१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लमजुङ कांग्रेस सभापतिमा संस्थापनपक्षका गुरुङ निर्वाचित

आश गुरुङ

(लमजुङ) — लमजुङको कांग्रेस सभापतिमा डा. टकराज गुरुङ निर्वाचित भएका छन् । उनी पार्टी सभापति शेरबहादुर देउवापक्षका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका गमप्रसाद गुरुङलाई १ सय ३२ मतले हराउँदा टकराज सभापति बनेका हुन् ।

लमजुङ कांग्रेस सभापतिमा संस्थापनपक्षका गुरुङ निर्वाचित

कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत लमजुङमा सोमबार जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिको लागि मतदान भएको थियो । बुधबार बिहानीपख २ बजेतिर सकिएको मतगणना अनुसार निर्वाचित टकराजले ७ सय १७ मत ल्याएका छन् । पराजित गमप्रसादले ५ सय ८५ मत ल्याए ।

चुनावमा देउवा पक्षका उम्मेदवार टकराज गुरुङ र पौडेल पक्षका गमप्रसाद गुरुङ प्यानलसहित चुनावी मैदानमा होमिएका थिए । केन्द्रमा कोइराला परिवारसंग नजिक शंकरकान्त जोशी–वृषराज गुरुङ समूहले टकराज समूहलाई समर्थन गरेपछि टकराजलाई जित्न सहज भएको दाबी कांगेस नेता तथा कार्यकर्ताको छ ।

लमजुङमा तेस्रो धार मानिएको उक्त समूहका नेता जोशी महाधिवेशन प्रतिनिधिमा उठे पनि उनले भने हार व्यहारेका छन् । उनले मनगणनामा धाँदली भएको भन्दै पुनः मन गणनाको लागि निवेदन दिएका छन् । निर्वाचन अधिकृत थानेश्वर दवाडीले भने पुनः मतगणना नगर्ने निर्णय गरिएको बताए ।

कुल १ हजार ३ सय ७४ प्रतिनिधि मतदाता रहेको कांग्रेसमा १ हजार ३ सय ३९ मत खसेको थियो । यसमा १ हजार ३ सय २ मत सदर भएको छ । ३७ मत बदर भएको निर्वाचन अधिकृत दवाडीले बताए ।

उपसभापतिमा गमप्रसादपक्षका आनन्द घिमिरेले ७ सय १ मत र टकराजपक्षका श्रीकान्त घिमिरेले ६ सय ७८ मत ल्याएर निर्वाचित भएका छन् । पराजित गमप्रसादपक्षका खड्गबहादुर गुरुङले ६ सय २१ मत र टकराजपक्षका लोकनाथ घिमिरेले ५ सय २८ मत प्राप्त गरेका छन् । सचिवमा टकराज पक्षका कृष्णबहादुर अधिकारीले ६ सय ६६ मत र गमप्रसाद पक्षधर विमल श्रेष्ठले ६ सय ४९ मत ल्याएर निर्वाचित भएका छन् । टकराज पक्षधर नवीनचन्द्र घिमिरेले ५ सय ७९ र गमप्रसाद पक्षधर राजकुमार पाण्डेले ५ सय ९७ मत ल्याए पनि पराजित भएका छन् ।

सहसचिवमा गमप्रसाद पक्षधर नरबहादुर गुरुङले ७ सय ३९ मत र टकराज प्यानलका विश्व पौडेलले ६ सय ८ मत ल्याएर विजयी भएका छन् । टकराज पक्षधर मदनसिंह घिमिरेले ५ सय ५८ मत र गमप्रसाद पक्षधर सूर्यकला बराल कोइरालाले ५ सय ९६ मत ल्याए पनि पराजित भएका छन् ।


प्रकाशित : मंसिर ८, २०७८ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?