कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहमा आफ्नै पाठ्यक्रम पढाइ

केही पालिकामा सुरू, कतै बनाउँदै, विद्यार्थीले आफ्नै गाउँघरका विषय पढ्न पाए
गण्डकी प्रदेश ब्युरो

पोखरा — संविधानले आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय तहलाई दिएको छ । सोही एकल अधिकारलाई आत्मसात् गर्दै स्थानीय तहले शिक्षा ऐन बनाइरहेका छन् । ऐनसँगै गण्डकी प्रदेशका विभिन्न स्थानीय तहले आफ्नो भूगोल, जातजाति र भाषाअनुसारको स्थानीय पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउन थालेका छन् । केहीले पाठ्यक्रम निर्माण अन्तिम चरणमा पुर्‍याएका छन् भने कतिपयले प्रक्रिया थालेका छन् । 

स्थानीय तहमा आफ्नै पाठ्यक्रम पढाइ

बागलुङको तमानखोला गाउँपालिकाले ‘मेरो तमानखोला’ नामक स्थानीय पुस्तक बनाएर पढाउन थालेको छ । एकदेखि ५ कक्षासम्म एक/एक विषय स्थानीय पाठ्यक्रम बनाई चालु शैक्षिक सत्रदेखि पढाइ सुरु गरेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

यस पाठ्यक्रमको १ सय पूर्णांक भार दिइएको गाउँ शिक्षा अधिकारी पुरन घर्तीले बताए । पढाइको माध्यम नेपाली भाषा छ । ‘गाउँमा सिंहदरबार मात्र हैन, गुणस्तर र अपनत्व विकास पनि गरेका छौं,’ उनले भने । अध्यक्ष बुढाको संयोजकत्वमा गठित ७ सदस्यीय समितिले मस्यौदालाई परिमार्जनसहित अन्तिम रूप दिएर पुस्तक छापेको हो ।

सुरुमा विज्ञ, प्राध्यापक र सामाजिक व्यक्तिको सुझाव मागिएको थियो । यो पाठ्यक्रमबाट बालबालिकाले गाउँघरको विषय पढ्न पाएपछि अपनत्व लिनेसमेत घर्तीले बताए । भौगोलिक कठिनाइ र जातीय बसोबासले तमानखोला विशेष क्षेत्रमा सूचीकृत छ ।

यहाँ छन्त्याल, मगर र दलित समुदायको बाहुल्य छ । वर्षौंअघि छन्त्यालले खानी निकाल्ने काम गर्थे । पालिकाभित्र खुंखानी, नर्जाखानी, भुंखानीजस्ता खानीसँग जोडिएका बस्ती छन् । तामाखानी निकालिएका धाउ र खाडल अहिले पनि भेटिन्छन् । पाठ्यक्रममा ती विषय समावेश गरिएको छ ।

पाठ्यक्रमलाई अनिवार्य र ऐच्छिक दुई खण्ड बनाइएको छ । अनिवार्यतर्फ गाउँपालिकाको राजनीतिक संरचना, जनसंख्या, ऐतिहासिक स्थल र व्यक्तित्वको जीवनी समावेश छ । भूगोल, हावापानीजस्ता विषय पनि छन् । ऐच्छिकतर्फ भने विभिन्न पेसा, व्यवसाय, जडीबुटी, माछापालन, च्याउखेती र तरकारीलाई राखिएको छ । ‘पर्यटन शीर्षकमा काठमाडौं, पोखरा, सौराहा र लुम्बिनी पढ्नेले अब स्थानीय सोलेडाँडा, बराहताल र ढोरपाटन पढ्न पाउनेछन्,’ घर्तीले भने, ‘बिहान–बेलुकी देखेको भेडीगोठको विषयले पेसा व्यवसाय बुझ्न सजिलो हुनेछ ।’

