कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

भूकम्पले ढलेका घर निर्माणमा अझै ढिलाइ

लाभग्राहीले ग्रामीण वस्तु प्रयोग गरी घर बनाउँदा प्राधिकरणले दिएन स्वीकृति 
नवलपरासीमा भने झन्डै सबै घर बने
गण्डकी प्रदेश ब्युरो

पोखरा — गोरखा, बारपाक केन्द्रबिन्दु भएर २०७२ वैशाखमा गएको भूकम्पबाट कम प्रभावित भएपनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा निजी घर निर्माण भने अझै सकिएको छैन । सुरुमा पुनर्निर्माण प्राधिकरणले प्राविधिक नपठाउँदा जगै हाल्न ढिला भयो । कतिपय बनाइसकेका घरको मापदण्ड नपुगेको भन्दै भुक्तानी रोकिएको छ । घर पुनर्निर्माणका लागि सरकारले ३ किस्तामा गरी ३ लाख रुपैयाँ अनुदान दिएको हो । 

भूकम्पले ढलेका घर निर्माणमा अझै ढिलाइ

बागलुङमा २ हजार ४ सय ५२ घर पुनर्निर्माण गर्नुपर्ने सूचीमा भए पनि ६ वर्ष बित्दा अझै ५ सय घर बन्न बाँकी छन् । सामान्य त्रुटि देखाएर पुनर्निर्माण प्राधिकरणले भुक्तानी नदिएपछि कतिपय घर बनिसकेर पनि अन्तिम किस्ता पाएका छैनन । धुरी छाउन लगाइने ‘पुतली गारो’ बनाएका कारण घर सम्पन्नको भुक्तानी नदिँदा पीडित बनेको लाभग्राहीले गुनासो गरे । ‘घर बनाइसकेको थिएँ, दुईपाखे घरमा पुतली गारो लगाएकै कारण भुक्तानी भएन’ बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले भने, ‘ऋण लागेको छ, प्राधिकरणले भने भुक्तानी पाउन बनाइएको भित्ता भत्काउनुपर्ने सर्त राखेको छ ।’ दोस्रो किस्ता पाएर मापदण्डअनुसारकै काम गरे पनि छाउँदाको पुतली गारो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगति र भुक्तानी रोकेको हो । ‘प्राविधिक आउन ढिला भयो, तर छिटो घर बनाएको भन्दै भुक्तानी रोकेका छन्,’ जैमिनी नगरपालिका–१ का प्रेमबहादुर क्षेत्रीले भने, ‘तोकेको समयमा प्राविधिक आउँदैनन्, खोजेको खेतालो फर्काउने कि काम गर्ने ?’ उनले पनि तेस्रो किस्ताको रकम नपाएको जनाए ।

प्राधिकरणको तथ्यांकमा अझै २८ प्रतिशत घर बन्न बाँकी छ । ‘सामान्य त्रुटि सच्याउने हो भने प्रगति पनि हुने, घर पनि बन्नेछ’ ताराखोलाका एक लाभग्राहीले भने, ‘स्थानीय ढुंगाले घर छाएकै कारण भुक्तानी पाइएन ।’ घर बनिसकेको र जस्तापाता नै लगाउनुपर्ने भन्दै प्राधिकरणले भुक्तानी नदिएको उनको गुनासो छ । ‘लाभग्राहीले गाउँकै उत्पादन प्रयोग गरेर घर बनाए, प्राधिकरणले स्वीकृति दिएन,’ ताराखोला गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले भनिन्, ‘गाउँपालिकाको आफ्नै मापदण्ड छ, स्थानीय उत्पादन प्रयोग गरेकै कारण भुक्तानी नपाउनु अन्याय भयो ।’ अझै ५ सय घर निर्माण सम्पन्न हुन बाँकी रहेको प्राधिकरणको जिल्ला कार्यालयकी निमित्त प्रमुख रेणुका पाण्डेले बताइन् । पाण्डेका अनुसार २ सय ४४ घर निर्माणाधीन छन् । अहिले पनि ५७ घरले पहिलो किस्तासमेत लगेका छैनन् । २ सय १ घरले सम्झौता नगरेकाले लाभग्राहीबाट हटाइएको छ ।

