२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

कांग्रेस अधिवेशन : गृहजिल्लामै कमजोर देखिए पौडेल 

सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत तनहुँमा वडा, पालिका र प्रदेश क्षेत्रका अधिवेशन सम्पन्न भएका छन् । अधिवेशनबाट निर्वाचित पदाधिकारी र चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणामलाई हेर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष गृहजिल्लामा कमजोर देखिएको छ ।

कांग्रेस अधिवेशन : गृहजिल्लामै कमजोर देखिए पौडेल 

पालिका अधिवेशनमा संस्थापन पक्षधर मानिएका उम्मेदवारहरु बढी निर्वाचित भएका छन् । यस्तै, हालै सम्पन्न प्रदेश क्षेत्रका अधिवेशनमा भएको निर्वाचनमा पनि संस्थापन पक्षधरकै उम्मेदवारहरुको पक्षमा मत परिणाम आएका छन् ।

जिल्लाको २ निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र नम्बर २ को (क) र (ख) मा संस्थापन पक्षधरकै बहुमत उम्मेदवार निर्वाचित भएका छन् । २ को (ख) मा इन्द्रबहादुर आलेको नेतृत्व सर्वसम्मत चयन भएको छ । यस्तै, २ को (क) मा पनि संस्थापन पक्षधरकै प्यानल निर्वाचित भएको छ । २ को (क) मा जितराज रानाले २३८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी हिराबहादुर थापाले १८१ मत प्राप्त गरे । राना संस्थापन पक्षधर उम्मेदवार हुन् भने थापा पौडेल पक्षका उम्मेदवार हुन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनाल र क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठ निर्वाचित भएका छन् । यी दुवै उम्मेदवार पौडेल पक्षधर हुन् । तर, संस्थापन पक्षका उम्मेदवारबीच भएको चुनावी प्रतिस्पर्धामा प्राप्त मत परिणाम भने धेरै अन्तर छैन ।

क्षेत्र नम्बर १ (क) को सभापतिमा विश्वेश्वर खनालले २९० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी शेष मोहम्मद हनिफ (गोरा मियाँ) ले २१६ मत प्राप्त गरेका थिए । मियाँ केन्द्रीय सदस्यहरु शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको संयुक्त प्यानलका उम्मेदवार हुन् । यता खनाल जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य प्रदीप पौडेल प्यानलका उम्मेदवार हुन् ।

क्षेत्र नम्बर १ (ख) को सभापतिमा काजीमान श्रेष्ठले २२० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजेन्द्र पियाले १५४ मत प्राप्त गरे । श्रेष्ठ पौडेल निकटका हुन् भने पिया संस्थापन पक्षधर हुन् ।

क्षेत्र नम्बर १ वरिष्ठ नेता पौडेलको निर्वाचन क्षेत्र हो । जिल्ला सभापति न्यौपाने र केन्द्रीय सदस्य पौडेल वरिष्ठ नेता निकटका रुपमा हेरिएकाले सोही अनुसारको प्यानल निर्माण गरी अधिवेशनमा चुनावी प्रतिस्पर्धा भएको थियो । वरिष्ठ नेता पौडेलेका निर्वाचन क्षेत्रमा केन्द्रीय सदस्यहरु भण्डारी, भट्टराई र वाग्लेले आफू निकटको प्यानल तयार गरी चुनावी प्रतिस्पर्धामा उत्रिएर शक्ति मापन गरेको देखिन्छ ।

प्रकाशित : मंसिर ४, २०७८ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?