२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

मनपरी भाडाले यात्रुलाई मार 

प्रकाश बराल

बागलुङ — खानेपानीको योजनाको सर्भेका लागि बागलुङ हुँदै बडिगाड गाउँपालिका–८ रणसिंकिटेनी पुगेका पोखराका महेन्द्र कोइरालाले एकतर्फी गाडी २ हजार भाडा तिरेपछि मात्रै गन्तव्यमा पुगेको सुनाए । उक्त रकमले उनी काठमाडौं पुगेर फर्कन सक्थे ।

मनपरी भाडाले यात्रुलाई मार 

मध्यपहाडी लोकमार्ग हुँदै सदरमुकामदेखि ४५ किमी टाढाको गलकोट हटिया पुग्न ६ सय रुपैयाँ भाडा लाग्छ । जिपको यात्रा गरेका उनले बडिगाडको मुकाम पुगेको जिपमा १ हजार रुपैयाँ तिरे । त्यहाँबाट रणसिंकिटेनी पुग्दा थप १ हजार लाग्यो । बिहान सदरमुकामबाट निस्केका उनले बेलुकी बासबस्न मात्रै रणसिंकिटेनीको भेडिखोर पुगेको बताए ।

तमान खोलाको सोलेडाँडा पुग्दा जुम्लाका रामबहादुर बुढाले १ हजार ७ सय भाडा तिरेको गुनासो गरे । गैरसरकारी सस्थाको काममा आएपनि उनले पेश गर्ने बिल कार्यालयले पत्याउनै सक्दैन ।

‘दुरी हेर्दा एकसय किमी होला, भाडा तिरेको देख्दा कार्यालयले भुक्तानी दिन मान्दैन,’ उनले भने, ‘यो त साह्रै महंगो भयो, अनुगमन पनि नहुने रहेछ ।’ भनेको बेला सवारी नपाउने र सिमित सवारीले मनपरी भाडा असुल गरेपछि यात्रीले बाध्य भएर यात्रा गर्नुपरेको गुनासो गरे । स्थानीय बासिन्दा त दैनिक चर्को भाडा तिरेर हैरान परेका छन् ।

मध्यपहाडी लोकमार्गबाटै निसी पुग्दापनि यात्रीले १ हजार ५ रुपैयाँ भन्दा बढी भाडा तिर्न बाध्य छन् । ती यात्राको टिकट समेत हुँदैन । ९० किमी पश्चिमको बुर्तिवाङ बजार पुग्दा १ हजार १ सय रुपैयाँ सम्म भाडा तिर्नुपर्छ । त्यसपछि थप गाडि खोज्नुपर्ने निसीकी रबिना बुढामगरले बताइन् ।

‘सदरमुकाम जानुपरेमा रुकुमबाट आएका रात्री बस चढ्ने बाहेक अरु बिकल्प छैन’ उनले भनिन्, ‘जिप चढेर बुर्तिवाङ पुगेपछि फेरी अर्को सवारी खोज्नुपर्छ ।’ समूह बनाएर जान खोजेपनि जिपले रिर्जभ खोज्छन् । मध्यपहाडी लोकमार्गको १ सय ४२ किमी खण्ड बागलुङमा पर्छ । यो सडकमा सिधै यात्रा गर्ने सवारी पाईदैन । राजधानीबाट रुकुम जाने गाडि भेटियो भने मात्रै यात्रीले सिधै जान पाउँछन् ।

बडिगाड गाउँपालिका–१ दगातुम्डाँडाका बेदप्रसाद पोखरेलले भनेजति भाडा होइन भन्दा बिचबाटोमा व्यवसायीले अभद्र व्यवहार गरेको गुनासो गरे । दररेटको कुरा गर्दा पटकपटक अभद्र व्यवहार सहनुपर्छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुमन निउरेले भाडा समायोजनकालागि सहायक प्रजिअ चित्राङगत बरालको संयोजकत्वमा यातायात व्यवस्था कार्यालयका प्रमुख, ट्राफिक, व्यवसायी समेत रहेको भाडा निर्धारण समिति बनेको छ । चार महिना अघि बनेको यो समितिले अझै प्रतिवेदन दिएको छैन । समितिले अध्ययन प्रतिवेदन बुझाएपछि भाडा समायोजन हुने प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले बताए ।

