कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस अधिवेशन : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

आश गुरुङ

लमजुङ — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लमजुङको राइनास नगरपालिकामा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । मतपत्रसहित सिरियल नम्बरमा त्रुटि भेटिएको हो । मतदान प्रक्रिया स्थगित गरिएसँगै यसअघि मतदान गरिसकिएका र मतदान गरिनसकिएको मतपत्र जलाइएको छ ।

कांग्रेस अधिवेशन : राइनासको मतदान स्थगित, मतपत्र जलाइयो

सभापतिका लागि मतदान प्रक्रिया चलिरहेका बेला मतपत्रमा त्रुटि भेटिएपछि सभापतिका उम्मेदवार श्रीकृष्ण पौडेलले मतदान रोक्न माग गरेका थिए । उनीसहित सभापतिमा नुरराज कडरिया चुनावी मैदानमा थिए । मतपत्र जलाउने कार्यमा आफ्नो सहमति नभएको प्रत्यासी कडरियाले बताए ।

सभापतिका उम्मेदवारमध्ये पौडेलको आफ्नो मत संकेत ठीक चिह्न गर्ने ठाउँमा कोठा नै नभएको र दुवै उम्मेदवारको क्रमसंख्या एउटै १ भएपछि विरोध जनाएका थिए । कुल २ सय २ मतदाता रहेकोमा १ सय २३ मत खसेको थियो । शनिबार अपराह्न भएको मतदानका क्रममा मतपत्रमा त्रुटि देखिएपछि दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास गरिएकोमा सााझसम्म सहमति हुन नसकेपछि मतदान स्थगित गरिएको निर्वाचन अधिकृत दिनेश चिलुवालले बताए । उनका अनुसार खसेको मतपत्र र खस्न बाँकी मतपत्र सबै जलाइएको छ ।


कडरियापक्षका अनुसार पौडेलपक्षले जबर्जस्ती मतपत्र जलाएका थिए । पौडेलपक्षले भने आफूलाई चुनावमा हराउन षडयन्त्र गरेर मतपत्रमा चिह्न लगाउने कोठा नबनाएको र क्रमसंख्या एउटै बनाएको आरोप लगाएका छन् । राइनासमा अर्को सूचना जारी नभएसम्म अनश्चितकालका लागि मतदान प्रक्रिया स्थगित गरिएको छ ।

‘दुवै पक्षाका प्रतिनिधिलाई देखाएपछि मात्रै मतदान प्रक्रिया अघि बढाएका थियौं । सुरुमा विरोध भएन । पछि मतपत्रमा त्रुटि भेटियो,’ मतदान अधिकृत चिलुवालले, ‘अब कसरी अगाडि बढाउने र के गर्ने भन्ने जिम्मा निर्वाचन अधिकृत र पार्टीले निर्णय गर्छ ।’ सभापतिका उम्मेदवार दुवैले मतदान अधिकृतको त्रुटि देखिएको बताएका छन् ।

कांग्रेस सभापति भेषबहादुर पौडेलले छिट्टै मतदान हुने बताए । ‘हामी एक–दुई दिनमै पुन: मतदानको व्यवस्था मिलाउँछौं’ उनले भने ।

प्रकाशित : आश्विन १०, २०७८ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?