कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘हिंसा अन्त्य गर्न कुरीति हटाऔं’

प्रकाश बराल

बागलुङ — राजनीतिक परिवर्तन र कानुनको व्याख्याले मात्रै लैंगिक हिंसा अन्त्य नहुने अधिकारकर्मीले बताएका छन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा राष्ट्रिय महिला आयोगले गरेको अन्तर्क्रियामा सहभागीले हिंसा न्यूनीकरणका लागि जनचेतनाको विकास गर्नुपर्ने बताएका हुन् ।

आयोगकी सदस्य सावित्राकुमारी शर्माले हिंसा न्यूनीकरण गर्न बालबालिकादेखि नै सभ्यताको विकास हुनुपर्ने बताइन् । ‘कुसंस्कार र कुरीति नहटाएसम्म हिंसा पनि रोकिँदैन,’ उनले भनिन्, ‘अपराधपछि दण्ड दिनुभन्दा आपराधिक मानसिकता बन्नै नदिने वातावरण चाहिएको छ ।’ उनले हिंसामा पर्ने अधिकांश महिला भए पनि २ प्रतिशत उजुरी पुरुषको समेत आउने गरेको बताइन् ।

जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले कानुनले चेतना विकास नहुने बताए । उनले हिंसा सहने र हिंसाका लागि प्रेरित गर्ने प्रवृत्ति र पात्र पनि दोषी भएको बताए । आयोगकी उपसचिव लक्ष्मी पराजुली आचार्यले निषेधाज्ञाको समयमा समेत हिंसाका घटना बढेको बताइन् ।

‘गत आर्थिक वर्षको निषेधाज्ञामा मात्रै देशभर १ हजार ५ सय विभिन्न घटना भएका छन्,’ उनले भनिन्, ‘निषेधाज्ञाले घरमा बस्दा पनि महिलाले घरेलु हिंसा र मानसिक यातना खेप्नुपरेको थियो ।’ निषेधाज्ञामा सबैभन्दा बढी २ सय ३५ हिंसाका घटना भएको उनले बताइन् । त्यस्तै ११ वटा बलात्कार, १ सय १० वटा यातना र १ सय २४ कुटपिटका घटना भएका थिए ।

निषेधाज्ञाकै समयमा आयोगले १ सय ३३ जनालाई कानुनी सेवा दिएको, ९३ जनालाई मनोसामाजिक परामर्श दिलाएको थियो । एक वर्षभरिमा १ हजार २८ घरेलु हिंसा, १५ हजार उजुरीसमेत लिएको उनले बताइन् ।

प्रकाशित : मंसिर १४, २०७८ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?