कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

मजदुरी छोडी कृषिमा

प्रकाश बराल

बागलुङ — मासिक ६ हजार भाडामा लिएको झन्डै ८ रोपनी बारीमा गरेको तरकारी उत्पादनले काठेखोला गाउँपालिका–८ कादेशकी ४५ वर्षीया लालमाया पुनलाई ७ वर्षमै लखपति बनाइदिएको छ । ‘पहिला दुई छाक टार्न पनि गाह्रो थियो, अहिले राम्रै कमाइ छ’ उनले भनिन्, ‘मेहेनत गरियो भने पैसा कमाउन गाह्रो रहेनछ ।’

मजदुरी छोडी कृषिमा

दशकअघिसम्म खानलाउने समस्याले पुनले ज्याला मजदुरी गर्थिन् । चार छोरी पाल्ने उनको चुनौती तरकारी खेतीले पूरा गरिदियो । संयोगले भेटिएका कृषि कार्यालयका अधिकृतले तालिममा सहभागी गराएपछि उनले भाडाको जग्गामा खेती गर्ने योजना बुनेकी थिइन् । त्यो अभियानले अहिले उनी अगुवा र उत्कृष्ट किसानसमेत घोषित भइसकेकी छन् । उनले आफ्नो र भाडामा लिएको गरी १० रोपनी जग्गामा तरकारीे खेती गरेको बताइन् । हिउँदमा केराउ, काउली र मटरकोसा, वर्षायाममा खुर्सानी, गोलभेंडालगायत तरकारी लगाएर उक्त सफलता पाएकी हुन् ।

‘मौसमअनुसार तरकारी लगाउँछु, बेमौसमी तरकारी प्लास्टिकको घरमा लगाउँछु,’ उनले भनिन्, ‘महिलाले केही गर्न सक्दैनन् भन्थे, आँट गरेकाले सफल भएकी छु । ‘धेरै वर्षसम्म सिक्किम लोकल जातको केराउ लगाएर कमाएँ, अहिले सबैखाले खेती थालेकी छु,’ उनले भनिन्, ‘टनेलभित्र गोलभेंडा मात्रै गर्ने चलन तोडेर खुर्सानी लगाएर पनि लाख रुपैयाँ कमाउन सकें ।’ अहिले पनि उनका टनेलमा गोलभेंडा, प्याज, रायो साग, अकबरे खुर्सानी, मुसुरो दाल, काउली बन्दाजस्ता उत्पादन लटरम्म फलेका छन् । लेखानी गाउँसहित बागलुङ बजारमा पनि नियमित तरकारी बेच्ने गरेको उनले बताइन् ।

बजारका धेरै होटलले अकबरे खुर्सानी मगाउँछन् । कृषि पेसाले पुनलाई जिल्लामै चिनाएको छ । कमाइ बढेपछि बिदेसिएका श्रीमान्लाई पनि उनले घर बोलाइन् । उनले भनिन्, ‘श्रीमान् आएपछि काममा थप हौसला मिलेको छ ।’ सुरुमा वार्षिक २ देखि ३ लाख कमाइ भएपछि हौसेर उनले जग्गा भाडामा समेत लिएर तरकारी फलाउन थालेकी हुन् ।

दुई छाक खान नसकेर थालेको पेसाले तालिम दिन आउने प्रशिक्षकको भन्दा दोब्बर कमाइ गरेको उनले दाबी गरिन् । उनले भनिन्, ‘मेहनत गरेमा माटोमा सुन फलाउन सकिने रहेछ ।’ अहिले पुनलाई गाउँमा सम्मान गर्न थालिएको छ । अहिले उनी कृषि विकास समितिको अध्यक्ष समेत छिन् । कादेशको खाली डाँडा भनिने यो गाउँलाई उनकै मेहनतले हरियाली गाउँ बनेको छ । उनको मेहनत देखेपछि कादेशमा अन्य दर्जनबढी कृषि फर्म खुलेका छन् । तर उनको हाराहारीमा पुग्न कोही पनि सकेका छैनन् भन्छिन् वडा अध्यक्ष चित्रकला छन्त्याल ।

‘उहाँको मेहनतजस्तो अरुले गर्न सकेका छैनन्,’ उनले भनिन्, ‘उहाँ दिदी वडाभरिकै सम्मानित किसान बन्नुभयो ।’ कृषि ज्ञान केन्द्रले दिने उत्कृष्ट किसान पुरस्कारसमेत उनले गत वर्ष पाएकी थिइन् ।

प्रकाशित : आश्विन १८, २०७८ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

हमाससँग युद्ध गरिरहेको इजरायलमा ८ सय नेपाली कामदार (केयर गिभर) पठाउने सरकारको तयारीबारे तपाईंको राय के छ ?

×