कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अटोमोबाइलमा स्वरोजगार बनेका निर्मल

बागलुङ — उनका धेरै साथी विदेशमा मजदुरी गर्दैछन् । दैनिक सदरमुकाम पुगेर राहदानी बनाउनेदेखि दलालमार्फत विदेश जाने तयारीमा रहेकाहरु पनि छन् । विदेश जाने चक्करमा उनकै गाउँका दर्जनौं युवाले ९ लाखदेखि २० लाख रुपैयाँसम्म ठगिएर प्रशासनमा हारगुहार गर्दैछन् । तर जैमिनी नगरपालिका-१० रङखानीका निर्मल राना भने ती झन्झटबाट टाढा छन् । 

अटोमोबाइलमा स्वरोजगार बनेका निर्मल

उनी आफ्नै देशमा अटोमोबाइल सेवामा रमाइरहेका छन् । उनको दैनिकी मोटरसाइकल र मिनिटिलर मर्मत गरेर बित्छ । तीन वर्षदेखि उनले यो काम गरिरहेका छन्।

त्यसअघि उनलाई विदेश जाने रहर थियो । युवाहरुको भीडमा उनी पनि राहदानी बनाउने लाइनमा थिए । जब उनले सीप विकास गर्ने तालिम भेटाए त्यसपछि उनको सोच फेरियो । गाउँमै काम गर्नुपर्छ भन्ने मान्यता बन्यो भन्छन् राना ।

यो पेशामा अधिकांश भारतीय श्रमिक र मिस्त्री कार्यरत छन् । सदरमुकामसहित बागलुङका मुख्य बजारी क्षेत्रमा खुलेका अटोमोबाइल्समा ५ हजार बढी भारतीय श्रमिक रहेको अटोमोबाइल्स एसोसिएसन बागलुङका अध्यक्ष शिवशंकर शाहले बताए । ‘आफै खटिएर काम गर्ने स्थानीय भने न्युन मात्रै छन्,’ शाह भन्छन्, ‘चौबिसैँ घण्टा खटिनुपर्ने र सरसफाइ गर्न नसिकने भएकोले धेरै युवाको रोजाइमा यो पेशा पर्दैन ।’

पर्वत सदरमुकाममा रहेको व्यवसायिक तथा सीप विकास तालिम केन्द्रले बागलुङस्थित धौलागिरी मोर्डन इन्स्टिीच्युटमा तीन महिने मोटरसाइकल मर्मत तालिम पठायो । त्यहाँ पुगेर उनले मिहेनतका साथ काम सिके । उक्त कामले उनलाई स्वरोजगार बनौं झैँ लाग्यो ।

त्यसपछि विदेश जाने चाहना हटाएर उनले वडा-१ को कुश्मीसेरामा हरिजंग फेमिलिज मोटरसाइकल तथा मिनिटिलर मर्मत केन्द्र खोलेका छन् । उनले सबै प्रकारका मोटरसाइकलको मर्मत र सर्भिसिङ सेवा र मिनिटिलर मर्मत समेत गर्छन् ।

सुरुमै २५ लाख लगानी लाग्ने भएपछि बाबुआमा र छिमेकीले फोहोरी काम नगर्न सुझाए । तर रानाले सोच फेरेनन् । बरु केही रकम घरपरिवारको, केही रकम ऋण खोजेर काम गरिछाडे । मोटरसाइकलका पार्टस् महंगा हुन्छन् । ती सामान एउटा कम्पनीको अर्कोमा मिल्दैन । तर पनि उनले ती सामानबाट घाटा हुने वा नाफा कमाउने भन्ने आफ्नो मेहेनत र सीपमा भरपर्ने भन्दै काम आँटेरै छाडे ।

कुश्मीसेरामा काम थाल्दा छिटफुट मात्रै काम आउने गर्थ्यो । जसको कारण केही समय त उनलाई भाडा तिर्न पनि धौधौ भयो । गाउँको सानो बजार रहेको कुश्मीसेरामा मासिक ६ हजार भाडा तिरेर उनले लिएको सटर, डेरा खोजेर खानेबस्ने, परिवारको चाहना पूरा गर्ने उनको चुनौती थपियो । घरपरिवारप्रतिको दायित्व पूरा गर्न उनले कठिन संघर्ष गरे ।

‘सुरुसुरुमा एउटा कम्पनीले पनि उधारो दिएनन्, सबै रकम तिरेर सामान जोड्ने अप्ठ्यारो काम रहेछ,’ रानाले भने, ‘अझै पनि कतिपय कंपनीको त उधारो पाइदैन, केहीले भने साता दश दिन बाँकीमा सामान दिन्छन् ।’ ती सामान जडान गरेर रकम उठाउन झनै चुनौती छ ।

ग्रामीण बस्तीका कच्ची सडकमा मोटरसाइकल छिटै बिग्रन्छन् । सामान फेर्नुपर्ने बाध्यता, सर्भिसिङको काम पनि फोहोरी भए पनि उनले निरन्तर गरेका छन् । ‘काम गरिदियो, पैसा बाँकी जान्छ, सामान किन्न आँफैले नगद लगानी गर्नुपर्छ, पेशामा चुनौतीका चाङ छन्,’ उनले भने, ‘सरसफाइ भएर बस्न पनि नपाइने बाध्यता छ ।’

