कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

मनै लोभ्याउने गाजा दह

बाह्रैमास सफा पानी हुने यो दह धार्मिक गन्तव्यसमेत हो
प्रकाश बराल

बागलुङ — समुद्र सतहदेखि २ हजार ५ सय मिटर उचाइको गाजाको धुरीमा अनौठो पोखरी छ ।

मनै लोभ्याउने गाजा दह

यो न हिउँदमा सुक्छ । न त वर्षायाममा धमिलिन्छ । सदरमुकामदेखि २४ किमि पश्चिमको यात्राबाट पुगिने गाजाको दह पर्यटकीय र धार्मिक गन्तव्यसमेत हो । जैमिनी–३ मा पर्ने यो दहले गलकोट–१ काठेखोला–७ र बरेङ–२ को सिमाना समेत छुट्टयाउँछ । दहमा पुग्दा अन्नपूर्ण र धौलागिरि हिमशृंखला पनि देखिन्छ । हिउँद, वर्षायाममा पानी सफा र उत्तिकै रहने स्थानीय बताउँछन् । दहमै हिमाल र गाउँबस्तीको छायाँ तैरिन्छ । यहाँबाट बागलुङसहित पर्वत, गुल्मी, म्याग्दी र स्याङ्जाका धेरै क्षेत्र देखिन्छन् । कतिपय पैदलै यहाँ पुग्छन् ।

सडक अप्ठ्यारो भएकोले सहज आउजाउ हुने व्यवस्था मिलाउन स्थनीयले माग गरे । ‘घुम्न रमाइलो छ, तर सडक राम्रो बन्नुपर्छ’ बागलुङका सुसन श्रेष्ठले भने, ‘सहज अवस्था भएमा दैनिक सयौं पर्यटक भित्र्याएर आम्दानी लिन सकिने स्थान रहेछ ।’ यहाँ बराहथान पनि छन् । बालाचतुर्दशीमा सतबिज छरिन्छ । पूर्णिमा मेला र विभिन्न चाडपर्वमा भक्तजन पुग्छन् ।

धार्मिक र पर्यटकीय स्थान भएकोले पर्यटकीय क्षेत्र घोषणा गरी सोहीअनुसार संरचना बनाउनु पर्ने स्थानीयको माग छ । गण्डकी प्रदेश सरकारले दहलाई पर्यटन क्षेत्रमा सूचीकृत गरे पनि पूर्वाधार निर्माणमा बजेट नदिएको स्थानीय नरबहादुर थापाले बताए ।

‘पर्यटकीय क्षेत्र भनेका छन्, तर विकासमा एक रुपैयाँ पनि बजेटमा परेको छैन,’ थापाले भने, ‘कम्तीमा सडकमात्रै स्तरीय भएमा हामीले स्थानीय विकास गर्न सक्थ्यौं ।’ २४ किमि सडकमध्ये झन्डै १० किमि चिप्लो र जोखिमयुक्त छ । अन्य खण्ड पनि कच्ची हो । जिप भने जान्छन् । सिगानाको बौडेचउरदेखि गाजा पुग्ने झन्डै १० किमि खण्डमा फोरह्विल गाडीमात्रै लैजान सकिने स्थानीय तुलबहादुर पुनले बताए । पुनका अनुसार यहाँ मूल भएकाले कहिले पनि दह सुक्दैन भने भरिएर पानी बाहिर गएको समेत देखिँदैन । पुनले भने, ‘धार्मिक शक्तिले हो वा वातावरणले बीसौं वर्षदेखि सफा र देख्दै आएको छु ।’ यहाँ हिमपातसमेत हुन्छ ।

गाजा दहको आसपासमा मगर र छन्त्याल समुदायको बसोबास छ । उनीहरूले यहाँको मठमन्दिरमा पूजा गर्छन् । साथै मेलापर्व पारेर लोकदोहोरी, सोरठी, सालैज्यो र विनासालैज्यो जस्ता संस्कृतिसमेत देखाउँछन् । गाजा दह सामुदायिक होमस्टे पनि सञ्चालनमा ल्याइएको छ । यहाँका १० घरले होमस्टे सञ्चालन गरेकाले आएका पर्यटक राख्न सकिने स्थानीय यानुकला कालामगरले बताइन् ।

‘बाटो राम्रो भइदिए अझै २० घरले होमस्टे चलाउन खोजेका छन्,’ उनले भनिन्, ‘सामग्री ढुवानीमा समेत सास्ती भएको छ ।’ एक निर्वाचन क्षेत्र, एक सडकमा सूचीकृत गरेर स्तरीय बनाउने योजना राखे पनि सडकबारे नेतृत्वले चासो नराखेको वडाध्यक्ष वेदबहादुर छन्त्यालले बताए ।

‘यो सडक स्तरीय बन्यो भने पर्यटन मात्र नभई गाजा आसपास र बरेङ गाउँपालिकाभरका कृषि उत्पादनको बजारीकरणसमेत सम्भव छ,’ छन्त्यालले भने, ‘दर्जन बढी कृषि फर्मसमेत बढ्ने थिए ।’ गाजालाई पर्यटन क्षेत्र बनाउन दशकअघि तत्कालीन जिल्ला परिषद्ले पनि माग गरेको थियो । पर्यटन मन्त्रालयमा समेत यसको महत्त्व र आवश्यकताबारे पत्र पठाएको तर अहिलेसम्म चासो नदेखाइएको पुनले बताए ।

प्रकाशित : पुस ९, २०७८ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?