कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोरखामा मकै सुकाउने पूर्णिमा सकिमना पुन्ही:

परम्पराअनुसार यो पूर्णिमादेखि हिउँद लाग्यो भन्ने संकेत गर्छ
हरिराम उप्रेती

गोरखा — जुनको उज्यालोमा मकै सुकाउने पर्व बिहीबार राति यहाँका नेवार समुदायले सामूहिक रूपमा मनाएका छन् । कात्तिक शुक्ल पूर्णिमाको रात अमृत वर्षा हुने जनविश्वाससाथ सकिमना पुन्ही: पर्व मनाइएको हो । डाँडापारिको जुन नजिकिँदै गर्दा बिहीबार साँझ गोरखा नगरपालिका–६ ठूलो आँगनमा भुटेको मकैलगायत नौ थरी अन्न लिएर स्थानीय भेला भए । पाका पुस्ताले मकै फिँजाए । फिँजाएको अन्नबाटै आकर्षक मन्दिरको आकार बनाइयो । दाँया–बायाँ सूर्य र चन्द्रमा । र, जूनको उज्यालो नजिकिँदै जादा यहाँ मकै पूजा सुरु भयो ।

गोरखामा मकै सुकाउने पूर्णिमा सकिमना पुन्ही:

पूर्णिमाको दिन चन्द्रमाको उज्यालोमा भुटेको मकै, भटमास, बदाम, उसिनेको पिँडालु, सखरखण्डलगायत उब्जनी सुकाएर खाए अमृत समान हुने मान्यता रहेको ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेशमान श्रेष्ठले बताए । ‘यो मकै सुकाउने पूर्णिमा हो,’ उनले भने, ‘पहिलेदेखिकै परम्परा हो, परम्पराअनुसार आजको पूर्णिमादेखि हिउँद लाग्यो भन्ने संकेत गर्छ ।’ मकै, जुनेलो, पिँडालु, उखु, मास, सखरखण्डलगायत विविध अन्न उब्जनी भएपछि यसरी नै जूनमा सुकाउने प्रचलन रहेको उनले सुनाए । ‘वर्षभरिको उब्जनी घरघरमा भित्र्यायौं, अन्नबाली यसरी सुकाएर अमृत वर्षा भएपछि सबैको कल्याण हुन्छ भन्ने मान्यता छ,’ उनले भने । समितिको अगुवाइमा सकिमना पर्व सामूहिक रूपमा मनाइएको हो । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समिति गठन भएपछि लोप हुन लागेको धार्मिक सम्पदा, ऐतिहासिक सपम्दाको संरक्षण गर्ने क्रममा मकै सुकाउने पर्वलाई प्राथमिकता दिएको उनले बताए ।

यसरी पूजा गरेको अन्न प्रसादका रूपमा ग्रहण गर्ने गरेको उनले बताए । भुटेको मकै, भटमास, मास, चना, केराउ, मस्याङ, जुनेलोलगायत नौ थरी अन्न फिँजाएर स्थानीयले पूजा गरेका हुन् । पर्वको विधिवत् पूजा गर्न पाका पुस्ता सक्रिय देखिन्थे । नयाँ पुस्ता पनि नौलो पर्व मनाउने विधि हेर्दै रमाए । सामूहिक पूजामा धिमे, पन्चेबाजा तथा भजन पनि प्रस्तुत गरिएको थियो ।

यसरी पूजा गरेर अन्न ग्रहण गर्दा रोगब्याधि नलाग्ने धार्मिक मान्यता रहँदै आएको अगुवा मोहनलाल श्रेष्ठले बताए । नयाँ अन्न उब्जनी भएपछि जूनमा सुकाएर खाने प्रचलन रहेको अग्रज बताउँछन् । अन्नबालीलाई सम्मान गर्न पनि यसरी जूनमा देखाएर पूजा गर्नैपर्ने उनले बताए । जूनमा सुकाएको अन्न ६ महिनासम्म पनि नबिग्रिने, अन्नको सेवन गरेमा पाचन प्रणाली बलियो हुने र रोग नलाग्ने जनविश्वास छ । पर्वलाई लोप हुन नदिन र पछिल्लो पुस्तालाई देखाउन पनि आगामी वर्ष पनि सामूहिक पूजालाई निरन्तरता दिने स्थानीयको योजना छ । ४० वर्षअघि सामूहिक रूपमा मनाउने यो पर्व लोप भएको थियो । स्थानीयको सक्रियतामा २०७६ बाट पुन: सामूहिक रूपमा पर्व मनाउन थालिएको हो । विगतका २ वर्ष भने कोरोना महामारीले सामूहिक रूपमा नभई घरघरमा मात्र यो पर्व सीमित बन्यो ।

प्रकाशित : मंसिर ३, २०७८ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?