लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते

आश गुरुङ

काठमाडौँ — लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ८ भुस्मेनजिकै जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा मर्स्याङ्दी गापा-२ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको बताइएको छ । साथै अर्का एक स्थानीयको पनि मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।

तर मर्तक तीनै जनाको पहिचान भएको छैन । लमजुङ जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्ण बहादुर कार्कीले अहिले घाइतेको उद्वारका लागि घटनास्थलतर्फ जाँदै गरेको बताए । साथै खुदीको प्रहरी चौकीबाट प्रहरी खटाएको उनले बताए । प्रहरीका अनुसार उक्त जिप मर्स्याङ्दीको स्थानीय कच्ची सडक हुँदै सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो ।

अहिले स्थानीयहरूले घाइतेहरूको उद्वार गरी अस्पतालतर्फ पठाउँदै गरेको बताएका छन् ।

प्रकाशित : मंसिर २३, २०७८ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्

केन्द्रीय सदस्यहरूको प्रस्ताव : सभापतिमा पौडेललाई साझा उम्मेदवार बनाऔं

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका केन्द्रीय सदस्यहरूको भेलाले पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भएको भेलाले वरिष्ठ नेता पौडेललाई आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने कुरामा सहमति जुटाएको हो ।

पार्टी र सत्ताको केन्द्रमा रहेका शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिहरूको अंकगणितमा समेत बलियो बनेपछि संस्थापनइतरलाई साझा उम्मेदवार बनाउन दबाब बढेको छ । शीर्ष नेताहरूबीच सहमति नभएमा हस्तक्षेप गर्ने युवा नेताहरूको भनाइ छ । उनीहरूले नेताहरूलाई विकल्पसहितको सुझाव दिने बताउँदै आएका थिए ।

युवा नेताहरूले पौडेललाई सभापतिको उम्मेदवार बनाउने र सभापतिका अन्य आकांक्षीलाई उपसभापति र महामन्त्रीलगायतका पदाधिकारीमा व्यवस्थापन गर्न पनि उनीहरुले सुझाव दिएका छन् । छलफल सकेर युवा नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालालाई भेट्न गएका छन् । अर्जुननरसिंह केसी, बलबहादुर केसी र रामशरण महत प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् भने गगन थापा, धनराज गुरुङ र जीवन परियारलगायतका नेताहरू भने शेखर कोइरालालाई भेट्न गएका छन् ।

मंगलबार पौडेल र महामन्त्री शशांक कोइरालाले आकांक्षीद्वय प्रकाशमान र शेखर एक भएर आएमा आफूहरूले छाडिदिने बताएका थिए । बुधबार दिनभर भएका छलफलमा शेखर र प्रकाशमानले अडान नछाडेपछि साँझ पौडेल भावुक अभिव्यक्ति दिएर गणेशमान निवास चाक्सीबारीबाट बिदा भएका थिए । प्रकाशमानले उमेरमा शेखर दाइ भए पनि राजनीतिमा आफू सिनियर भएको दाबी गर्दै सभापतिमा आफूलाई उठाउनुपर्ने माग गरेका छन् । उनले सधैं गणेशमान सिंहको परिवारले त्याग गरेको उल्लेख गर्दै यसपटक कोइरालाले परिवारले त्याग गर्नुपर्ने पनि बताएका छन् ।

कांग्रेस सभापतिका प्रत्याशी शेखर कोइरालाले प्रकाशमान सिंहले दाबेदारी छाडे रामचन्द्र पौडेललाई समर्थन गर्ने बताएका छन् । बिहीबार बिहान पौडेल निवास बोहोराटार पुगेर कोइरालाले साझा उम्मेदवार बन्न सक्ने अवस्थामा आफ्नो समर्थन हुने बताएका हुन् । शेखरले पौडेललाई 'तपाईं सबैको साझा उम्मेदवार हुनुहुन्छ भने म छाड्दिन्छु' भनेका थिए ।

प्रकाशमान सिंहले सभापति पदको दाबेदारी नछाडेको अवस्थामा भने आफूलाई सहयोग गर्न शेखरले पौडेलसमक्ष आग्रह गरेका थिए । उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, 'प्रकाशमान सिंहले छाडे म तपाईंलाई छाड्दिन्छु, उहाँले छाड्नु भएन मलाई सहयोग गर्नुहोस् ।'

पौडेलले भने नेताहरूबीच सहमति नजुटेर सबै उठ्ने भन्ने हो भने राजनीति नै छोड्ने बताएका छन् ।

केही बेरपछि पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकपछि फेरि सभापतिका आकांक्षीसहित पौडेल समूहको बैठक बस्ने बताइएको छ ।

प्रकाशित : मंसिर २३, २०७८ ११:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×