कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कागजमा प्रगति, फिल्डमा सधैंको दुर्गति

सडक डिभिजनको वित्तीय प्रगति ८० प्रतिशतसम्म तर अधिकांश सडक सञ्चालनमा छैनन्
प्रकाश बराल

बागलुङ — आर्थिक वर्ष २०७७/७८ मा सडक डिभिजन कार्यालयको वित्तीय प्रगति ७९ प्रतिशत छ । सडककै क्षेत्रमा काम गर्ने पूर्वाधार विकास कार्यालयको पनि ७७ प्रतिशत प्रगति देखिन्छ । तर यी दुवै कार्यालयले काम गरिरहेका अधिकांश सडक वर्षात्मा ठप्पै छन् ।

कागजमा प्रगति, फिल्डमा सधैंको दुर्गति

कार्यालयले ७४ करोड ६४ लाख बजेटमा असार मसान्तसम्म ५८ लाख ८३ हजार रुपैयाँ खर्चेको थियो । तर सडक डिभिजनबाट काम भइरहेका कुनै पनि सडकमा वर्षात्मा गाडी चलेका छैनन् । कालीगण्डकी करिडोर एक महिनादेखि पटक–पटक बन्द भइरहेको छ ।

सडक डिभिजनले काम गरिरहेको मालढुंगा कुश्मीसेरा सडक एक महिनादेखि बन्द छ । असार पहिलो साता शाखा सडकबाट खसेको पहिरो अहिलेसम्म हटेको छैन । सडकमै खोला बगेपछि मानिसको आउजाउसमेत कठिन छ । पैदल यात्रीले सास्ती खेपेका छन् । ‘जैमिनी र बरेङ जाने बाटो ठप्पै छ’ जैमिनी–१० का अध्यक्ष नरबहादुर थापाले भने, ‘जनताले सास्ती खेपेका छन्, सरकारी निकाय मौन छन् ।’

सडक डिभिजनबाटै निसीखोलाको जुग्जाखोलादेखि प्यूठान सिमाना जोड्ने सडक पनि अहिले ठप्प छ । पहिरोले धेरै घर जोखिममा परेका छन् । ‘वर्षा सुरु भएपछि सडक मर्मत गरिदिने, पहिरो नियन्त्रण गर्ने जस्ता काम भने भएका छैनन्,’ स्थानीय सुन्तली कार्कीले भनिन्, ‘पहिरोले पैदल बाटा पनि क्षतविक्षत भएका छन् ।’ यो क्षेत्रका अधिकांशले बुर्तिवाङ झरेर मात्रै खाद्यान्न र दैनिक उपभोग्य वस्तु लैजान्छन् ।

सडक डिभिजनले काम गरिरहेको बुर्तिवाङदेखि तमान लामेला सडक पनि अहिले सञ्चालनमा छैन । पहिरो धेरै खसेको र बाटो हिलाम्मे भएकाले सवारी चलाउन नसकिएको स्थानीयले बताए । किनमेलका लागि स्थानीय म्याग्दीको दरबाङ पुग्छन् । बेलाबेला मर्मत गरेर जिप चलाउन खोजे पनि पानी परेपछि समस्या ज्युँका त्युँ हुने गरेको वडाध्यक्ष उदिम छन्त्यालले बताए ।

पूर्वाधार विकास कार्यालयले निर्माण गरिरहेका सडक पनि त्यस्तै छन् । ढोरपाटन–६ को गाडीखोलादेखि चामेद्वार हुँदै छेन्तुङ जाने सडक सञ्चालनमा छैन । ढोरपाटन सिकार आरक्ष नजिकै ५ किमि खण्ड आईईई हुनै बाँकी छ । अन्य खण्डमा पनि पहिरो खसेपछि सवारी ठप्पै भएको स्थानीय टेकमाया बुढाले बताइन् । ‘पहिरोले गाउँसमेत जोखिममा छन्, सवारी चढेर यात्रा गर्ने अवस्था छैन,’ बुढाले भनिन्, ‘बुर्तिवाङसम्म झर्नेले पैदलै यात्रा गर्नुपर्छ ।’ यहाँका बासिन्दाले बुर्तिवाङ पुगेर किनमेल गरी घर फर्कंदा दिनै बित्छ ।

सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर मुकुन्दप्रसाद लामिछानेले सडक खुलाउने प्रयास भइरहेको बताए । ‘हामीले सकेसम्म पहिरो पन्छाउने काम गरिरहेका छौं तर अधिकांश ठेक्कामा गएकाले ठेकेदारकै काम हो,’ लामिछानेले भने, ‘वर्षात्मा बाढीपहिरो भइरहन्छ ।’ उनले कालीगण्डकी करिडोरको केही खण्डमा नाली निर्माण गर्ने र खसेका पहिरो पन्छाउने काम भने कार्यालयले अगुवाइ गरेको दाबी गरे । करिडोर भने तीन सातादेखि पटकपटक बन्द भएर यात्रीले सामान ढुवानी गर्नसमेत पाएका छैनन् । ‘सदरमुकाम आउने दुईवटा सडक ठप्प भएकाले पर्वतको सदरमुकाम कुश्मा पुगेर घुमाउरो बाटो आउनुपर्‍यो,’ जैमिनी–१ का लक्ष्मण आचार्यले भने, ‘यो वर्ष त सडक कालोपत्र भएको थियो, तर एक–दुई वटा पहिरो हटाउन नसक्दा फेरि सास्ती भयो ।’

लामिछानेले भने कतिपय काम ठेकेदार र करिडोर आयोजनाकै भएकाले केही गर्न नसकेको दाबी गरे । कोरोना संक्रमण र निषेधाज्ञाका बीच पनि पूर्वाधारको कामको कागजी प्रगति भने सकारात्मक देखिएको प्रमुख कोष नियन्त्रक ज्ञानेन्द्रराज ओझाले बताए । ‘८० प्रतिशतसम्म खर्च देखिनु राम्रो काम हो, फिल्डमा के भएको छ त्यो अनुगमन भने प्रभावकारी हुनुपर्छ,’ ओझाले भने ।

प्रकाशित : श्रावण १९, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?