कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

केन्द्रीय सदस्यसहित गण्डकी प्रदेशमा १२ जनाले छाडे विवेकशील साझा पार्टी

दीपक परियार

पोखरा — विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले वैकल्पिक राजनीतिको गलत व्याख्या गरेको भन्दै गण्डकीका १२ जनाले पार्टी परित्यागको घोषणा गरेका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, प्रकाश आचार्यसहित विभिन्न तहका नेताले आइतबार विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा अभियान विभाग प्रमुख अशोक खड्का, प्रदेश सदस्य तथा कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, प्रदेश सदस्य तथा संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक सागर घिमिरे, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे, व्यास नगर संयोजक सलमान अलि, सहसंयोजक विप्लटा, युवा संगठनका केन्द्रीय सदस्य मनीषा मगर, महेन्द्र आचार्यसमेत छन् ।

एकता महाधिवेशन छाडेर अनावश्यक र पार्टीको लाइनविपरीतका मुद्दालाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको उनीहरूले बताएका छन् ।

अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको उनीहरूको ठहर छ । ‘अध्यक्ष मिश्रको एकलौटी निर्णय र लाइनविपरीतका बहस देखिसकेपछि उनीबाट वैकल्पिक राजनीतिको यात्रा सम्भव नभएको हाम्रो ठहर हो । नेतृत्वबाट पार्टीभित्रको समस्या समाधान गर्नेभन्दा पनि पार्टीलाई कसरी हुन्छ टुक्राउने भन्ने खालको अस्वाभाविक हर्कत हुन थालेपछि हामीले अब उपरान्त आफ्नो समय र उर्जा विवेकशील साझा पार्टीको लागि खर्च गर्नु बर्बादीतर्फ होमिनु हो भन्ने ठान्यौं,’ विज्ञप्तिमा भनिएको छ, ‘आजैका दिनदेखि विवेकशील साझा पार्टीको पदीय जिम्मेवारी र सामान्य सदस्यसमेत त्याग गरेको घोषणा गरेका छौं ।’

वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टी अध्यक्ष मिश्रले एकताको मर्मविपरीत एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधानविपरीत कार्य अगाडि बढाएकोमा गम्भीर आपत्ति जनाइएको छ ।



प्रकाशित : कार्तिक २८, २०७८ २१:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

रुसी सेनामा संलग्न ३५ नेपालीको मृत्यु भइसक्दा पनि सरकारले किन थप नेपालीलाई फिर्ता गर्न सकेको छैन ?

x
×