कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

जस्ले देखे आँखा : ‘पहिले बादल थियो । अहिले आकाश खुल्यो’

आँखाको शल्यक्रियापछि नयाँ जुनी पाएको भनाइ
आश गुरुङ

लमजुङ — किसेदीखोलाको माथिल्लो गाउँमा देउकी मिजारको कच्ची घर छ, जुन लमजुङको दोर्दी गाउँपालिका-३, श्रीमञ्ज्याङमा पर्छ । उमेरले ६ दशक पुग्नै लागेकी देउकीको आँखाले आधा उमेरमै धोका दियो । उनकै भाषामा भन्नुपर्ला दुबै आँखा नदेख्ने भएपछि २५ वर्षजतिकै उमेरमा बायाँ आँखा बनाइन् । त्यही आँखाले पनि भेउ पाउन नसक्दा उनी छट्पटिइन् । घरमा एउटी छोरी पनि खुट्टा भाँचिएर समस्यामा छन् ।

जस्ले देखे आँखा : ‘पहिले बादल थियो । अहिले आकाश खुल्यो’

‘जसोतसो छामछुम गरेर दाउरा खोज्दै भात पकाउँथेँ । देख्ने केही भए पो,’ उनले भनिन्, ‘अहिले फेरी दायाँ आँखा बनाएको छु । पहिले बादल लागेको थियो । अहिले आकाश खुलेको छ ।’ उनले रंग समेत छुट्याउन सक्ने भएको बताइन् ।

उनीमात्रै होइन, दोर्दीकै अलैंचे गाउँकी ८० वर्षीया विष्णुमाया कुँवर पनि अहिले आँखा देख्ने भएकी छन् । नाती सुजनको साहराले दोर्दीको नौथर शेरास्थित आँखा उपचार शिविरमा आएकी उनले बायाँ आँखा शल्यक्रिया गराइन् । दायाँ आँखा पहिले नै शल्यक्रिया गरिएको थियो । ‘पहिले अप्रेसन गरेको आँखा दायाँ हो, यसले पनि देख्न छोड्यो । बायाँ आँखाले त्यतिबेला नै नदेखेको,’ उनले भनिन्, ‘अहिले अप्रेसन गरेको आँखाले विस्तारै देख्न थालेको छु । अर्को महिना यहीं आउने सल्लाह दिनुएको छ ।’


देउकी र विष्णुमायामात्रै होइन, दोर्दी गाउँपालिकाले पालिका केन्द्र नौथर शेरामा आयोजना गरेको आँखा उपचार शिविरमा १ सय ५८ जना नागरिकको शल्यक्रिया गरिएको छ । अर्चलबोटका ६८ वर्षीय रामबहादुर अधिकारीले आँखा देख्ने भएपछि नयाँ संसार पाएको बताए । ‘धमिलो देख्ने । टाढाको देख्दै नदेख्ने । उपचारपछि मैले नयाँ जुनी पाएको छु । धन्यवाद,’ उनले भने ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीका अनुसार मुटु फाउन्डेसन काठमाडौं र मनोज फाउन्डेसन फ्रान्स तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आँखा उपचार शिविर गरिएको हो । चैत १ गतेदेखि ३ गतेसम्म शिविर सञ्चालनको समय तोकिएकोमा बढी विरामी आउन थालेपछि १ दिन गरिएको थियो । आँखाको पट्टी खोल्ने कार्यसहित शिविर ५ दिनसम्म सञ्चालन गर्नुपरेको उनले बताए । नेपाल आँखा अस्पताल मेडिकल डाइरेक्टर, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कमलबहादुर खड्का नेतृत्वको देशीविदेशी स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए ।


‘शिविरमा दोर्दीका मात्रै नभएर दूधपोखरी, बेंसीसहर, मर्स्याङ्दी, सुन्दरबजारका नागरिकले पनि सेवा लिए,’ उनले भने, ‘काठमाडौं–पोखरा गएर ३०–३५ हजार खर्च गर्न नसक्ने, खर्च गर्न सक्ने भए पनि लामो दुरीमा आउजाउ गर्न नसक्ने र नमिल्ने दूरदराजका नागरिकले सेवा पाए ।’ यसकार्यमा टानका उपाध्यक्ष धनबहादुर गुरुङले सहयोग गरेको उनले बताए । शिविरमा १ हजार २ सय १५ जनाको आँखा परीक्षण गरे ।

प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेका अनुसार दोर्दी गाउँपालिकामा कुनै अस्पताल र ठूला स्वास्थ्य संस्था छैनन् । ‘यहाँका ठूलो समुदाय विभिन्न रोगहरुबाट समस्यामा छन् । ती समुदायका व्यक्तिहरुलाई घरआँगनमै स्वास्थ्य सेवा दिन सक्यौं भनेर त्यसले मानवपुँजि निर्माणमा सहयोग गर्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने । उनले आँखा स्वास्थ्य शिविरसँगै अन्य शिविरहरु पनि आयोजना गर्ने तयारी गरिएको बताए ।


नेपाल आँखा अस्पताल मेडिकल डाइरेक्टर, वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. कमलबहादुर खड्काका अनुसार उमेर बढ्दै गएपछि धेरैजनामा मोतियाविन्दूको समस्या देख्न सक्छ । गाउँघरका नागरिक उपचारको लागि डराउने प्रबृत्ति छ । सहरका मानिसहरु डराउँदैनन् । ‘गाउँमा खोजेर नआउने र सहरमा खोजेर जाने समस्या छ, त्यसैले गाउँको अवस्था साँच्चै नै भयानक छ,’ उनले भने, ‘अझै पनि सिमे लाग्यो, भूमि लाग्यो भनिरहेका छन् । यसले समस्याको समाधान हुँदैन ।’

उनले ४० वर्ष कटेपछि वार्षिक १ पटक आँखाको जाँच गर्न सुझाव दिएका छन् । ‘नेपालमा अझ ग्रामीण भेगमा मोतियाविन्दुको समस्या बढी छ । समयमै आँखा जाँच गर्नुपर्छ । नदेख्नुभन्दा समस्या ठूलो केही छैन,’ उनले भने ।


प्रकाशित : चैत्र १०, २०८० १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?