गण्डकीका मन्त्री डोवाटेले लिए पद तथा गोपनीयताको शपथ
कास्की — नवनियुक्त मन्त्री डोवाटे विश्वकर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान मात्रै विना विभागीय मन्त्रीमा नियुक्त भएका विश्वकर्माले साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट शपथ लिएका हुन् ।
उनलाई कुन मन्त्रालय दिने भन्ने टुंगो नलागिसकेको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जनाए । उनी कांग्रेसका समानुपातिक सांसद हुन् । विश्वकर्मा यसभन्दा अघि पनि मन्त्रीको चर्चामा थिए ।
उनलाई मन्त्री नबनाएको भन्दै चौतर्फी विरोध भएपछि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशसभा अन्तर्गत विधायन समितिको सभापति बनाउन प्रस्ताव गरेका थिए ।
तर विश्वकर्माले उक्त प्रस्ताव असन्तुष्टि जनाउँदै अस्वीकार गरेका थिए । विश्वकर्माले अहिले पार्टीलाई आवश्यकता परेको र पहिला अन्याय गरेको महसुस भएकाले आफूलाई मन्त्री बनाएको बताएका छन् ।
मुख्यमन्त्रीले गठबन्धनसँग सल्लाह नगरी मन्त्री नियुक्त गरेकोप्रति असन्तुष्टि जनाउँदै शपथ कार्यक्रममा माओवादी केन्द्र र जनता समाजवादीका मन्त्रीहरु सहभागी भएनन् ।
प्रकाशित : आश्विन २५, २०७८ १८:००