कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मतदाता नामावली टोली गाउँगाउँमा

अगन्धर तिवारी

पर्वत — जिल्लाका सबै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनका लागि टोली खटिएर नामावली अद्यावधिक गरिरहेका छन् । आगामी निर्वाचनलाई ध्यानमा राख्दै जिल्ला निर्वाचन कार्यालयले आन्तरिक तयारीस्वरूप मतदाता नामावली संकलन थालेको हो । 

मतदाता नामावली टोली गाउँगाउँमा

गत शुक्रबारदेखि सुरु नामावली संकलन अभियान आगामी आइतबारसम्म जारी रहने कार्यालयले जनाएको छ । आसन्न स्थानीय, प्रदेश तथा संघीय निर्वाचनको तयारीस्वरूप सबै पालिकामा नामावली संकलन गर्ने टोली खटाइएको छ ।

निर्वाचन कार्यालय रहेको कुश्मा नगरपालिकाबाहेक सबै पालिकामा नामावली संकलन भइरहेको र उत्साहजनक रूपमा नाम दर्ता भइरहेको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले बताए । कुश्मा नगरवासीको भने जिल्ला प्रशासन र जिल्ला निर्वाचन कार्यालयबाट नामावली संकलन भइरहेको छ । पालिकामा यसअघि छुटेकाको नामावली संकलन गरिएको हो ।

कार्यालयका अनुसार पालिकास्तरमा सुरु नामावली संकलनको ४ दिनमै १ हजार १ सय ६४ नयाँ मतदाता थपिएका छन् । आगामी निर्वाचनमा मतदाता संख्या करिब १० हजार वृद्धि हुने अनुमान निर्वाचन कार्यालयले गरेको छ । यअसघिको निर्वाचनमा उमेर पुगेर पनि नाम दर्ता गराउन छुटेकाहरूको यसपालि पालिकास्तरमै पुगेर समेटिएकाले मतदाता संख्या वृद्धि हुने अनुमान गरिएको शर्माले बताए ।

त्यसबाहेक यसपालिको निर्वाचनमा स्थानीय तहका जनप्रतिनिधिले नै स्वयं मतदाता नामावली दर्ता गराउन जोडबल गरिरहेका छन् । आफूनिकटका मतदाता बढाउने होडबाजीमा स्थानीय तह प्रमुखदेखि वडाध्यक्ष र सदस्यलेसमेत निकटका मतदातालाई दर्ताका लागि लागिपरेका छन् ।

कतिपयमा वडाध्यक्षले नामावली दर्तामा छुटेकालाई पुर्‍याइरहेका छन । ‘टोलटोलमा खोजेर छुटेका व्यक्ति खोज्दै पठाउँदै गरेको छु,’ एक वडाध्यक्षले भने, ‘अहिले मतदाता नबढाएपछि आफैं पश्चातापमा परिन्छ ।’ सरकारले निर्वाचनबारे केही नबोलेको भए पनि जिल्ला र पालिकास्तरका नेताले भने चुनावी जोडघटाउका छलफल सुरु गरिसकेका छन् ।

प्रकाशित : मंसिर २३, २०७८ ११:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?