कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकीमा भिर खस्दा बस्तीमा छाल, घर भत्किएर तीन घाइते

घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–८ कालीपुलमा आइतबार राति पहिरो खस्दा तीन जना घाइते भएका छन् । घाइतेको बेनी अस्पतालमा उपचार भइरहेको छ । 
घाइतेमध्ये एक सन्तु पुन बेनी अस्पतालकै कर्मचारी हुन् । अन्य दुई जनाचाहिँ झोलामा हर्बल सामान बोकेर घुम्ती व्यापार गर्न निस्किएकाहरू हुन् । अरूको घरमा पाहुना लागेका उनीहरूको नाम खुलेको छैन ।

कालीगण्डकीमा भिर खस्दा बस्तीमा छाल, घर भत्किएर तीन घाइते

पर्वतको जलजला गाउँपालिका–४ मल्लाजको भिर भत्केर कालीगण्डकी नदीमा खस्दा बस्तीमा छाल पसेको थियो । उक्त पानीले कालीपुलको पुरानो बजारका कम्तीमा ६ घरमा क्षति पुर्‍याएको छ । स्थानीयका अनुसार स–साना पहिरो झर्न अझै रोकिएको छैन ।

‘राति दुई बजेपछि एक्कासि ढ्यांग आवाजसँगै पानीको छाल घरमाथि पर्‍यो । मेरा घरमा पाहुना बसेका दुई महिला र एक डेरा गरी बस्ने महिलालाई घर भत्केर च्यापिएको अवस्थामा उद्धार गर्‍यौं,’ मनिता गौचनले भनिन्, ‘बाबा, म र दाइ भाग्यौं । मेरा भाइहरू साथीको बर्थडे पार्टीमा गएकाले बाँचे । उनीहरू सुत्ने कोठा पूरै भत्केको छ ।’

पहिरो झरेपछि कालीपुलवासी बसपार्क क्षेत्रको माथिल्लो क्षेत्रमा आएर बसेका छन् । पानी पर्न रोकिएको छैन । स्थानीय बासिन्दा घरका सामान झिक्दै सुरक्षित स्थानतिर लैजाँदै छन् ।

जिल्लाका सबै सडक अवरुद्ध

अविरल वर्षापछि विभिन्न स्थानमा खसेकाे पहिरोले बेनी–जोमसोम, बेनी–दरवाङ र बेनी–बाग्लुङ सडकमा यातायात अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार बेनी–जोमसोम सडकको अन्नपूर्ण गाउँपालिका, ३ दानाको गुइठे र काप्रेभीर, बेनी नगरपालिका–४ फापरखेतको घुमाउने पहिरो र मालिका– ६ बाङ्गे पहिरोमा लेदो खसी आइतबार बिहानदेखि नै यातायात अवरुद्ध छ । त्यस्तै बेनी–बाग्लुङ सडक पनि बेनी नगरपालिका–२ भसभसेमा खसेको पहिरोले थुनिएको छ ।

प्रकाशित : भाद्र १४, २०७८ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?