कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

गोरखामा फैलँदै स्क्रब टाइफस

हरिराम उप्रेती

गोरखा — कोरोना संक्रमण केही मत्थर हुँदै जाँदा यहाँ भने स्क्रब टाइफस संक्रमित बढेका छन् । ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि जाँच गराउँदा आरुघाट गाउँपालिकामा पछिल्लो समय स्क्रब टाइफसका संक्रमित बढेका हुन् । दुई महिनायता २५ जनामा स्क्रब टाइफस संक्रमण देखिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए । 

गोरखामा फैलँदै स्क्रब टाइफस

‘कोभिड पनि छैन, कोभिडका जस्तै लक्षण छन्,’ उनले भने, ‘ज्वरो कन्ट्रोल नभएपछि ल्याबमा परीक्षण गराउँदा स्क्रब टाइफसको संक्रमण देखा पर्‍यो ।’ साउन पहिलो सातादेखि भदौ ३० सम्म २५ जनामा स्क्रब टाइफसको लक्षण देखिएको उनले बताए । एक वर्ष अघिदेखि आरुघाटस्थित आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा स्क्रब टाइफस जाँच हुँदै आएको थियो । मुसामा हुने किर्ना र उपियाँका टोकाइले रिकेडिसिया प्रजातिको कीटाणु मानिसमा सरेपछि स्क्रब टाइफसको संक्रमण देखिने आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर कृष्णहरि श्रेष्ठले बताए ।

‘पहिले–पहिले पनि फाट्टफुट्ट देखिन्थे, महिनामा १–२ वटा केसलाई सामान्य लिन्थ्यौं,’ श्रेष्ठले भने, ‘साउनयता स्क्रब टाइफस संक्रमण देखिने बढे, तीजताका ह्वात्तै बढ्यो । त्यो बेला एकै समयमा १०–१२ जना संक्रमित भएकामा अहिले घटे पनि संक्रमित हिजो–अस्तिसम्म उपचाररत हुनुहुन्थ्यो ।’ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचाररत दुई जनाको स्वास्थ्य अवस्था सुधार नआएपछि रेफरसमेत गरिएको उनले बताए । संक्रमण नियन्त्रण उन्मुख रहे पनि जोखिम नघटेको उनले बताए । परीक्षणको दायरा बढाउन दुई बक्स किट मगाएको केन्द्रले जनाएको छ ।

‘समयमै केस पहिचान नभई संक्रमण विस्तार हुँदै गए मानिसको मृत्युसम्म हुन्छ,’ उनले भने, ‘हाम्रोमा सबैको स्वास्थ्य सुधारोन्मुख छ ।’ स्क्रब टाइफसको संक्रमण देखिएका बिरामीको १०४ डिग्रीसम्म ज्वरो देखिएको उनले बताए । गाउँपालिकामा स्क्रब टाइफसका बिरामी बढेपछि स्वास्थ्य कार्यालय गोरखा र प्रदेश स्वास्थ्य निर्देशनालयमा पनि जानकारी गराएको श्रेष्ठले बताए । यसअघि फाट्टफुट्ट देखिने स्क्रब टाइफस आरुघाट गाउँपालिकामा बढेको स्वास्थ्य कार्यालय गोरखाकी प्रमुख विद्या तामाङले बताइन् ।

११ गाउँपालिकामध्ये आरुघाटबाहेक अन्य स्थानीय तहमा स्क्रब टाइफसको समस्या नदेखिएको उनले बताइन् । ‘आरुघाटबाट स्क्रब टाइफसका बिरामी भेटिए भनेर रिपोर्टिङ भइरहेको छ, अहिलेसम्म प्राथमिक स्वास्थ्य केन्द्रमै उपचार पनि भएका छन्, जटिल समस्या आएको छैन,’ उनले भने, ‘हामीले पनि निरन्तर फलोअप गरिरहेका छौं । पालिकाले किटको व्यवस्थापन गरेको छ । अपुग भए किटको व्यवस्थापन पनि गर्छौं ।’

कोभिड–१९ जस्तै स्क्रब टाइफस संक्रमितलाई उच्च ज्वरो आउने, खोकी लाग्ने, बान्ता, पेट दुखाइ, सास फेर्न गाह्रो हुने, मांसपेशी दुख्ने लक्षण पनि देखिन्छन् । तर प्राथमिक स्वास्थ्य केन्द्रमा आएकामध्ये अधिकांश टाउको दुख्ने र उच्च ज्वरो भएकाहरू रहेको श्रेष्ठले बताए । बेलैमा पहिचान गरेर उपचारपश्चात् औषधि सेवन गरे संक्रमित निको हुने चिकित्सक बताउँछन् ।

प्रकाशित : आश्विन ४, २०७८ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वटा महानगरको पुँजीगत खर्च ५० प्रतिशत पनि नबढेकोबारे तपाईंको टिप्पणी के छ ?

×