कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

छेकम्पार र चुम्चेतमा हेलिकोप्टरमार्फत चामल ढुवानी

हरिराम उप्रेती

गोरखा — डेढ महिनादेखिको पहिरोले पैदलमार्ग अवरुद्ध भएपछि खाद्यान्न अभाव भएको उत्तरी गोरखाको छेकम्पार र चुम्चेतमा नेपाली सेनाको हेलिकोप्टर–मार्फत चामल ढुवानी भएको छ । मंगलबार र बुधबार पाँच उडानबाट ९३.३० क्विन्टल चामल पुगेको हो ।

छेकम्पार र चुम्चेतमा हेलिकोप्टरमार्फत चामल ढुवानी

२ सय ७० घर रहेको चुम्चेतमा प्रति ३० केजी रहेको १ सय ४४ बोरा चामल पुर्‍याइएको छ । ३ सय १५ घर रहेको छेकम्पारका लागि १ सय ९७ बोरा चामल ढुवानी भएको छ । बाटो अवरुद्धले खाद्यान्न अभाव भएपछि स्थानीय तह र प्रशासनले गृह मन्त्रालयसँग हेलिकोप्टर व्यवस्थापनका लागि पटकपटक अनुरोध गरेका थिए । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले हेलिकोप्टर ब्यवस्थापन गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सदरमुकामस्थित गोदाममा रहेको चामल ढुवानी भएको हो । ढुवानी भएको चामल स्थानीयले प्रतिवोरा १ हजार ५ सय रुपैयाँमा खरिद गर्ने कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाका सूचना अधिकारी शिव सुनारले बताए ।

अरुवा मकवानपुर जातको चामल ढुवानी गरिएको हो । ‘बाटो अवरुद्ध हुदाँ कर्मचारी त्यहाँ पुगेर बिक्री गर्न सम्भव भएन, सम्बन्धित वडा अध्यक्षलाई चामलको जिम्मा लगाएका छौँ,’ उनले भने, ‘वडामार्फत हामीलाई पैसा प्राप्त हुन्छ ।’ १ सय ५० क्विन्टल चामल ढुवानीको लागि तयारी गरिए पनि गृह मन्त्रालयले

हेलिकोप्टर पाँच उडानका लागि मात्र स्वीकृत दिएको उनले बताए । ‘चुम्चेत २ र छेकम्पार ३ फ्लाइटमा चामल ढुवानी गर्‍यौँ,’ उनले भने, ‘एक फ्लाइटमा कम्तीमा १७ देखि २१ क्विन्टल चामल हेलिकोप्टरले बोक्दो रहेछ, सोचेजति ढुवानी गर्न सकेनौँ, पाँच फ्लाइट मात्र स्वीकृत भएकाले ९३.३० क्विन्टल मात्र पुग्यो ।’

हाल ढुवानी भएको उक्त चामल प्रतिबोरा एक घरका लागि पनि नपुग्ने स्थानीय बताउँछन् । उक्त क्षेत्रमा झन्डै डेढ महिनादेखि उपभोग्य सामग्री ढुवानी हुन सकेको छैन । ‘डेढ महिनादेखि चामल पुगेको छैन, कम्तीमा एक बोरा एक घरलाई दिनसके सहज हुन्थ्यो,’ चुमनुब्री गाउँपालिका–७ छेकम्पारका वडाध्यक्ष अध्यक्ष पासाङ फुञ्जो लामाले भने, ‘धेरै ढुवानी भएन, अहिले लगेको चामल १ घरलाई १ बोरा पनि नपुग्ने भयो ।’

चामल सम्बन्धित वडाअध्यक्षको रोहबरमा वितरण हुने प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । डेढ सय क्विन्टल पठाउने लक्ष्य रहे पनि ५ उडानका लागि मात्र स्वीकृत भएको उनले बताए । ‘एकपटकमा करिब १८ देखि २१ क्विन्टल मात्र ढुवानी गर्न सकियो, उडान थोरै भएकाले सोचेजति ढुवानी गर्न सकेनौँ,’ उनले भने । थप चामल ढुवानीका लागि पनि गृह मन्त्रालयमा अनुरोध गरिने उनले बताए । ‘अब वाटो खोल्न पनि पहल गर्नुपर्छ, फोकस बाटोमा पनि दिन्छौं, खच्चड हिँड्न मिल्ने मात्र बनाउन सके ढुवानीमा समस्या रहँदैन,’ उनले भने ।

चुम उपत्यका पुग्ने पैदलमार्गअन्तर्गत लोक्पामा भदौ १ गते खसेको पहिरो अझै रोकिएको छैन । पदमार्ग भएर आउजाउ ठप्प छ । दैनिक उपभोग्य सासग्री ढुवानी गर्ने खच्चडसमेत हिँड्न नसक्दा स्थानीयको जनजीवन कष्टकर बनेको छ । स्थानीयले चीनको बजारबाट पनि दैनिक उपभोग्यलगायतका सामग्री खरिद गर्थे । कोरोना जोखिमले २ वर्षदेखि छेकम्पार नाका बन्द हुँदा चीन सीमाक्षेत्रको वजार जान रोक लगाइएको छ ।

प्रकाशित : आश्विन १४, २०७८ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?