कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७०

आफैंले शिलान्यास गरेको भवन उद्घाटन गर्न देउवालाई १२ वर्षपछि ‘साइत’

पर्वत — कार्यकर्ता तथा शुभेच्छुकले चन्दा संकलन गरेर निर्माण थालेको १२ वर्षपछि पर्वत कांग्रेसको जिल्ला कार्यालय बीपी स्मृति भवन निर्माण सम्पन्न भएको छ ।

आफैंले शिलान्यास गरेको भवन उद्घाटन गर्न देउवालाई १२ वर्षपछि ‘साइत’

२०६६ कात्तिक ११ मा शेरबहादुर देउवाले शिलान्यास गरी निर्माण थालिएको भवन १२ वर्षपछि बिहीबार आफैं प्रधानमन्त्री हुँदा उद्घाटन गरे । डिजिटल प्रविधि जुममार्फत उद्घाटन गर्दै देउवाले पार्टी कार्यालयलाई सम्पूर्ण कांग्रेसको बिसौनीका रूपमा प्रयोग गर्न नेता तथा कार्यकर्तालाई सुझाव दिए । कुनै गुट र उपगुटले निर्माण गरेको भन्दा पनि एकताको चौतारीका रूपमा लिन आग्रह गर्दै निर्माण अधुरा रहेका जिल्लाका कार्यालय पनि छिट्टै निर्माण हुनेमा आशावादी रहेको बताए ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी र सबै कार्यकर्ता एक भएर लाग्ने हो भने मुलुकको ठूलो र संस्कार बसाल्ने पार्टी कांग्रेस नै हुने दाबी गरे । ‘अरू पार्टी फुटाएर हामी ठूलो हुन्छौं भन्ने सोच कसैमा भए त्यो त्याग्नुपर्छ,’ उनले भने, ‘हामी संस्कार सिकाउने पार्टी हो । अब पनि एकढिक्का भएर लोकतन्त्र र संस्कारबाटै हामी पहिलो शक्ति बन्नुपर्छ ।’ उनले लोकतान्त्रिक मूल्य मान्यता पछिल्लो समय नेपाली कांग्रेसमा हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरे ।

केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुन जोशीले पार्टीभित्र गुटबन्दीको अन्त्य गर्न आग्रह गरे । भवन निर्माणमा १ करोड ४७ लाख रुपैयाँ खर्च भएको निर्माण समितिले जनाएको छ । संघसंस्था, व्यक्ति तथा शुभेच्छुकबाट चन्दा संकलन गरिएको हो । हालसम्म संकलित रकममध्ये ६५ लाख रुपैयाँ बचत भएको र यसलाई एक करोड पुर्‍याएर अक्षयकोष स्थापना गर्ने योजना रहेको जिल्ला पार्टी सभापति खिमप्रसाद भुसालले बताए ।

प्रकाशित : आश्विन ८, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?