कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

हिउँमा पुरिएर बेपत्ता

म्याग्दी — धौलागिरि–१ गुर्जामा हिउँमा पुरिएर एक भेडा गोठाला बेपत्ता भएका छन् । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार भारी हिमपातबाट गुर्जाको सुकेलोटन भन्ने स्थानमा भेडागोठमा रहेका ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारी हिमपातपछि अर्को गोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेको र त्यहीं हिउँमा पुरिएका हुन् ।

‘छन्त्याल अन्य गोठालाहरूसँगै सुरक्षित स्थानतर्फ जान खोज्दा खोंचमा खसेको र बाक्लो हिउँले गर्दा स्थानीयले उद्धार गर्न नसकेको बुझिएको छ,’ जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्याम राईले भने, ‘पैदल मार्ग विच्छेद भएकाले प्रहरी पुग्न सक्ने अवस्था छैन । शुक्रबार हेलिकोप्टरबाट स्थानीयलाई पुर्‍याई खोजी गर्ने योजना छ ।’

समुद्र सतहबाट ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गुर्जा गाउँ हिउँदभर बाक्लो हिउँको सिरकले छोपिन्छ । सबैभन्दा नजिकको बस्तीबाट गुर्जा पुग्न कम्तीमा ७ घण्टा उकालो ३ हजार ५ सय मिटर अग्लो डाँडा काट्नुपर्ने भएकोले जब हिमपात हुन्छ तब पूरै गाउँ संसारको स्थल सम्पर्कबाट विच्छेद हुन्छ ।

चुरेन, पुथा र गुर्जा हिमालका फेदीमा अवस्थित अति दुर्गम वस्ती गुर्जालाई ‘टुप्पीदेखि माथि ठाउँ छैन, गुर्जादेखि माथि गाउँ छैन’ भन्ने उखानबाट चिनिन्छ ।

प्रकाशित : पुस १६, २०७८ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×