कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

गुम्बा पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने

हरिराम उप्रेती

गोरखा — भूकम्पले क्षतिग्रस्त ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्त्व विभागले पाएको छ । २०७२ वैशाख १२ को भूकम्पले जिल्लाका १ सय ४ गुम्बा भत्किएका थिए । यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाइमार्फत गुम्बा पुनर्निर्माण हुँदै आएको थियो ।

गुम्बा पुनर्निर्माण पुरातत्त्व विभागले गर्ने

उक्त कार्यलय खारेज भएसँगै ५ गुम्बा पुनर्निर्माणको जिम्मा पुरातत्त्व विभागले पाएको हो । पुनर्निर्माणमा ६०/६० लाख रुपैयाँ बजेट छुट्टाइएको गुम्बा पुनर्निर्माणका परियोजना प्रमुख नवराज अधिकारीले बताए ।

चुमनुव्री गाउँपालिका–२ ल्होको काङयुर ल्हाखाङ र हिनाङको पुङ्ची, चुमनुव्री–४ को छेकम, कानिङ र टासिछोलिङ गुम्बा पुनर्निर्माणका लागि स्थलगत अध्ययन भइसकेको उनले बताए । यी पाँचवटै गुम्बा एक सय वर्ष पुराना हुन् । ‘पाँचमध्ये ३ वटाको पुनर्निर्माण गर्नुपर्ने देख्यौं,’ उनले भने । काङयुर ल्हाखाङ गुम्बाको गत वर्षबाटै पुनर्निर्माण भइरहेको उनले बताए । उक्त गुम्बा भने प्राचीन शैलीमा पुनर्निर्माण नभएको अधिकारीले बताए ।

‘मोर्डन म्याट्रियल प्रयोग गरेर गुम्बा पुनर्निर्माण भएको रहेछ, स्वरुप पनि जस्ताको तस्तै देखिंदैन,’ उनले भने, ‘स्थलगत निरीक्षणको क्रममा देखिएका कुरा विभागलाई जानकारी गराएका छौँ ।’ पुङची गुम्बाको पुनर्निर्माण भइसकेको छ । बाँकी गुम्बाको भने ठेक्का आह्वान गरेर चालु वर्षभित्रै सक्ने गरी निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ । अधिकांश गुम्बाको भूकम्पको धक्काले गाह्रोहरू चर्किएको अधिकारीले बताए । ‘काठहरू मक्किएका छन्, पानी चुहिने समस्या पनि थपिएको छ,’ उनले भने ।

पुरातत्त्व विभागमार्फत पुनर्निर्माण हुने गुम्बा पुरानै स्वरूपमा बन्ने पनि उनले बताए । भूकम्पले भत्काएका १ सय ४ मध्ये आशिंक क्षति पुगेका १३ वटा गुम्बाको मर्मत भइसकेको छ । पुनर्निर्माण गर्नुपर्ने ९१ गुम्बा निर्माणले भने गति लिन सकेको छैन । गुम्बा पुनर्निर्माणअन्तर्गत कार्यक्रम सीमित तथा थप कार्यक्रम नआउँदा गत आवमा गुम्बा पुनर्निर्माणले तीव्रता पाएन ।

विगतका दुई आर्थिक वर्षमा ६/६ वटा गुम्बा पुनर्निर्माण सुरु भएका थिए । आर्थिक वर्ष २०७५/७६ मा ५० वटा गुम्बा पुनर्निर्माणको तयारी थालिएको थियो । तर तत्कालीन समयमा स्रोत सुनिश्चित नहुँदा काम अघि बढ्न सकेन । पर्यटकीय क्षेत्र तथा धार्मिक संस्कारको रूपमा जोडिएको धार्मिक तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणलाई प्राथमिकता दिन यहाँका सरोकारवालाले माग गर्दै आएका छन् । भूकम्पले भत्काएका केही गुम्बा भने स्थानीयले स्रोत जुटाएर पुनर्निर्माण गरेका छन् ।

पुनर्निर्माण प्राधिकरणले पुरातत्त्व विभागमार्फत प्राचीन सम्पदा पुनर्निर्माण पनि थालेको छ । जिल्लाका प्राचीन स्मारकहरूको संरक्षण तथा पुनर्निर्माणको कामको निगरानी तथा अनुगमनको जिम्मा पुरातत्त्व विभागअन्तर्गतका संग्रहालय र गोरखा दरबार हेरचाह अड्डाका प्रमुखले पाएका थिए । गत आवमा मन्दिर पौवा र सत्तल गरी २४ वटा सम्पदाको पुनर्निर्माण सुरु भएको उनले बताए ।

‘धेरैजसो निर्माण सम्पन्न भइसकेको छ, केही निर्माणको चरणमा छन्,’ अधिकारीले भने । मिरकोटको विशेश्वर महादेव मन्दिर र खोप्लाङको अन्नपूर्ण मन्दिरको पुनर्निर्माण सुरु भए पनि निर्माण पूरा भएका छैनन् । अन्य केही सम्पदाहरू पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको उनले बताए ।

प्रकाशित : पुस २, २०७८ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×