म्याग्दीका १ हजार ६५ घरमध्ये हालसम्म ७१ प्रतिशत मात्र पुनर्निर्माण भएका छन् । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार ९ सय ८४ लाभग्राहीले अनुदानका लागि सम्झौता गरी पहिलो किस्ता लगेका थिए । ८१ घरले आयोजनाले स्वीकृत गरेको घरको मोडेल उपयुक्त नभएको र अनुदानको रकमले घर नबन्ने भन्दै आवास पुनर्निर्माण सम्झैता नै गरेनन् । पहिलो किस्ता लगेकामध्ये असार मसान्तसम्म ७ सय ५५ लाभग्राहीले घर बनाए । ३ भूमिहीन परिवारले घडेरी खरिद गर्न थप २ लाख रुपैयाँ अनुदान पाए । पहिलो किस्ता रकम लगेर घर नबनाउने २ सय ७ मध्ये २ जनाले रकम फिर्ता गरे । ‘भूकम्पप्रतिरोधी घर बनाउँछौं भन्दा मोडेल फेर्न दिएनन्, लिएको रकम फिर्ता गर्नुभन्दा बलपूर्वक घर बनायौं,’ अन्नपूर्ण–६ घारका सागर खड्काले भने, ‘राज्यले घर बनाउन यत्रो खर्च गर्‍यो तर कसैले पनि बनेका घरमा चित्त बुझाएका छैनन् ।’ घर बनाउन तेस्रो किस्ता पाउन बाँकी लाभग्राहीमध्ये केहीको बैंकको केवाईसी अपडेट नभएकाले रकम फिर्ता भएको छ । केही मापदण्डको पूर्ण पालना नभएकाले आगामी कात्तिकसम्म सुधार गर्ने प्रतिबद्धता गराएर पनि निकासा दिने तयारी भएको उल्लेख गर्दै इकाइ प्रमुख आकांक्षा रिजालले भनिन्, ‘पहिलो किस्ता लिएर सम्पर्कविहीन भएकाको हकमा स्थानीय तहमार्फत सेवा सुविधा रोक्का गरी रकम असुलउपर गर्ने प्रक्रियामा छौं ।’ जिल्लामा २०७४ मंसिरदेखि घर पुनर्निर्माणको काम सुरु भएको थियो ।

पर्वतमा भत्किएका करिब ६ हजार घरमध्ये कतिपयले पहिलो किस्ता लगेपछि घर बनाएको पूर्ण विवरण पेस नगर्दा दोस्रो र तेस्रो किस्ता लिएका छैनन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयका अनुसार पूर्ण क्षतिको सूचीमा परेका घरको संख्या ५ हजार ९ सय २४ रहेकामा निर्माणका लागि सम्झौता गर्नेको संख्या ५ हजार ८ सय ७९ थियो । पूर्ण क्षतिमा परेकामध्ये ३ सय ८८ जनाले निवेदनै दिएनन् । आंशिक क्षति भएर प्रबलीकरणका लागि निवेदन दिनेको संख्या ३ सय ४३ थियो । त्यसमा २ सय १४ जनाले मात्रै पहिलो किस्ता रकम बुझेका छन् । दोस्रो किस्ता रकम लिन एक जना पनि नआएको कार्यालयले जनाएको छ ।

अझै १ हजार ५ सय २ जनाले घर बनाउन बाँकी छ । पुनर्निर्माणमा सहभागीमध्ये ४ हजार ७ सय १२ जनाले दोस्रो किस्ता रकम लिएका छन् । कार्यालयका सूचना अधिकारी पोषनाथ शर्माका अनुसार घर निर्माणका लागि पहिलो किस्ता लगेका कतिपय लाभग्राही सम्पर्कमा आएका छैनन् । केहीले दोस्रो किस्ता लगेर हराए । घर बनाएकाले पनि प्राविधिक विवरण पेस गर्न नसक्दा तेस्रो तथा अन्तिम किस्ता रकम लिन आएका छैनन् । कतिपयले प्राधिकरणको मापदण्डअनुसारका घर बनाउन नसकेका कारण भुक्तानी दिन समस्या छ । कतिपय घर निर्माण सम्पन्न भएर पनि प्राविधिक मूल्यांकन हुन नसक्दा भुक्तानी लिन समस्या छ ।

