख्य नाइके बुटवलबाटै फरार भएकाले खोजी भइरहेको छ ।’ उनीहरू फागुन २ गते पक्राउ परेका हुन् । नक्कली नोट कहाँ छापिएको थियो र कसरी नेपालगन्ज ल्याइयो भन्ने अझै खुलेको छैन ।

पछिल्ला ६ महिनायता भारतसँग सीमा जोडिएको तराईका जिल्लामा नेपाली र भारतीय नक्कली नोट कारोबार गर्नेहरूको सञ्जाल फैलिँदै गएको पाइएको छ । हुबहु नेपाली नोट छापेर बजार लान तयार पारेका ५० रुपैयाँ दरका नक्कली नोट पनि उल्लेख्य मात्रामा नेपालगन्जमा फेला परेका छन् । खोटा मुद्राका कारोवारीसँगै संलग्नहरूको खोजी गर्ने क्रममा नेपालगन्जको एक होटलमा कोठा भाडामा लिएर बसेका नेपालगन्जकै सदाव हलवाईले थाइल्यान्डमा निर्मित प्रिन्टरबाट नेपाली नक्कली नोट छापेर सुकाइरहेको अवस्थामा फेला परको हो ।

प्रहरीको टोलीले छापा मारेर नक्कली नेपाली रुपैयाँ जफत त गर्‍यो तर संलग्न कारोबारीलाई नियन्त्रणमा लिन सकेन । नेपालगन्ज–३ का हलवाई नासिर कादरीको नाममा कोठा बुक गरेर पुस २९ गतेदेखि होटलको कोठा नम्बर ३०७ मा बस्दै आएका थिए । सुराकीका आधारमा माघ २ गते प्रहरीले छापा मार्दा छापेका यस्ता खोटा मुद्रा र छाप्ने उपकरण छाडेर कारोबारी फरार भइसकेका थिए ।

नेपाली नक्कली नोट छाप्ने ती व्यक्ति बसेको कोठाबाट एउटा गैरसरकारी संस्थाको परिचयपत्र फेला परेको छ । त्यसमा संलग्नको फोटो टाँसिएको छ । होटलको सीसी क्यामेरामा देखिने अनुहार र परिचयपत्रमा टाँसेको फोटो एउटै व्यक्तिको भएको पाइएपछि संलग्नको खोजी र जाली नोटका कारोबारीको लहरो तान्न सीआईबीसँग समन्वय गरी अनुसन्धान थालेको प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

फल्सबटममा भारु

ठूलो परिमाणमा सुन तस्करी भइरहेको सूचनाका आधारमा कपिलवस्तुको सीमा क्षेत्रमा प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै थियो । शंका लागेका व्यक्तिमाथि निगरानी गर्दै जाँदा माघ १९ गते राति ९ बजे एक जना भारतीय र दुई जना नेपाली प्रहरीको फन्दामा परे । प्रहरीले उनीहरू चढेको यूपी ५५ एएम ०४५९ नम्बरको हुन्डाई भेन्यु गाडी खातलासी गर्दा २१ लाख ४१ हजार ६ सय सक्कली भारु फेला पार्‍यो । त्यो पनि चालकको सिटमुनि फल्सबटममा लुकाएको अवस्थामा ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका, बिमिहाका राकेशकुमार बर्मा, राजेशकुमार बर्मा र भारतको सिद्धार्थनगर तेतरी बजारका गाडी चालक हमिद मुसलमान सीमापारिबाट फर्किंदै गर्दा प्रहरीको नियन्त्रणमा परेका हुन् । प्रहरीले दरमुकाम प्रवेश द्वार जमुवार पुलमा गाडी रोकेर खानतलासी गरेको थियो । ‘गाडीमा भारतीय रुपैयाँबाहेक सुन फेला परेन । उनीहरू सुन लिन आउँदै थिए वा बिक्री गरेर फर्किंदै ? त्यो पनि खुलेको छैन,’ प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले भने, ‘सुन राख्ने ठाउँ फल्सबटम भने देखिन्छ । तर, पक्राउ पर्नेहरूबाट रहस्य खुल्न सकेन ।’

लुकाएर ल्याएको सक्कली भारुसहित तीन जनालाई प्रहरीले वैदेशिक मुद्रा अपचलनको मुद्दामा राजस्व अनुसन्धान कार्यालयलाई जिम्मा लगाएको छ । सुन तस्करीको शंका गरिएकाहरू वैदेशिक मुद्रा अपचलनमा परेपछि तस्करीको पाटोतिरको अनुसान्धन नै अधुरो र अपुरो हुन पुगेको छ । यस्तै अवैध धन्दामा संलग्नहरूले सक्कली भारु र नक्कली नेपाली नोटको कारोबारको जाल नै फैलाएका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७९ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?