कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगर कार्यालय पुग्ने सडककै बेहाल

गोरखा — गोरखा नगरपालिकाको कार्यालय पुग्ने मुख्य सडक हिलाम्मे बन्दा चार महिनादेखि सवारी आवागमन प्रभावित बनेको छ । चार वर्षअघि कालोपत्रका लागि ठेक्का लागेको उक्त सडक ठेकेदारको लापरबाहीले नबनेको हो । सडक मर्मत नहुँदा सवारी गुड्न र पैदल आउजाउमा पनि मुस्किल रहेको स्थानीयको गुनासो छ । 

नगर कार्यालय पुग्ने सडककै बेहाल

खाल्डाखुल्डीले अत्यावश्यक सवारी आउजाउमा समेत समस्या आइपरेको गोरखा–८ का कृष्णबहादुर थापाले बताए । चार महिनादेखि ठेकेदारले सडक निर्माणका लागि मेसिन र सामग्री राखेर बाटो छेक्दा डेढ किलोमिटर सडक ठप्पजस्तै बनेको उनले बताए । नगरपालिका कार्यालय आउने सेवाग्राहीले बढी समस्या भोग्नुपरेको छ । सडक कालोपत्र चाँडो सक्न माग गर्दै यहाँका स्थानीय शनिबार विरोधमा उत्रिएका छन् ।

नगरपालिका कार्यालय पुग्ने डेढ किलोमिटर सडकले बर्सेनि सास्ती खेप्नपरेको गोरखा–८ का वडा अध्यक्ष कृष्ण केसीले बताए । ‘ठेक्का लगाएको खण्डमा पनि काम भएन, ठाउँ–ठाउँमा खाल्डो छ, बर्खामा हिलो, हिउँदमा धूलो,’ उनले भने, ‘अहिले ठेकेदारले एक्स्काभेटर, लोडर र ग्रेडरले बाटो छेकेर राखिदिएको चार महिना भयो । काम पनि हुँदैन ।’ स्थानीयका अनुसार खोलखोले–गोरखा नगरपालिका सडक करिब ८ वर्षअघि कालोपत्र भयो तर दुई वर्ष पनि टिकेन ।

उक्त सडक हाल संघीय सडक आयोजना एकाइ पोखराले ठेक्का लगाएको छ । ‘यो बाटोलाई नगरपालिकाले हेरेन भनेर धेरैले भन्नुहुन्छ, ठेक्का नपरेको भए गोरखा नगरपालिकाले गर्थ्यो,’ नगपरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले भनिन्, ‘संघको बजेट परेको छ, हेर्ने एकाइ पोखरामा छ, अनि बाटो हाम्रो स्थानीय तहमा । चाँडो काम सक्नका लागि धेरै पटक भनेका छौं, हामीलाई पनि टेर्दैनन् ।’ उक्त सडकअन्तर्गत करिब ३ सय ५० मिटर मात्र कालोपत्रको जिम्मा पाएको मिलिनियम कल्पवृक्ष जेभीका ठेकेदार हरि पन्त बताउँछन् । ‘पानी परेर कालोपत्र नगरेको हो, बेस हालिसकेको छ, पूरै सडक पनि होइन, जिम्मा पाएको जति दसैंअघि नै कालोपत्र हुन्छ,’ उनले भने ।

निर्माण व्यवसायीको ढिलाइले समयमा काम सम्पन्न हुन नसकेको संघीय सडक आयोजना कार्यान्वयन एकाइ पोखराका प्रमुख झपटबहादुर थापा स्विकार्छन् । ‘सम्झौताअनुसार अघिल्लो आर्थिक वर्षमा नै सकिनुपर्थ्यो । निर्माण व्यवसायीको ढिलाइका कारण काम सम्पन्न हुन सकेन,’ उनले भने । २०७६ मंसिरसम्म सक्ने लक्ष्य राखिएकोमा दुईपल्टसम्म म्याद थप हुँदा पनि सडक निर्माणले पूर्णता पाएन । उक्त सडक भएर गोरखा नगरपालिका, पूर्वाधार कार्यालय, वन कार्यालय पुग्ने सेवाग्राहीले समेत सडक नबन्दा सास्ती भोगेका छन् ।

सडक चौडा, रिटेनिङ वाल, ढलान र कालोपत्रेको कामका लागि ठेक्का लागेको थापाले बताए । ‘ग्राभेल र बेसको काम सकिएको छ,’ उनले भने, ‘अब कालोपत्रको काम सुरु गर्दै छौं ।’

प्रकाशित : आश्विन ४, २०७८ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?