कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लघु जलविद्युत्‌ले गाउँमै रोजगारी

प्रकाश बराल

बागलुङ — दशकदेखि चिउरी हर्बल साबुन उद्योग चलाएर बडिगाड–२ को हाँडीखोलाका यामबहादुर भुजेल स्वरोजगार छन् नै, उद्योगमा चार गाउँलेलाई रोजगारी पनि दिएका छन् । माग बढेको बेला ७ जनासम्म पुर्‍याउने गरेको उनले बताए । वडा २ कै खरवाङका दिनेश बलामीले घडी, रेडियो, टीभी र अन्य विद्युतीय सामानको मर्मत केन्द्र खोलेका छन् । उनको पसलमा थप दुई जनाले रोजगारी पाएका छन् । विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन यही बाटो भएर बुर्तिवाङ पुगे पनि यहाँ अझै लघुविद्युत्कै भर छ । गिरिङदी खोलामा उत्पादित विद्युत् गाउँको विकास र रोजगारीको अवसर बनेको छ ।

लघु जलविद्युत्‌ले गाउँमै रोजगारी

यहाँका दर्जन विद्यालयमा सूचना केन्द्रमार्फत कम्प्युटर शिक्षा चलाउन पनि यो विद्युत् उपयोगी छ । सामुदायिक रेडियो सारथी सञ्चालनमा छ । गिरिङदीकै ऊर्जाबाट यहाँका ९ सय ५० घरले चौबिसै घण्टा बिजुली बाल्न पाएका छन् । एउटै वडामा दुई सय युवा रोजगार बनेका आयोजनाका अध्यक्ष बेलबहादुर थापाले बताए ।

तत्कालीन जिल्ला ऊर्जा तथा वातावरण शाखा र स्थानीयको चन्दाले २०६५ लघु जलविद्युत् बनेपछि यहाँ दर्जनबढी घरेलु उद्योग सञ्चालनमा छन् । एउटै वडामा ३४ उद्योग सञ्चालनमा आइरहेको आयोजनाका अप्रेटर बोमलाल वनले तथ्यांक निकालेका छन् । यहाँ ग्रिल, चाउमिन, साबुन, कुखुरापालन, सूचना केन्द्र, कोल्ड स्टोर, कुटानी पिसानी, फोटोकपी व्यवसाय र सामुदायिक रेडियोसमेत सञ्चालनमा आएको हो ।

७५ किलोवाट क्षमताको आयोजनाले २४ घण्टे सेवा दिएको छ । आयोजनाले एक एम्पिएरसम्मको विद्युत् बाल्नेलाई मासिक १ सय, २ एम्पिएरको १ सय ५०, ३ एम्पिएरको २ सय र थ्री फेज लाइन राख्नेलाई ८ सय रुपैयाँ शुल्क तोकेको छ । अहिले थ्री फेज लाइन राखेर उद्योग सञ्चालन गर्ने ३५ पुगेका छन् ।

खरवाङ बजारका एक दर्जन होटलमा फ्रिज र पंखा चलाउन पनि यो विद्युत् उपयोगी भएको छ । यहाँ सरकारी कार्यालय र तालिम हलसमेत छन् । मल्टिमिडियाको प्रयोग हुन्छ । विद्युत्कै कारण धेरै संघसंस्थाले यहाँ आफ्ना कार्यक्रम र तालिमका लागि उपयुक्त ठाउँ बनाएको स्थानीय माया केसीले बताइन् । ‘बिजुली र मल्टिमिडियाको व्यवस्था छ भनेर गाउँपालिकामा हुनुपर्ने धेरै कार्यक्रम यही आउने गरेका छन्’ केसीले भनिन्, ‘गिरिङदी खोलाको आयोजना हामीलाई वरदान भएको छ ।’

विद्युत्को सहयोगबाट फोटोकपी मेसिन चलाउनेले पनि मासिक २० हजार रुपैयाँसम्म कमाउन सकेको उनले बताइन् । गाउँपालिका कार्यालय भने यहाँदेखि ७ किमि पश्चिम ग्वालीचौरमा छ । उक्त स्थानमा पूर्वाधार नभएकाले चाहेजस्तो गतिविधि गर्न सकिँदैन । इमेल इन्टरनेटको सेवाका लागि पनि गाउँपालिकाका धेरै यहाँ आउँछन् ।

विद्युत्को प्रयोग गर्नमा जिल्लामै यो वडा अग्रणी स्थानमा रहेको जिल्ला समन्वय समितिका उपप्रमुख विष्णुप्रसाद भुसालले बताए । ‘केन्द्रीय प्रसारणको विद्युत् भएको स्थानमा पनि यति धेरै घरेलु उद्योग सञ्चालनमा छैनन्,’ भुसालले भने, ‘स्थानीयले मिहिनेत गरेर गाउँमा रोजगारीका अवसर बढाएका छन् ।’

विद्युत् आयोजनालाई स्थानीयले सहकारी मोडलमा सञ्चालन गरेका छन् । हरेक नागरिकले चाहेको खण्डमा सेयर राखेर नाफा कमाउन सक्ने भएकाले संरक्षण र अपनत्वको भावना पनि बढेको छ । स्थानीयले विद्युत्बाट निस्केको पानीलाई सिँचाइमा प्रयोग गरेर उत्पादन पनि बढाएका छन् । व्यावसायिक तरकारी खेती गरेका किसानले वार्षिक ४ देखि ७ लाख रुपैयाँसम्म कमाउन सकेको मिलीजुली कृषि समूहका अध्यक्ष शेरबहादुर श्रीषले बताए ।

प्रकाशित : आश्विन ११, २०७८ १२:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?