कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गण्डकीका मुख्यमन्त्री नेपालीद्वारा बाढी पहिराबाट पुगेको क्षतिबारे प्रदेशसभालाई जानकारी

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बाढी पहिराबाट पुगेको क्षतिबारे प्रदेशसभालाई जानकारी गराएका छन् ।

गण्डकीका मुख्यमन्त्री नेपालीद्वारा बाढी पहिराबाट पुगेको क्षतिबारे प्रदेशसभालाई जानकारी

प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्रीले विकास निर्माण, जलविद्युत् परियोजना, घर, गोठ लगायतमा ठूलो क्षति पुगेको बताए । भौतिक क्षतिको विवरण ११ वटै जिल्ला प्रशासन कार्यालय र ८५ वटै स्थानीय तहबाट आउनेक्रम जारी रहेको भन्दै उनले असार १ यता ५ सय २ घर, ५ सरकारी कार्यालय, ७ विद्यालय, ६ सामुदायिक भवन, २५ हाइड्रोपावर, ३६ पक्की पुलमा क्षति पुगेको बताए ।

यस्तै, १ सय ७६ वटा सडकमा क्षति हुँदा यातायात नै ठप्प भएको उनले जानकारी दिए । ‘विपद्को समयमा ७ सय ३१ घरका ३ हजार ७ सय ७० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छौं’, उनले भने, ‘१२ सय ५ घरका ४ हजार ७ सय ६५ जनालाई ७० लाख ६१ हजार ८ सय ९३ रुपैयाँबराबरको जिन्सी सामान र ४१ लाख ८५ हजार नगद गरी १ करोड २१ लख ४६ हजार ९ सय ७३ रुपैयाँ बराबरको राहत वितरण गरेका छौं ।’ असार १ देखि हालसम्म गण्डकीमा बाढी पहिराका कारण ३३ जनाले ज्यान गुमाएका छन् भने २ बेपत्ता र ४४ जना घाइते भएका छन् ।

विपद् व्यवस्थापनमा तीन तहकै सरकारले आ-आफ्नो जिम्मेवारी पूरा गरेको उनले बताए । विपद्‍‌मा ज्यान गुमाएका परिवारलाई संघीय सरकारले २ लाख र प्रदेशले ५० हजार रुपैयाँ राहत दिँदै आएको छ । यस्तै, बेपत्ताका परिवारलाई तत्कालीन राहत, खाद्यान्नका लागि प्रतिपरिवार १५ हजार, अस्थायी आवासका लागि २५ हजार र उपचार खर्च ५० हजार रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउँदै आएको छ ।

बाढीपहिरोका कारण घर पूर्णरुपमा क्षति भएमा प्रदेशले १ लाख रुपैयाँ दिने निर्णय पनि गरेको बताउँदै उनले दुर्गम र हिमाली जिल्लामा पूर्ण रुपमा क्षति भएका प्रतिघरलाई २ लाख रुपैयाँ दिने निर्णय गरेको बताए ।

बाढीपहिरोकै कारण गोरखाको चुमनुब्री र मनाङमा खाद्यान्न संकट भएपछि यसको व्यवस्था पनि सरकारले गरेको मुख्यमन्त्रीले बताए । उनका अनुसार अविरल वर्षाबाट हुने क्षति रोक्न प्रदेश सरकाले प्रदेशका ८५ वटै स्थानीय तहलाई ५/५ लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै, ११ वटै जिल्लामा ग्यावियन जालीका लागि २०/२० लाख रुपैयाँ उपलब्ध गराएको उनले जनाए ।

गण्डकी प्रदेशसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली । तस्बिर : प्रतीक्षा काफ्ले/कान्तिपुर ।

प्रकाशित : भाद्र २९, २०७८ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?