च्यांग्रा महँगिएपछि, मूल्य सम्झने, स्वाद बिर्सने- गण्डकी - कान्तिपुर समाचार

च्यांग्रा महँगिएपछि, मूल्य सम्झने, स्वाद बिर्सने

घनश्याम खड्का

म्याग्दी — दसैंका लागि मुस्ताङबाट ल्याइएका चेलुक/च्यांग्राको मूल्य महँगिएपछि सामान्य परिवार विकल्पमा स्थानीय खसीबोका र भेंडाबाख्रा खोज्न थालेका छन् । ‘मुस्ताङका च्यांग्राको मूल्य सुन्दै सातो जाने देखियो । गरिबले पोहोर–परारदेखि नै च्यांग्राको मासु खान नसक्ने भइसकेका थिए ।

यो वर्षदेखि मध्यम वर्गीय परिवारले पनि नसक्ने अवस्था छ,’ बेनी नगरपालिका–८ का हेमनाथ सुवेदीले भने, ‘दसैंमा मासु घरपालुवा खसीबोका खाए पनि हुन्छ । च्यांग्रा नै खानुपर्छ भन्ने छैन । अब मूल्य सम्झने, स्वाद बिर्सने ।’

यतिबेला स्थानीय खसीबोकाको माग बढेको छ । लेकाली क्षेत्रमा रहेको खसीबोका बेंसी ल्याउन थालिएको छ । घरघरमै पालिएका खसीबोकाको बिक्री पनि बढेको छ । ‘जिल्लाको उत्तरी भेगमा मात्र हो, चेलुक/च्यांग्राको माग बढी हुने । पश्चिम भेगमा जहिल्यै स्थानीय खसीबोकाले चलेको छ । जिल्लामै पर्याप्त उत्पादन भएकाले मासुको अभाव भने हुँदैन,’ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीका पशु सेवा प्राविधिक सुभाष रेग्मीले भने, ‘दसैंमा दुई छाक च्यांग्राको मासु खाने एउटा प्रचलन भएको छ, अन्य समय यहींका खसीबोकाको मासु खाने हो । मासुमा म्याग्दी आत्मनिर्भर छ ।’

कोरोला नाका बन्द रहेकाले तिब्बतबाट चेलुक/च्यांग्रा नआएकाले यस वर्ष मुस्ताङबाट ओरालिएका च्यांग्रा बेनीमा ४०– ३५ हजारमा किनबेच भइरहेको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका अनुसार मुस्ताङबाट यस वर्ष ६ हजार ५ सय चेलुक/च्यांग्रा क्वारेन्टाइनमा स्वास्थ्य परीक्षण गरी लगिएका छन् । थप ४ हजार जति भने व्यापारीले चोरीबाटो रातिराति गाडीमा लगेका छन् । ‘मुस्ताङबाट यस पटक १० हजार ५ सय बढी च्यांग्रा लगिएको छ । यीमध्ये ६ हजार ५ सय वटाको क्वारेन्टाइन जाँच गरिएको छ । बाँकीको स्वास्थ्य परीक्षण नगराई व्यापारीले रातिराति लुकेर लगे’ भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोख्रेलले भने, ‘०७६ सालमा ५ हजार बढी हिउँमा पुरिएर र ०७७ सालमा ३ हजार बढी खोरेत रोगले मरेकाले मुस्ताङमा चेलुक/च्यांग्राको उत्पादन घटेको छ । तिब्बती खसी नआएकाले मुल्य एक्कासि वृद्धि भएको हो ।’

प्रकाशित : आश्विन २५, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सांसद डोबाटे मन्त्री नियुक्त

कान्तिपुर संवाददाता

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गरेका छन् । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिए । 

कांग्रेस सांसद डोबाटे तनहुँका हुन् । उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।

प्रकाशित : आश्विन २५, २०७८ १०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×