कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभापति थापा क्षेत्रमा पराजित

बागलुङ — कांग्रेस जिल्ला सभापति दीपेन्द्रबहादुर थापा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । मंगलवार भएको क्षेत्रीय अधिवेशनमा उनी पराजित भएका हुन् । 

सभापति थापा क्षेत्रमा पराजित

खुला १० सदस्यमा चुनाव लडेका थापा निर्वाचनको मतगणनामा १२ औं नम्बरमा पुगेका हुन् । कुल ९ सय २१ मत खसेकोमा थापाले ३ सय ९९ मत ल्याए । महाधिवेशनमा जगदीशचन्द्र उपाध्यायले ६ सय २६ मत ल्याएका थिए ।

क्षेत्र नं १ को अधिवेशनमा आमन्त्रित केन्द्रीय सदस्य किरणराज पौडेल पनि पराजित भए । पराजित दुवै जना संस्थापन पक्षका हुन् । आसन्न महाधिवेशनका लागि भइरहेको जिल्लाका विभिन्न अधिवेशनमा पनि संस्थापनइतर समूह बलियो देखिएको छ । दुई प्यानल बनाएर चुनाव लड्दा संस्थापनबाट गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल, पार्टी सचिव नवराज पौडेल र चिरञ्जीवी गौतम तथा महिला आरक्षणबाट पूर्वराज्यमन्त्री चम्पा खड्कामात्रै संस्थापनका विजयी भए । अन्य सबै जना संस्थापनइतर समूहका छन् ।

त्यस्तै क्षेत्र नं १ मा संस्थापन इतरका चण्डीप्रसाद शर्मा विजयी भए । उनले ४ सय ५४ मत ल्याए भने उनका प्रतिस्पर्धी देउवा समूहका खड्ग थापाले ४ सय ५० मत पाए । क्षेत्रीय समितिमा शर्माको प्यानलै विजयी भएको निर्वाचन अधिकृत अखिलनाथ शर्माले जानकारी दिए ।

एकै परिवारका निर्वाचित

बागलुङ क्षेत्र नं १ को निर्वाचनमा जिल्ला सभापतिका प्रत्यासी जगदीशचन्द्र उपाध्याय र उनकी पत्नी महिला संघकी अध्यक्ष शकुन्तला शर्मा दुवै जनाले सर्वाधिक मत ल्याए । त्यस्तै महाधिवेशन प्रतिनिधि जितेका भीम श्रीषका भाइ दलबहादुर श्रीष प्रदेश ‘ख’ को सभापति निर्वाचित भए ।

उनीहरू सबै जना रामचन्द्र पौडेल पक्षका हुन् । जैमिनी नगरपालिका–७ का केन्द्र रसाइली प्रदेश र उनकै सहोदर दाइ सीताराम रसाइली महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । पार्टी सचिव नवराज पौडेल महाधिवेशन र उनकी पत्नि उशा पौडेल क्षेत्रीय महाधिवेशन प्रतिनिधिमा चुनिएका छन् । गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा कँडेल केन्द्रीय महाधिवेशन प्रतिनिधि र छोरा नरेश कँडेल प्रदेश महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । कँडेल देउवा पक्षका हुन् ।

प्रकाशित : मंसिर ९, २०७८ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?