कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

देउवा–पौडेल पक्षको मिश्रित परिणाम

कास्कीमा हाबी देखिएको पौडेल पक्ष तनहुँमा भने कमजोर हुँदै

पोखरा — कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको परिणाम आउने क्रम जारी छ । परिणामअनुसार कतै संस्थापन त कतै संस्थापनइतर (पौडेल पक्ष) हाबी देखिएका छन् । कुनै जिल्लामा मिश्रित परिणाम आएका छन् । केही जिल्लामा मतगणना भइरहेको छ । शनिबार साँझसम्म कास्की, तनहुँ, स्याङ्जा, म्याग्दी जिल्लाका सबै परिणाम आइसकेको छ ।

देउवा–पौडेल पक्षको मिश्रित परिणाम

कास्कीमा संस्थापनइतर अर्थात् पौडेल पक्ष हाबी भएको छ । बिहीबार सुरु अधिवेशनमा सहमति नजुटेपछि शुक्रबार सबैजसो पदमा मतदान भएको थियो । कास्की निर्वाचन क्षेत्र नम्बर १ को (क) मा दुर्गाप्रसाद सुवेदी र (ख) मा कृष्णप्रसाद कोइराला सभापतिमा निर्वाचित भए । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को (क) मा दिनेश आचार्य र (ख) मा दीपेन्द्र मर्सानी निर्वाचित भए । त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा पुष्पेन्द्र पाण्डे र (ख) मा जीवनाथ पौडेल (शंकर) प्रदेश सभापति निर्वाचित भए । निर्वाचित सबै अध्यक्ष कांग्रेस संस्थापनइतर अर्थात् पौडेल पक्षधरका रहेका छन् । लामो समयदेखि पौडेल पक्षमा क्रियाशील मर्सानीलाई भने पार्टी सभापति शेरबहादुर देउवानिकटका गण्डकी प्रदेशका मन्त्री कुमार खड्का र विन्दुकुमार थापाको समर्थन रहेको थियो ।

स्थानीय नेताहरूका अनुसार कास्की कांग्रेसमा केन्द्रीय राजनीतिको प्रभावभन्दा पनि जिल्लास्तरीय नेताकै चाहनाबमोजिम प्यानल बनाएर अधिवेशनमा मतदान भएको थियो । मतदानको परिणामअनुसार सभापतिमा मात्र नभई अन्य पदाधिकारीमा पनि पौडेल पक्ष हाबी भएको छ । त्यस्तै १ सय २ प्रदेश प्रतिनिधिमा अधिकांश पौडेल पक्षका विजयी भएका छन् ।

तनहुँ संवाददाताका अनुसार वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशनको परिणामले वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृहजिल्लामा कमजोर देखिएको चर्चा चल्न थालेको छ । प्रदेशसभा निर्वाचन क्षेत्रमा संस्थापन र पौडेल पक्ष बराबरजस्तो निर्वाचित भएपछि पौडेल कमजोर हुँदै गएको आकलन गरिएको हो ।

जिल्लाको निर्वाचन क्षेत्र १ को (क) मा विश्वेश्वर खनाल र (ख) मा काजीमान श्रेष्ठ निर्वाचित भए । दुवै जना पौडेल पक्षधर हुन् । त्यसैगरी निर्वाचन क्षेत्र २ को (क) मा जितराज राना निर्वाचित भए । रानाको प्यानलै निर्वाचित भएको हो । (ख) मा इन्द्रबहादुर आलेको नेतृत्व सर्वसम्मत चयन भएको छ । राना र आले संस्थापन (देउवा) पक्षका हुन । क्षेत्र नम्बर १ वरिष्ठ नेता पौडेलको निर्वाचन क्षेत्र हो । जिल्ला सभापति वैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेल वरिष्ठ नेता निकटका रूपमा हेरिएकाले सोहीअनुसारको प्यानल निर्माण गरी अधिवेशनमा चुनावी प्रतिस्पर्धा भएको थियो । पदाधिकारी र प्रदेश प्रतिनिधिमा पनि संस्थापन र इतरपक्षको बराबरीजस्तो निर्वाचित भएका छन् ।