तर समितिले म्याद थप गरेर बसेको छ । ‘कतिपय स्थानमा अत्याधिक भाडा लिएको थाहा भयो, अब तत्कालै समायोजन गरेर दररेट आएपछि त्यो समस्या हट्छ,’ सुवेदीले भने, ‘सबै यात्रामा टिकटको व्यवस्था गर्न पनि लगाउँछौं ।’ भाडाको गुनासो व्यक्तिगत रुपमा आँफूलाई समेत आएको र समितिको प्रतिवेदनपछि व्यवसायीसँग बसेर समायोजन गर्ने बताए ।

प्रशासनले ट्याक्सीकालागि भने गलकोटको प्रतिव्यक्ति ७ सय ५०, खरवाङको १ हजार र बुर्तिवाङकालागि १ हजार १ सय ५० रुपैयाँ तोकेको छ । तर ट्याक्सीले ५ हजार भन्दा कम मूल्यमा बुर्तिवाङ जानै मान्दैनन् । पिकअप र जिपले पनि सोही दररेटमा यात्रु ओसार्ने गरेका हुन् । दशकअघि कच्ची सडकमा ८ घण्टा लगाएर पुग्ने गन्तव्यमा यो खण्डमा अहिले अधिकांस कालोपत्रे भएको छ । छोटो समयमा पुगेपनि भाडादर घटेको छैन ।

राष्ट्रिय राजमार्गमा भने प्रतिकिमी साँढे दुइ रुपैयाँ देखि तीन रुपैयाँ मात्र भाडा कायम छ । यो सडकको ९० किमी मध्ये ७० किमी कालोपत्रे छ । कच्ची ट्रयाकमा लिने ग्रामीण सडकको भाडाकै रुपमा ग्राभेल र कालोपत्रेको लिनु न्ययिक नभएको जिल्ला समन्वय प्रमुख अमर थापाले बताए ।

‘यो त यात्री ठग्ने जस्तै भयो, समायोजनमा ध्यान दिनुपर्छ’ उनले भने, ‘पाइयो भनेर जथाभावी भाडा असुल्ने काम राम्रो होइन ।’ थापाले जिल्ला सभाबाटपनि भाडादरलाई व्यवस्थित बनाउने निर्णय भएको बताए ।

जिप व्यवसायी समितिका पूर्वअध्यक्ष विष्णु अधिकारीले पिकअप र रातो प्लेटले महंगो लिएको कुराले व्यवसायमा असर परेको बताए । ‘रातो प्लेटका सवारी नियन्त्रण नगरेसम्म यो समस्या टर्दैन’ अधिकारीले भने, ‘हामीले बस र जिप चलाउने योजनामा छौं, त्यसपछि भाडा महंगो पर्दैन ।’

धौलागिरिा गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसीले भने दक्षिणको कुश्मीसेरा हुँदै राङखानी सम्म बस चलाएको बताए । उक्त स्थानमा जिपको तुलनामा ५० प्रतिशत सस्तो भाडादर कायम गरेको उनले बताए । ट्राफिकले नियमित चेकजाँच गर्ने र उपभोक्ताले उजुरी गरेको खण्डमा कारवाहीको प्रक्रिया थालिने उनले बताए ।

प्रकाशित : जेष्ठ १९, २०८१ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मंसिरदेखि दूधको भुक्तानी नपाएपछि विरोधमा उत्रिएका किसानमाथि प्रहरीले धरपकड गरेकोबारे तपाईंको के टिप्पणी छ ?

x