उनले मोटरपार्टस र मोटरसाइकल सर्भिसिङको कामलाई २४ घण्टे पेशाको रुपमा लिने गरेका छन् । सुरुसुरुमा अप्ठ्यारो लागेको काममा अहिले उनी अभ्यस्त भैसकेका छन् । रातमा कतै समस्या परेपनि पुगेर सेवा दिने गरेपछि उनी धेरैको रोजाइमा पर्न थालेका छन् ।

पत्नी केशमायाले उनको पेशालाई साथ दिएकी छिन् । मोटरसाइकल धुने काममा केशमाया खटिन्छिन् भने सामान मर्मतमा निर्मल आँफै लागेका छन् । बाहिरी काम आफूले हेर्दा मर्मतको काममा हेड मिस्त्रीले सघाउने गरेका छन् । उनले १८ हजार तलब, खानेबस्ने सेवासहित भारतीय नागरिकलाई मिस्त्री राखेका छन् । निर्मलका दाजु भने क्रोयसियामा रोजगारीका लागि पुगेका छन् ।

निर्मलले गरेको मेहेनतबाट स्थानीय तहका जनप्रतिनिधि पनि प्रभावित छन् । उनले काम गरेको, खटिएको देखेर बेलाबेला यहीं बसेर नियमित काम गर्न सुझाव पनि दिने गरेका छन् । ‘यत्तिको युवा यहीं बसेर काम गरेका छन्, उनलाई सबैले सम्मान गर्नुपर्छ,’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने, ‘उनलाई स्वदेशमै रमाउने वातावरण बनाउन सकियो भने अन्य युवालाई पनि प्रेरणा हुन्छ ।’

सुरुसुरुमा विदेश गए हुन्थ्यो भन्ने बाबु नरबहादुरले पनि अहिले भने साथ दिएका छन् । कृषि पेशामा रमेका नरबहादुरले घरमा फलाएको तरकारी र दूध बेलाबेला छोरालाई पठाइदिने गरेका छन् ।

निर्मलले पनि अहिले पेशालाई अझै तिर्खान लेवल ए र बीको परीक्षा दिने र प्रमाणपत्र लिने अबसर खोजी रहेका छन् । त्यसकालागि भने उनले नगरपालिकाको साथ चाहिएको बताए ।

‘दक्ष बनेर लामो समय सम्म काम गर्ने चाहना छ, तर प्रमाणपत्रकालागि कता जाने भन्ने अन्यौल रहेछ,’ उनले भने, ‘नगरपालिकाले यो बिषयमा साथ दिए हुन्थ्यो ।’ उनले स्थानीय सरकारमा अनुदान वा अन्य सहयोग भने मागेका छैनन् ।

उनको बवर्कसपमा अहिले सदरमुकाम बागलुङ बजार, पोखरा र बुटवलबाट सामान आउँछ । तर ग्रामीण क्षेत्र भएकोले भाडा बढी तिर्नु परेको गुनासो गरे । ‘भाडा तिर्दा फाइदा कमाउन सकेको छैन, तर पनि मेहेनत गरेमा यही कमाउन सकिन्छ,’ उनले भने, ‘सडकको सहज पहुँच र स्तरीय सडक भएमा नाफा कमाउन सकिन्छ ।’ बुटवल तर्फबाट आउने गाडीमा सामान मागेमा एउटा हाते सामान ल्याउँदापनि एकसिटको भाडा तिर्नु परेको उनले गुनासो गरे ।

घरमा बाबुआमाले बाख्रा र भैंसी पालेका छन् । घरमा हुने समस्या बारे पनि उनी चासो राख्छन् । बुबाआमालाई औषधि उपचार गर्नु परेपछि उनले भ्याएकै छन् । यो पेशामा आउनुअघि पनि निर्मलले बंगुर समेत पाले र स्वाइन फ्लु र कोरोना संक्रमणको बेला उनको लगानी खेर गयो । मौषमी रुपमा लगानी खेर गएको देखेपछि उनले नियमित हुने काम खोज्दा यो पेशामा आइपुगेको बताए ।

‘जबसम्म ठूलो बजारको नजिक भईदैन, कृषिलाई व्यवसायिकीकरण गरेर फाइदा लिन नसकिने रहेछ,’ उनले भने, ‘सडक पूर्वाधार पहिलो आवश्यकता हो ।’ सहज सडकको सुविधा पुगेमा अटोमोबाइल्सको पेशा पनि बढ्ने र फाइदा लिन सकिने उनले बताए ।

भारतीय मिस्त्रीको भीडमा निर्मलको खट्ने बानी र संघर्षबाट युवाहरु प्रभावित बनेको स्थानीय सुरेश ओलीले बताए । ‘उनको जस्तै मेहेनत गरे कोही युवा विदेशमा जानै पर्दैन,’ ओलीले भने, ‘उनले खान पनि छाडेर बोलाएको ठाउँसम्म पुग्ने गरेका छन् ।’

प्रकाशित : असार ५, २०८१ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×