शिक्षक आन्दोलित

कान्तिपुर संवाददाता

नवलपुर — राज्यले शिक्षकलाई विभेद गरेको भन्दै नेपाल स्थायी शिक्षक हकहित मञ्च आन्दोलित भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत निजामती कर्मचारीलाई वार्षिक भ्रमण खर्चबापत १० दिनको पर्यटन काज, तलब र अन्य सुविधा दिने घोषणा गरेको छ ।

तर स्थायी शिक्षकलाई यो सुविधाबाट वञ्चित गरिएको भन्दै देशभरका स्थायी शिक्षक आन्दोलित भएका हुन् । राज्यले शिक्षकलाई र शिक्षण पेसालाई नै अपमान गरेर विभेदकारी नीति लिएको भन्दै नवलपरासीलगायत देशैभरका शिक्षकले बिहीबार हातमा कालोपट्टी बाँधेर विरोध जनाएको मञ्च नवलपरासीका संयोजक कुसुम न्यौपानेले बताए ।

सरकारले तत्कालै स्थायी शिक्षकलाई पनि निजामती कर्मचारीसरह सुविधा उपलब्ध नगराएमा थप संघर्षमा उत्रिने मञ्चका केन्द्रीय संयोजक रमेशबाबु भट्टराईले चेतावनी दिए । ‘राज्यले शिक्षक र यो पेसालाई नै होच्याउने र अपमान गर्ने हेतुले यस्तो नियम ल्याएको महसुस गरेका छौं,’ उनले भने ।

प्रकाशित : आश्विन १५, २०७८ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय भलिबल : हेल्प नेपालले पुलिसविरुद्ध खेल्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — गत वर्ष संस्करण विजेता हेल्प नेपाल छैटौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलको अन्तिम चारमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा तीन भारतीय खेलाडीसहित उत्रेको हेल्प नेपालले बिहीबार क्वाटरफाइनलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा हराएको थियो । हेल्प नेपालले सेमिफाइनलमा पुलिस क्लबसँगको निश्चित गरेको छ । पुलिसले ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–१९, २५–१८, २५–१९ को सेटमा हराएर सेमिफाइनल पक्का गरेको छ ।

महिलातर्फ विभागिय टोली एपीएफ क्लब समूह ‘ए’ विजेता भएर सेमिफाइनल पुगेको छ । डिफेन्डिङ च्याम्पियन एपीएफले सेमिफाइनलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबसँग खेल्ने भएको छ । अन्तिम लिगमा एपीएफले निकट प्रतिद्वन्द्वी पुलिस क्लबलाई ३–१ को सेटमा हराएको थियो । एपीएफले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारे पनि दोस्रो सेट पुलिसले टक्कर दिँदै २५–२१ ले सेट जितेर खेल बराबरीमा ल्यायो । तर, पछिल्लो दुई सेटमा प्रतिस्पर्धात्मक खेल खेल्दै २५–१७, २५–१९ ले आफ्नो पक्षमा पारेर एपीएफले विजय नतिजा निकाल्यो ।

हारका बाबजुद पुलिस पनि समूह ‘ए’ उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । अर्को खेलमा न्यु डायमन्ड क्लबले आर्मी क्लबलाई २७–२५, २५–२२, २५–२३ को सोझो सेटमा हराएर समूह ‘बी’ विजेता हुँदै सेमिफाइनल तय गर्‍यो । डायमन्डले अब पुलिसविरुद्ध खेल्नेछ । आर्मी भने समूह ‘बी’ उपविजेता भएको थियो ।

चैतमा हुने क्लब लिग भलिबलका लागि यसै प्रतियोगिताबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमले स्थान बनाउने छन् । च्याम्पियन हुने पुरुष र महिला दुवैले समान ४ लाख, दोस्रोले २ लाख र तेस्रोले १ लाख रुपैयाँ पुरस्कार गर्नेछन् ।

प्रकाशित : आश्विन १५, २०७८ ०८:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×