कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ढोरपाटन उक्लिए सात सिकारी, ढाल्दै छन् ७ नाउर र ५ झारल

घनश्याम खड्का

म्याग्दी — मुलुकको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको पहिलो सिजनका लागि सिकारीहरू उकालो लाग्दै छन् । सिकारीको पहिलो टोली ढोरपाटनबाट सिकार ब्लकतर्फ उक्लिएको आरक्षले जनाएको छ । 

ढोरपाटन उक्लिए सात सिकारी, ढाल्दै छन् ७ नाउर र ५ झारल

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार हिमालय सफारी, हिमालयन वाइल्ड लाइफ फिटर, ट्याक्स एन्ड ट्रेल प्रालि र ट्राभल एक्स्पिडिसनका तर्फबाट विभिन्न देशका सात सिकारीले ७ नाउर र ५ वटा झारलको सिकार गर्न ‘हन्टिङ बुकिङ लाइसेन्स’ लिएका छन् । उनीहरूले कात्तिक २ देखि मंसिर २५ गतेसम्म आरक्षले तोकेका विभिन्न ब्लकमा रहेर सिकार खेल्न पाउनेछन् ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार हिमालयन सफारीबाट मेक्सिकन सिकारीद्वय फ्रान्सिस्को जोसेभिज्कायोले पूर्वी रुकुमको दोगाडी ब्लकमा एक–एक नाउर र झारल तथा कार्लोस गुलिलेर्मोे भिज्काइनोले सेङ ब्लेकमा एक–एक नाउर र झारलको सिकार गर्न अनुमति लिएका छन् ।

त्यसै गरी हिमालयन वाइल्ड लाइफ फिटरमार्फत आएका रसियाली सिकारी इभ्गेरी सिरोभले बागलुङमा पर्ने सुनदह ब्लकमा एक/एक नाउर र झारलको सिकार गर्दै छन् । ट्याक्स एन्ड ट्रेलबाट आएका युक्रेनी सिकारीहरू सेर्निय लारिनले बागलुङकै गुस्तुङ ब्लकमा एक/एक नाउर र झारल तथा नटालिया लरिनाले गुस्तुङ ब्लकमै एक नाउरको सिकार गर्दै छन् ।

त्यस्तै फ्रान्सेली सिकारीद्वय मालिर्यर बर्नार्डले पूर्वी रुकुममा पर्ने सेङ ब्लकमा एउटा नाउर र अर्का सिकारी विनी एन्थोनीले सेङ ब्लकमा नाउर र फागुने ब्लकमा एउटा झारलको सिकार गर्ने अनुमति लिएका छन् ।

‘यस वर्षको पहिलो सिजनमा चारवटा कम्पनीका ७ जनाले सिकार खेल्ने अनुमति पाएका छन् । यीमध्ये दुई जनाको एउटा समूह सिकार ब्लकतर्फ लागिसकेको छ,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘यस वर्ष सातवटा नाउर र पाँचवटा झारल सिकारका लागि टेन्डर बिड भएको हो ।’

यस वर्ष सिकार खेल्ने दुरी, भौगोलिक अवस्थिति र समयावधिका आधारमा प्रतिनाउर १ लाख ८० हजारदेखि १ लाख ९५ हजार र प्रतिझारल ८० हजारदेखि एक लाख रुपैयाँसम्म बोलकबोल भएको थियो । यसबाहेक लाइसेन्स, ब्लक रिजर्भेसन र समयावधि आदिको थप शुल्क जोड्दा एउटा नाउर सिकारको शुल्क ३ लाख ७५ हजारसम्म पुगेको आरक्ष कार्यालयले जनाएको छ ।

धौलागिरि हिमशृंखलाभित्र रुकुम, म्याग्दी र बागलुङ तीन जिल्लाको १ हजार ३ सय २५ वर्गकिमीमा फैलिएको क्षेत्रलाई समेटेर २०४० सालमा स्थापना भएको ढोरपाटन सिकार आरक्षले ०४४ सालबाट मात्र सरकारी मान्यता पाएको हो । आरक्षमा असोज–कात्तिक र चैत–वैशाख गरी दुई सिजनमा सिकार गर्न सकिन्छ ।

राष्ट्रिय निकुञ्जबाट सिकार अनुमति लिएका सिकारीले ढोरपाटनस्थित आरक्ष कार्यालयबाट जंगल प्रवेश अनुमति र तोकिएका सम्पर्क अधिकारीका साथमा मात्र सिकार गन्तव्यमा जान पाउँछन् । अनुमतिप्राप्त सिकारीले राति सिकार खेल्न पाउँदैनन् । बच्चा र पोथी प्रजातिका वन्यजन्तुको सिकार गर्न पनि निषेध छ ।

विदेशी पर्यटकले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली २०३० मा उल्लेख भएअनुसारका हतियारको मात्र प्रयोग गर्न पाउँछन् । सिकारका लागि विभागले गर्ने खुला गर्ने विद्युतीय प्रतिस्पर्धाबाट शुल्क बुझाएर कम्पनीहरूले ‘हन्टिङ बुकिङ’ गर्नुपर्छ । ढोरपाटन सिकार आरक्षको मुख्य आकर्षण नाउर हो ।

आरक्षले सेङ, सुनदह, सुर्तिवाङ, वार्से, डोगारी, फागुने र गुस्ताङ गरी सातवटा ब्लक छुट्टयाइदिएको छ । सुर्तिवाङबाहेक अन्य सबै ब्लकमा नाउर र झारल मार्न पाइन्छ । ढोरपाटन क्षेत्रमा ३२ थरी स्तनधारी वन्यजन्तु र १ सय ३० प्रजातिका चराचुरुंगी पाइन्छन् । यहाँ ८ सय ५२ नाउर, दुई सय झारल रहेको आरक्षले जनाएको छ । हिउँचितुवा, चित्तल, थारल, घोरल, भालु, बँदेल, हिमाली कालो भालु, झुक्ने मृग, रातो पान्डालगायत वन्यजन्तुको भने सिकार गर्न निषेध छ ।

प्रकाशित : कार्तिक २, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?