कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पोखरामा ट्राफिक जाम बढ्दो 

पोखरा उपत्यकामा मात्रै दैनिक ४ लाख सवारी साधन गुड्छन् 
प्रतीक्षा काफ्ले

कास्की — ‘पाँच/सात वर्षअघि पोखराका कुनै पनि चोकमा ठूलो सवारी भीडभाड हुँदैनथ्यो । जाम पर्‍यो भनेर कहिल्यै गाडी रोक्नुपर्थेन । तोकिएको समयमै गन्तव्यमा पुगिन्थ्यो’ सवारी चालक चक्रपाणि पोखरेलले सम्झिए, ‘ट्राफिक जाम कस्तो हुन्छ ? काठमाडौं गएपछि मात्र अनुभव गर्न पाइन्थ्यो ।’

पोखरामा ट्राफिक जाम बढ्दो 

पछिल्लो समय भने पोखरामा पनि ट्राफिक जाम ह्रवात्तै बढेको उनले बताए । राजमार्ग मात्रै होइन पोखराका प्रत्येक चोकचोकमा पनि उत्तिकै जामको समस्या थपिइरहेको र नीजि सवारी साधन सहज भएकाले सार्वजानिक यातायातमा पहिलेजस्तो यात्रुको चाप नहुने उनको भनाइ छ । उनले सडक सवारी साधनको चाप बढेपछि सडक साँघुरो बन्दै गएको बताए ।

पोखराको पृथ्वीचोकस्थित एक सुनचाँदी पसलकी संचालक डिलमाया सुनारले सडक वारपार गर्नै समस्या भइसकेको बताइन् । ‘जोखिम पनि उत्तिकै छ । लापरबाही तरिकाले सवारी चलाउने पनि छन्’ उनले भनिन्, ‘सडकमा मात्रै होइन, घर र पसल अगाडी पनि खुट्टो राख्ने ठाउँ नहुने गरी पार्किङ गरिन्छ । यसले पनि जाम बढाएको छ ।’ पर्यटकीय सहर पोखरामा पछिल्लो समय ट्राफिक जाम समस्या बन्दै गएको छ । प्रत्येक चोकमा ट्राफिक प्रहरी भए पनि जाम व्यवस्थापन गर्न समस्या रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक अमृतबहादुर बस्नेतले आन्तरिक र बाह्य पर्यटकको गन्तव्य पोखरा भएकाले सवारी चाप बढ्दो रहेको बताए । ‘पोखरा सहरीकरण हुँदैछ’ उनले भने, ‘सडकको अवस्था उस्तै छ । अव्यवस्थित ट्राफिकले चुनौती थपिएको छ । पछिल्लोसमय महानगरभित्र खानेपानी र ढल निकासको कामले पनि सडक खनिएको छ । जसका कारण व्यवस्थापनमा चुनौती थपिएको हो ।’

बस्नेतले अहिलेसम्म चोकचोकमा ट्राफिक प्रहरी खटाएर जाम व्यवस्थापन गरे पनि अवका दिनमा डिजिटल व्यवस्थापनमा जान जरुरी रहेको बताए । ‘पोखराको ठूलो चुनौती भनेको चाइनापुलदेखि पृथ्वीचोक र सृजनाचोकसम्मको ट्राफिक जाम हो’ उनले थपे, ‘यहाँ ट्राफिक व्यवस्थापन गर्न सबैभन्दा बढी सकस छ ।’ सिद्धार्थ, पृथ्वी र पोखरा–बागलुङ तीनवटै राजमार्ग एकै ठाउँबाट सुरु भएको, बसपार्कको अवस्था नाजुक रहेकाले पनि समस्या थपिएको उनको भनाइ छ ।

ट्राफिक लाइटको पनि व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको उनले बताए । कार्यालयका अनुसार ट्राफिक जनशक्तिको पनि ठूलो समस्या छ । जम्मा दरबन्दी २९ छ । प्रदेश ट्राफिक कार्यालयबाट सहयोग मागी काम गर्नुपरेको कार्यालयले जनाएको छ । प्रदेशबाट खटिएकासहित ट्राफिकको संख्या ९० पुगे पनि अहिले फिल्डमा दैनिक ६५ जना खटिन्छन् । ‘एकजनाले १४ घण्टा ड्युटी गर्नुपरेको छ’ बस्नेतले भने ।

यातायात व्यवस्था कार्यालय सवारी कास्कीका प्रमुख डिल्लीराम रिजालले सवारी साधनको संख्या थपिदै जानु र पूर्वाधारको अवस्था ज्युँका त्युँ रहँदा पोखरामा पछिल्लोसमय सवारी जाम ह्वात्तै बढेको बताए । ‘भइरहेका सडकको गुणस्तर छैन’ उनले भने, ‘साँघुरा सडकले गर्दा चापसंगै जाम बढेको छ ।’ रिजालले पोखराको उपत्यकामा मात्रै ४ लाख सवारी साधन गुड्ने बताए । कार्यालयका अनुसार अहिलेसम्म २ लाख ६० हजार सवारी साधन दर्ता भएका छन् । त्यसमा केही बिग्रे, हराएका र लगत कट्टा गरिएका भएका छन । तर अन्यत्र दर्ता भएका सवारी पनि पोखराको सडकमा गुडिरहेका छन् ।

प्रकाशित : कार्तिक १६, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×