कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेवाताल मिच्नेलाई चैनले सुत्न दिँदैनौँ : वाईसीएल संयोजक देवकोटा

दीपक परियार

पोखरा — योङ कम्युनिस्ट लिग (वाईसीएल) संयोजक सुमन देवकोटाले पोखरामा फेवाताललगायत प्राकृतिक सम्पदा अतिक्रमण गर्नेलाई सडकमा ल्याउने चेतावनी दिएका छन् । प्रेस संगठन कास्कीले शनिबार पोखरामा गरेको पत्रकार सम्मेलनमा उनले फेवाताल मिच्नेहरूलाई चैनको निद्रा सुत्न नदिने चेतावनी दिए ।

फेवाताल मिच्नेलाई चैनले सुत्न दिँदैनौँ : वाईसीएल संयोजक देवकोटा

‘हाम्रो प्राकृतिक सम्पदा रक्षाको लागि हिजो पनि वाईसीएल अग्रपंक्तिमा लडेको थियो, आज पनि लड्छ, भोलि पनि लड्ने छ,’ उनले भने, ‘वाईसीएलले सौहाद्र्धपूर्ण हिसाबले हार्दिकताका साथ सरकारसँग माग गर्छ । माग सम्बोधन भएन भने प्राकृतिक सम्पदालाई आफ्नो निजी सम्पत्तिका रुपमा कब्जा गर्ने अपराधीलाई सडकमा निकाल्ने काम वाईसीएलले गर्छ ।’

सामाजिक अपराधविरुद्ध वाईसीएल आन्दोलनकारीको भूमिकामा प्रस्तुत हुने उनले बताए । प्रत्येक स्थानीय तहमा भएका भ्रष्टाचारलाई खोतल्न हरेक पालिकामा वाईसीएलले ‘स्पेसल टास्क फोर्स’ बनाउने योजना उनले सुनाए ।

‘प्रतिपक्षको भूमिका अत्यन्त तुच्छ’

पत्रकार सम्मेलनमा उनले यसअघिको सरकारले कोरोना महामारीमा गरेको भ्रष्टाचारका कारण अहिले देशमा चरम आर्थिक संकटको अवस्था आएको आरोप लगाए । प्रतिपक्षको हर्कतले महँगी २ देखि ३ सय प्रतिशतले बढेको दाबी उनले गरे ।

उनले संसद्मा अत्यन्त तुच्छ भूमिकामा प्रतिपक्ष देखिएको बताए । ‘कि संसदीय व्यवस्थाको खिल्ली उडाउँदै प्रश्न उठाउन सक्नुपर्‍यो । शासकीय स्वरूप बदल्ने माओवादीको एजेन्डामा साथ दिनपर्‍यो,’ उनले भने, ‘होइन भने, अहिलेकै व्यवस्थाबमोजिम चल्ने हो भने संसद् चल्न दिनुपर्‍यो । बजेट पास गर्न दिनुपर्‍यो ।’

संसदीय व्यवस्था पनि नछोड्ने र संसद् चल्न पनि नदिने अन्तरविरोधका बीच एमालेको भूमिकाले मुलुकलाई दुर्घटनातर्फ धकेल्ने उनको भनाइ थियो । संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्रलाई बचाउन जुनसुकै आन्दोलन गर्न वाईसीएल तयार रहेको उनको भनाइ थियो ।

युवालाई उत्पादनसँग जोड्ने गरी वाईसीएलले बनाएका विभिन्न योजनालाई साथ दिँदै अर्थमन्त्रीले बनाएका योजना कार्यान्वयनमा आफ्नो भूमिका रहने उनले उल्लेख गरे । ‘अब ठूल्ठूला बन्द उद्योग युवाले चलाउने गरी योजना बनाएका छौं,’ गण्डकी प्रदेशमा रहेका भृकुटी कागज कारखाना र गोरखकाली रबर उद्योगको उदाहरण दिँदै उनले भने, ‘उद्योग चलाएर हजारौं युवालाई रोजगारी दिन्छौं । उद्योगलाई आत्मनिर्भर बनाउँछौं । सरकारलाई नाफा पनि दिन्छौं ।’

प्रकाशित : आश्विन २, २०७८ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?