बढी क्षति भएका कतिपय गाउँमा भूकम्पप्रतिरोधी मापदण्ड आउनुअघि नै बनेका घरका कारण दोस्रो र तेस्रो किस्ता रकम लिन समस्या भएको छ । बिहादी–६ का नीलकण्ठ भट्टराईले घर निर्माण सकिएको ४ वर्षसम्म पनि दोस्रो र तेस्रो किस्ता रकम नपाएको गुनासो गरे । ‘चार/पाँच पटक गाउँपालिकामा पुगें । घर अग्लो भयो भनेर प्राविधिकले मूल्यांकन गरेका छैनन्,’ उनले भने । नयाँ मापदण्ड आउनुअघि निर्माण भएको घरको उचाइ अग्लो भएकै कारण प्राविधिकले पुनर्मूल्यांकन नगर्दा तेस्रो किस्ता रकम नपाएका कैयौं परिवार रहेको उनले बताए । सम्झौता गरेकामध्ये १३ परिवारले घर निर्माण गर्न नसकेपछि पहिलो किस्ता फिर्ता गरेका थिए । कतिपयले आंशिक क्षति भएको विवरण पेस गरेको भए पनि मर्मत गर्ने क्रममा घर भत्किएपछि पूर्ण क्षतिमा परिवर्तन गरेका छन् । प्रबलीकरण हुन नसकेका घर पुनर्निर्माण गर्ने लाभग्राहीको संख्या ३ सय ४८ छ ।

तनहुँमा असार मसान्तसम्म ८१ प्रतिशत घर बनेको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । जिल्लाभर पूर्ण क्षति पुगेका १४ हजार ८ सय ५४ मध्ये ११ हजार ४ सय ९५ लाभग्राहीले तेस्रो किस्ता लगेर घर सम्पन्न गरेको कार्यालयका निमित्त प्रमुख जयप्रकाश गुप्ताले बताए । उनले भने, ‘पूर्ण क्षतिमध्ये १४ हजार १ सय ३९ जनाले पहिलो किस्ता र १२ हजार २ सय २८ ले दोस्रो किस्ता लगिसकेका छन् ।’ उनका अनुसार आंशिक क्षति भएका १ हजार १ सय ३४ जनाको घरमध्ये ८ सय ४ जनाले पहिलो किस्ता र १० जनाले दोस्रो किस्ता लगिसकेका छन् ।

‘अनुदान रकम केही लाभग्राहीले राहत बुझेर अन्य कुरामा खर्च गरिदिँदा पनि केही घर नबनेको हो,’ गुप्ताले भने, ‘केही लाभग्राही आर्थिक र शारीरिक रूपमा कमजोर हुँदा पनि घर बनेका छैनन् ।’ सर्वेक्षणमा लाभग्राहीमा नपरेका ६ सय ६३ जनाले पुनरावेदन दिएकामा २१ जना लाभग्राही कायम भएका छन् । ४ सय ४१ जना लाभग्राही आंशिकबाट पूर्ण क्षतिमा कायम भएर आएको कार्यालयले जनाएको छ । यस्तै, एकल महिला, ज्येष्ठ नागरिकलगायत जोखिम वर्गका १९ लाभग्राहीलाई घर पुनर्निर्माणका लागि थप ५० हजार दिइएको छ । किस्ता लगेका तर घर नबनाएका ११ जनाले राजीखुसी बैंकमार्फत रकम फिर्ता गरेको कार्यालयका सूचना व्यवस्थापन विज्ञ इ.माधवप्रसाद बन्जाडेले बताए ।

