जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

आश गुरुङ

लमजुङ — एक जना सुस्त मनस्थितिका महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बेंसीसहर नगरपालिका १० का ४१ वर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । डीएसपी कृष्णबहादुर कार्कीका अनुसार राइनास नगरपालिकाका फरक क्षमता (शारीरिक र मानसिक अस्वस्थ)की युवतीलाई जaर्जस्ती करणी गरेको आरोपमा युवकलाई सोमबार राति पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ ।

राइनास क्षेत्रमा सामान्य ठेक्कापट्टा गर्दै आएका गुरुङले ती युवतीलाई बस्ती क्षेत्रबाट जंगलतर्फ लगेर जबर्जस्ती करणी गरेको आरोप लागेको छ । ‘हामीलाई राति साढे ७ बजेतिर खबर आयो । घटनास्थलतर्फ गएर सुरुमा पीडितलाई उद्धार गरी ल्यायौं । त्यसपछि आरोपितलाई खोजी गरेर पक्राउ गरी रातारात ल्यायौं,’ डीएसपी कार्कीले भने । उनका अनुसार दुवै जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदिश रेग्मीका अनुसार ती पुरुषविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेर थप अनुसन्धान थालिएको छ । उनले जिल्ला अदातलतबाट म्याद थप गराएर अनुसन्धान थालिएको बताए ।

प्रकाशित : मंसिर २१, २०७८ १४:११
प्रतिक्रिया
पठाउनुहोस्

खोटाङका सबै पालिकामा कोरोना खोप अभियान सञ्चालन गरिने

डम्बरसिं राई

खोटाङ — मंसिर २२ र २३ गते जिल्लाका दसवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ ।

अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।

दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् ।

खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा संघ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिसिल्ड र भेरोसेल गरी दुई प्रकारका खोप रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७ सय ७४ र दोस्रो मात्राको खोप ४० हजार ९ सय ७९ जनालाई उपलब्ध गराइएको संयोजक दाहालले बताए ।

प्रकाशित : मंसिर २१, २०७८ १४:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×