१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

बेनी अस्पतालमा बालबालिका विशेष वार्ड बनाइँदै

बेनी अस्पतालले तेस्रो लहर रोकथामका लागि थाल्यो पूर्वतयारी

म्याग्दी — कोरोनाको सम्भावित तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ । अबको लहरबाट बालबालिका प्रभावित हुन सक्ने भन्दै कोरोना अस्पतालसमेत रहेको बेनी अस्पतालमा छुट्टै ५ बेड क्षमताको बालबालिका विशेष वार्ड बनाउने तयारी भएको छ । 

बेनी अस्पतालमा बालबालिका विशेष वार्ड बनाइँदै

त्यसै गरी अस्पतालमा रहेको २५ बेडको आइसोलेसन सेन्टर विस्तार गरी पाइपबाट अक्सिजनजडित १८ बेड थप गरी ५० बेडको बनाइएको छ । अस्पतालमा २ सय २७ हाइस्पिड (४० लिटर) क्षमताका अक्सिजन सिलिन्डर भर्ने काम भइरहेको छ । अर्को एक सयभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर व्यवस्था गरिएको अस्पतालका मेसु डा. जीतेन्द्र कँडेलले बताए । ‘कोरोना संक्रमणको सम्भावित तेस्रो लहरको सामना गर्न तयारी गरिरहेका छौं । आइसोलेसनमा बेड क्षमता वृद्धि गर्ने, डाक्टरसमेत स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने, अक्सिजनको जोहो गरिरहेका छौं’ उनले भने, ‘अब बालबालिकालाई पनि प्रभावित गर्ने आकलन गरी ५ बेड क्षमताको वार्ड बनाउँदै छौं ।’

निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढेको र स्वास्थ्य सावधानी पनि खुकुलो भएपछि मास्क अनिवार्य गराउन जनचेतना फैलाउने अभियान तीव्र पारिएको छ । ‘जिल्लाभर मास्क लगाउन र स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गराउन जनचेतनामूलक अभियान सुरु गरिएको छ । अर्कोतर्फ स्मार्ट लकडाउनको अवधारणामा छलफल पनि भइरहेको छ’ प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले भने ‘मास्क अभियान एक सातादेखि निरन्तर छ । जिल्लाका कोरोना अस्पतालमा वेड क्षमता अपग्रेड गराउन अध्ययन थालेका छौं ।’

जिल्लामा कोरोना संक्रमण बढेसँगै स्वास्थ्य कार्यालयले प्रभावित क्षेत्र अनुसार गरिने स्मार्ट लकडाउनको तयारी थालेको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी गणेश सुवेदीका अनुसार पछिल्लो एक सातामा जिल्लामा कोरोना संक्रणको अनुपात ४० प्रतिशत छ । पछिल्लो एक सातामा २ सय ८७ को एन्टिजेन र पीसीआर परीक्षण गर्दा १ सय १६ मा संक्रमण पुष्टि भएको छ । बिहीबार दिउँसो ४ बजेसम्म १ सय २२ जना सक्रिय संक्रमित पुगेका छन् । हालसम्म ३ हजार ६६ जना संक्रमित भए । कोरोनाबाट ७५ जना जिल्लावासीले ज्यान गुमाइसकेका छन् ।

१ लाख १३ हजार जनसंख्या रहेको जिल्लामा हालसम्म १८ वर्षमाथिका १७ हजार ५ सयले कोरोनाविरुद्धको खोपको दुवै मात्रा पाएका छन् । १२ हजारभन्दा बढीले पहिलो डोज मात्र लगाएका छन् । ‘खोप पाउने अनुमानित लक्षित जनसंख्या १ लाख १० हजार २ सय ४१ जना हो,’ जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले भने, ‘सदरमुकाम बेनीमा फाट्टफुट्टबाहेक खोप लगाउने लक्षित सबै समूहले व्यवस्थित रूपमा खोप पाएका छन् । भ्याक्सिन जिल्लामै थोरै आएको हो । भ्याक्सिनको संख्या बढे हामीले सोहीअनुसार खोप लगाउन सक्छौं ।’

प्रकाशित : भाद्र ४, २०७८ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?