कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक खुलेसँगै हिमाली आलु र गाजर बजारमा

घनश्याम खड्का

म्याग्दी — मनसुन निष्क्रिय हुन थालेसँगै बेनी–जोमसोम सडकमा यातायात नियमित भएको छ । यसले मुस्ताङबाट गाजर र आलु सहर झार्न थालिएको छ । खाद्यान्न तथा निर्माण सामग्री बोकेर गएका ठूला तथा मिनी ट्रक मुस्ताङबाट आलु र गाँजर बोकेर तल ओर्लिएका छन् ।

मुस्ताङ सदरमुकाम रहेको घरपझोङ गाउँपालिका कृषि शाखा प्रमुख आइतबहादुर थकालीका अनुसार हातहातमा पैसा बोकेर गएका गाडीवाला/व्यापारीले कृषकको बारीबाटै आलु प्रतिकेजी ६० र गाँजर ४० रुपैयाँ मूल्यमा उठाउन थालेका छन् ।

गाजरको खास समय असार/साउनमा यातायात अवरुद्ध भएको र पर्यटक नआएपछि स्थानीय बजारमा समेत खपत नहुँदा कृषकको बारीमा फालाफाल हुँदा मुस्ताङमा गाँजरको मूल्य ह्वात्तै घटेको हो । थकालीका अनुसार मुस्ताङका कृषकको बारीमा सप्रिएको रायो साग उपयोग नहुँदा बारीमै खेर गएको छ । ‘मुस्ताङमा आलु खन्ने ठीक समयमा यातायात खुलेको र सहरमा यहाँको आलुको माग राम्रो रहेकोले कृषकलाई आलु बेच्न व्यापारी आवश्यक परेको छैन । सामान लिएर आएका गाडीवालाले नै उठाएका छन्’ घरपझोङ–१ मार्फाका कृषक/तरकारी संकलन रहेका सुशील थकालीले भने, ‘पर्यटक नआउँदा आन्तरिक बजारमा खपत घटेको तथा खन्ने मुख्य समयमा यातायात अवरुद्ध भएकोले मुस्ताङमा गाँजरको बिक्री नै छैन ।’

मुस्ताङमा प्रतिकेजी ६० रुपैयाँ मूल्य रहेको आलु ७६ किलोमिटर तल बेनीका उपभोक्ताको भान्सामा पुग्दा एकसय रुपैयाँ परेको छ । त्यस्तै मुस्ताङमा प्रतिकेजी ४० रुपैयाँ रहेको गाजर बेनीका ग्राहकको भान्सामा पुग्दा ९० देखि एक सय रुपैयाँ पर्छ । ‘कोरोना त्रासले मुस्ताङमा बाह्य मान्छे (ब्यापारी) लाई प्रवेश निषेध भएकोले मालबाहक गाडीवालाले मात्र मुस्ताङको आलु, गाजर ल्याउँछन् ।

अप्ठेरो बाटोका कारण हाम्रो खरिद नै महँगो पर्छ’ म्याग्दी सदरमुकाम बेनी पिपलचोकका तरकारी व्यापारी देवेन्द्र सुवेदीले भने, ‘मुस्ताङी सामान भन्ने बित्तिकै बजारमा माग ह्वात्तै बढ्छ । कृषक र हामी व्यापारीसम्म सोझो मूल्य र ढुवानी च्यानल नहुँदा बिचौलियाले बढी मुनाफा खान्छन्, उपभोक्ता मर्कामा पर्छन् ।’

स्याउका लागि प्रख्यात भए पनि मुस्ताङबाट स्याउको बगैंचामा भित्री बालीका रूपमा लगाइने आलु र गाँजरको पनि उत्तिकै मात्रामा तल सहरमा ढुवानी हुने गरेको छ । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङमा २ सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक आलु खेतीबाट ३ हजार ७ सय मेट्रिक टन आलु बाहिर बिक्री हुने गरेको छ । त्यसैगरी १९ हेक्टर क्षेत्रफलमा गरिने गाँजरको २ सय २० मेट्रिक टन बाहिर बिक्री हुने गरेको छ । तर गाँजरको ढुवानी

ठेकेदार/व्यापारी ऊर्जा तामाङका अनुसार अघिल्लो वर्ष मुस्ताङबाट ४ हजार टन गाजर बेनी, पोखरा, काठमाडौं र नारायणगढका बजारमा गएको थियो । ‘स्याउको बगानमा भित्री बालीको रूपमा खेती गरिने गाँजर मुस्ताङीको लुकेको आम्दानी हो । पोहोर मैले मात्र ४ हजार टन गाँजर झारेको हो । अहिले त माथि जान पाइँदैन, चिनजानको आधारमा मगाएको छु । हेरौं कति झर्छ’ तामाङले भने, ‘यो वर्ष सबैतिरका होटल बन्द रहेकोले आलु र गाँजरको माग पनि घटेको छ ।’

मुस्ताङका चिमाङ, ठिनी, मार्फा, सौरु, चोखोपानी, कोवाङ, टुक्चे, जोमसोम, कागवेनी, पाक्लिङ, लुप्रा, ताम्बे, लेते, घाँसालगायत गाउँमा आलु र गाँजरको व्यावसायिक उत्पादन हुन्छ । ‘मुस्ताङमा उत्पादित सबै वस्तुको राम्रो ब्रान्ड छ । मुस्ताङबाट स्याउबाहेक आलु, गाँजर, सिमी, फापर, रायो साग, खुर्पानी, आरु र दाँते ओखर समेत धेरै कृषि उपज सहरमा जाने गरेको छ’ कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले भने, ‘यी उत्पादन मुस्ताङको तल्लो बेल्टका घरपझोङ र थासाङ गाउँपालिकाको हो ।

प्रकाशित : भाद्र २८, २०७८ १२:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?