त्यस्तै स्याङ्जाको ४ प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये २ वटामा कांग्रेस नेता गोपालमान श्रेष्ठ निकटका २ र उनी इतरपक्षका २ जना सभापति चुनिएका छन् । निर्वाचन क्षेत्र नम्बर १ को (क) मा केशरबहादुर खाँण (ध्रुव) र (ख) मा प्रकाश तिवारी सभापतिमा विजयी भए । दुवै सभापति गोपालमान इतरपक्षधर हुन् । केन्द्रमा भने उनीहरू देउवा पक्षकै रहेको एक कांग्रेस नेताले बताए । यसैगरी निर्वाचन क्षेत्र नम्बर २ को (क) मा अर्जुनप्रसाद खनाल र (ख) मा महेश भट्टराई सभापतिमा विजयी भएका छन् । दुवै नेता गोपालमान श्रेष्ठ निकटका हुन् । पदाधिकारी र प्रदेश प्रतिनिधिमा पनि श्रेष्ठ र उनी इतर पक्षमा आधाआधा जस्तो चुनिएका छन् ।

यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्र (क) बाट ओम छन्त्याल र (ख) बाट टंक पुन निर्वाचित भएका छन् । दुवै देउवा पक्षधर हुन । प्रदेश प्रतिनिधिमा पनि दुवै क्षेत्रबाट अधिकांश देउवा पक्षले जितेका छन् । निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये संस्थापन (देउवा) पक्षबाट २४ र पौडेल पक्षबाट ७ जनाले जितेका छन् । निर्वाचित अधिकांश सदस्य नयाँ अनुहारका छन् । ‘प्रजातान्त्रिक अभ्यास गर्दा नेतृत्वमा आउन नसकेका नेतालाई सम्मान गर्दै कुनै न कुनै जिम्मेवारीमा ल्याउनेछु,’ शपथ ग्रहण कार्यक्रममा प्रतिबद्धता व्यक्त गर्दै नवनिर्वाचित जिल्ला सभापति खम्बिर गर्बुजाले भने, ‘पार्टीलाई एक ढिक्का बनाएर लैजान्छु ।’

पर्वत संवाददाताका अनुसार निर्वाचन क्षेत्र (क) मा शुक्रबार राति मतदान भए पनि विवाद भएपछि मतगणना हुन सकेको छैन । उक्त क्षेत्रमा ६ सय ३८ मतदाता रहेकामा ६ सय २० जनाकोमा रेजा लगाइएको थियो । मतगणना गर्ने बेला ६ सय २४ मतपत्र भेटिएपछि विवाद उत्पन्न भएकाले मतगणना रोकिएको हो । क्षेत्र (ख) मा भने शनिबार साँझसम्म मतदान जारी थियो ।

बागलुङ संवाददाताका अनुसार शनिबार साँझसम्ममा निर्वाचन क्षेत्र नम्बर २ को (क) मा पौडेल पक्षधर तिलक घर्ती प्रदेश सभापतिमा निर्वाचित भएका छन् । अन्य तीन प्रदेशसभा निर्वाचन क्षेत्रमा मतदान सकिएर गणनाको क्रममा रहेकाले शनिबार रातिमात्रै परिणाम आउनेछ ।

पूर्वी नवलपरासी संवाददाताका अनुसार जिल्लाका चारवटै प्रदेशसभा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको र शनिबार राति अबेरसम्ममा परिणाम घोषणा हुने सम्भावना छ । लमजुङ संवाददाताका अनुसार लमजुङ प्रदेश ‘क’ को निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षका दरजंग गुरुङ सभापतिमा निर्वाचित भएका छन् । गुरुङ दोर्दी गाउँपालिका–१ का वडाध्यक्षसमेत हुन् । पदाधिकारी सबैमा संस्थापन पक्षका विजयी भएका छन् । प्रदेश (ख) मा भने पौडेल पक्षका रघुनाथ गुरुङ विजयी भएका छन् ।

प्रकाशित : मंसिर ५, २०७८ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?