कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

करोडौं खर्चिएका स्वास्थ्य चौकी भवन गुणस्तरहीन

पानी पर्दा भवनभित्रै छाता ओढ्नुपर्ने अवस्था, औषधि जोगाउनै सकस
प्रकाश बराल

बागलुङ — ठेकेदारको लापरबाहीले बागलुङका अधिकांश स्वास्थ्य चौकी भवन गुणस्तरहीन बनेको पाइएको छ । निर्माण भएको वर्ष नै भवन चुहिन थालेपछि काम गुणस्तरीय नभएको पुष्टि भएको हो । कतिपय भवन हस्तान्तरण नहुँदै चुहिने, ढलान फुट्ने, पर्खाल भत्कने भएका छन् भने केही भासिएका छन् । समस्या देखिएका भवन १ करोड ७५ लाखदेखि २ करोड २५ लाखसम्म खर्च गरी बनाइएका हुन् ।

करोडौं खर्चिएका स्वास्थ्य चौकी भवन गुणस्तरहीन

जैमिनी–८ छिस्तीको स्वास्थ्य चौकी भवन बनेको दुई वर्षमै चुहिएको छ । यहाँको बिरामी जाँच्ने कोठा, शौचालय र आवास कक्षमा पनि पानी चुहिएर बिच्छाएको कार्पेटसमेत कुहिएको स्वास्थ्य चौकी प्रमुख सूर्यप्रकाश महतराले बताए । ‘औषधिको भण्डारण कक्षमा समेत पानी चुहिएपछि प्लास्टिक ओढाएर राख्नुपर्‍यो,’ उनले भने, ‘न हामीले भनेको कुरा सुनियो, न जनताको विरोधको वास्ता भयो ।’ भवन चुहिने छ भन्ने थाहा पाएर स्थानीय र राजनीतिक दलको संयन्त्रले समेत हस्तान्तरण गर्न मानेका थिएनन् ।

‘आन्तरिक बजेटबाट २५ हजार खर्चेर केही स्थानमा टालटुल पारियो, तर पानी चुहिन छाडेन,’ महतराले भने । उनका अनुसार वर्षात्मा आउने बिरामीले भित्रै छाता ओड्नुपर्ने बाध्यता छ । जिल्ला समन्वय समिति उपप्रमुख विष्णुप्रसाद भुसाालले मन्त्रीलाई पनि नटेर्ने प्रवृत्तिका ठेकेदार भएकाले यस्तो समस्या आएको बताए । ‘ठेकेदार पार्टीका केन्द्रीय सदस्य भएका छन्, जनतालाई टेर्दैनन्,’ उनले भने, ‘गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्ने निकाय नै भएन ।’

‘आफ्नै कार्यालय गुणस्तरहीन छ भन्यो भने धम्की खाइन्छ,’ सिगाना स्वास्थ्य चौकीका एक स्वास्थ्यकर्मीले भने, ‘ठेकेदारको लापरबाहीले सबै भवन जोखिममा छन् ।’ गुणस्तरहीन भवन बुझ्न हुँदैन भनेर पटक–पटक उपभोक्ताले विरोध गर्दा पनि भवन बलजफ्ती हस्तान्तरण हुने र उद्घाटन गर्ने काम भएको जैमिनी–८ का जीवन श्रीषले बताए । अधिकांश भवन स्वास्थ्य मन्त्रालयको बजेटबाट बनेका हुन् । छिस्ती स्वास्थ्य चौकी सबैभन्दा बढी २ करोड २५ लाख रुपैयाँमा बीएनए निर्माण कम्पनीले बनाएको हो ।

भवन हस्तान्तरणका लागि पालिका र भवन डिभिजन पोखराबाट आएका प्राविधिकले गुणस्तरको वास्तै नगरी मूल्यांकन गरिदिएको जनप्रतिनिधिको गुनासो छ । ‘प्राविधिकले ठीक छ भनेपछि हामीले मान्नैपर्छ,’ जैमिनी–८ का अध्यक्ष विजय अधिकारीले भने, ‘पछि समस्या आयो, मर्मत गरिदेऊ भनेको आएनन् ।’ गुणस्तरहीन भवन बनाउनेलाई कारबाही गर्नुपर्ने उनले बताए । मर्मतका लागि ताकेता गर्दा कोरोनाको बाहना बनाएर नआएको उनले गुनासो गरे । स्वास्थ्य चौकीका भवन निर्माणमा गुणस्तरहीन काम भएकोबारे केही जानकारी नभएको बागलुङ नगर प्रमुख इन्द्रराज पौडेल बताउँछन् । ‘गुणस्तरहीन भएको कुरा थाहै पाइएन,’पौडेलले भने, ‘के कस्तो भएको रहेछ, खोजी गर्छु ।’

यहाँका अन्य स्वास्थ्य चौकी भवन पनि चुहिने मात्र नभई अधिकांशका छत चिरिएका छन् । तित्याङ स्वास्थ्य चौकी हस्तान्तण नहुँदै पहिरोको चपेटामा परेको छ । सिगाना स्वास्थ्य चौकीको छत चिरा परेको छ । वर्षातमा चुहिन्छ । रायडाँडा स्वास्थ्य चौकी भवन पनि चुहिने भएपछि स्थानीयद्वारा विरोध जारी छ । रायडाँडाका वडाध्यक्षले हस्तान्तरणमा भाग नलिइकनै भवन उद्घाटन भएको थियो ।

०७२/७३ देखि निर्माण थालेर ढिला गरी सम्पन्न भएका आधा दर्जन अन्य भवनमा पनि गुणस्तरको समस्या देखिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । मन्त्रालयबाट सोझै ठेक्का हुने र ठेकेदारको अनुगमन गर्ने प्रक्रिया नभएकाले गुणस्तरमा समस्या आएको उनले बताए ।

प्रकाशित : पुस १४, २०७८ १२:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×