पूर्वी र पश्चिम नवलपरासीमा करिब ९९ प्रतिशत घर बनेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ बर्दघाट सुस्ता पूर्वले ९८ दशमलव ८२ प्रतिशत काम सम्पन्न गरेको जनाएको छ । दुवै जिल्लामा काम गर्दै आएको इकाइका अनुसार भूकम्पले १ हजार ९९ घर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थिए । त्यसमा १ हजार ८६ घर बनेको इकाइ प्रमुख राजेन्द्र कार्कीले बताए । ‘लाभग्राही र स्थानीय तहको तत्परताका कारण पुनर्निर्माणको काममा सहयोग पुग्यो,’ कार्कीले भने, ‘विद्यालय र अन्य पुनर्निर्माणको काम पनि भइरहेको छ ।’ पूर्वी नवलपरासीमा १३ लाभग्राही सम्पर्कमा आएनन् । प्रबलीकरणअन्तर्गत ११ जनाले अनुदान लिएका छन् ।

लमजुङमा कुल लाभग्राहीमध्ये एक चौथाइले घर बनाउन बाँकी छ । ६ वर्षको अवधिमा तीन चौथाइ लाभग्राहीको घर बनेका हुन् । ४ हजार १ सय ८३ घर नबनेका हुन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन र स्थानीय पूर्वाधार) कार्यालयका अनुसार कुल लाभग्राही १५ हजार ५ सय ७६ जनामध्ये १४ हजार ६ सय २७ जनाले पहिलो किस्ता लिएका छन् । यीमध्ये २४ जनाले पहिलो किस्ता फिर्ता गरे । ९ सय २५ ले पहिलो किस्ताको ५० हजार रुपैयाँसमेत लगेका छैनन् । उनीहरूले सम्झौता गरेनन् । कार्यालय प्रमुख सूर्यप्रसाद शर्माका अनुसार कुल लाभग्राहीमध्ये १२ हजार ६६ जनाले दोस्रो किस्ता लिएका छन् । २ हजार ५ सय ६१ अर्थात् १७ दशमलव ५० प्रतिशतले दोस्रो किस्ता अर्थात् डेढ लाख रुपैयाँ लिएका छैनन् । दोस्रो किस्ता नलिनेले तेस्रो किस्ताबापतको १ लाख किस्ता लिने कुरा आउँदैन । ‘अधिकांशले पहिलो किस्ता लिएर घर नबनाएको देखिन्छ,’ उनले भने ।

कुल लाभग्राहीमध्ये १० हजार ४ सय ४४ जना अर्थात् ७४ प्रतिशतले मात्रै तेस्रो किस्ता लिएको देखिन्छ । अझै २६ प्रतिशत घर निर्माणाधीन अवस्थामा देखिन्छ । पहिलो किस्ताबापत ५० हजार लिएर दोस्रो किस्ता नलिनेले घर पुनर्निर्माण नगरेको अनुमान गर्दा १ हजार ६ सय २२ जनाको घर पुनर्निर्माण भइरहेको देखिन्छ । प्रबलीकरण लाभग्राही ६ सय ९० छन् । प्रबलीकरणबाट पुनरावेदन गरी पुनर्निर्माण लाभग्राहीमा परेका २ सय ४ छन् । पुनरावेदनबाट पुनर्निर्माण लाभग्राहीमा परेका १६ र प्रबलीकरणमा १४ जना परेका छन् । यीमध्ये प्रबलीकरणमा परेका ५ सय ७७ जनाले पहिलो किस्ता ५० हजार रुपैयाँ लगेका छन् । प्रबलीकरणबाट पुनरावेदन गरी पुनर्निर्माणमा परेका ५० जनाले दोस्रो किस्ता पाइसकेका छन् । दुई जनाले दोस्रो किस्ताको डेढ लाखसहित २४ लाभग्राहीले पहिलो किस्ताबापतको ५० हजार फिर्ता गरेका छन् ।

– प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), अगन्धर तिवारी (पर्वत), सम्झना रसाइली (तनहुँ), नवीन पौडेल (परासी) र आश गुरुङ (लमजुङ)

प्रकाशित : श्रावण २९, २०७८ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?