सदरमुकामदेखि १ सय २० किलोमिटर पश्चिमको तमानखोलामा जिल्लाबाट समयमा पाठ्यक्रम पुग्दैनथ्यो । ‘यो अवसरले शिक्षाको विकासमा ठूलो योगदान पुग्नेछ,’ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख कुश्मराज उपाध्यायले भने, ‘संघीयताको मर्मअनुसारको काम भएको छ ।’ पाठ्यक्रममा स्थानीय फलामबाट पुल बनेका विषय पनि समावेश छ ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकाले ७ सदस्यीय समितिमार्फत स्थानीय पाठ्यक्रम बनाउन अध्ययन थालेको शिक्षा अधिकारी धनप्रसाद पोखरेलले बताए । ‘विज्ञ क्षेत्रबाट सामग्री संकलन गर्न भनेका छौं,’ पोखरेलले भने, ‘यो शैक्षिक सत्रको अन्त्यसम्ममा पाठ्यक्रम बनाउने योजना छ ।’ अन्य पालिकाले पनि प्रक्रिया अघि बढाएका छन् ।

म्याग्दीका स्थानीय तहले पनि स्थानीय पाठ्यक्रम बनाई पठनपाठन थालेका छन् । जिल्लाका ६ स्थानीय तहमध्ये बेनी नगरपालिकाले ३ वर्षअघि स्थानीय पाठ्यक्रम तयार पारी गत शैक्षिक सत्रदेखि एक र चालु शैक्षिक सत्रदेखि २ कक्षामा पढाउन थालेको छ ।

‘पहिलो वर्षको पाठ्यक्रमका त्रुटि सच्याउँदै चालु शैक्षिक सत्रमा कक्षा २ मा पनि स्थानीय तहमा निर्मित पाठ्यपुस्तक पढाउन थालेका छौं,’ बेनीका नगर शिक्षा अधिकृत अर्जुन पौडेलले भने, ‘स्थानीय परिवेशमा आधारित पाठ्यक्रममा समावेश विषयवस्तु, शब्द र भाषा बालबालिकालाई बुझाउन अलि गाह्रो भएको सुझाव आएको छ । आगामी शैक्षिक सत्रबाट सुधार गर्दै लगिनेछ ।’ नगरले एक कक्षाका लागि तयार पारेको पाठ्यक्रममा तीन खण्डमा २० इकाइ राखिएका छन् । पाठ्यक्रममा नगरको परिचय, तरकारी, फलफूल, कुखुरा, गाईभैंसी, बाख्रा, बंगुर, मौरी, धार्मिक क्षेत्रलगायत समावेश गरिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाले पनि चालु शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम पढाउन थालेको छ । कक्षा १–५ सम्मका लागि मौलिक विषयवस्तुमा आधारित पाठ्यक्रम बनाई चालु सत्रमा पढाउन थालेको हो । सामाजिक संस्कार, संस्कृति, धार्मिक स्थल, पर्यटकीय स्थल, विकास पूर्वाधार र हरित विद्यालय, प्राकृतिक श्रोत र सम्पदा, प्राकृतिक प्रकोप, परम्परागत प्रविधि, पेसा, सडक र ट्राफिकसमेतका विषयवस्तु पाठ्यक्रममा समेटिएका छन् ।

‘मौलिक विषयवस्तुमा आधारित रहेर एक कक्षाको पाठ्यपुस्तक तयार गरी पठनपाठन सुरु गरेका छौं । पुस्तकमा ७० प्रतिशत चित्र र ३० प्रतिशत शब्द छन्,’ शिक्षा शाखाका स्रोतव्यक्ति भरत पुनले भने, ‘माथिल्लो कक्षाको पनि फाठ्यक्रमका लागि विषयवस्तु छनोट गरिएको छ । सरोकारवालासँगको अन्तर्त्रियापछि क्रमशः पाठ्यपुस्तक बनाई लागू गर्नेछौं ।’ रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिकामा भने पाठ्यक्रम तयारी प्रक्रियामा रहेको छ । मंगलाले पाठ्यक्रम टुंगो गरी छपाइको तयारीमा रहेको जनाएको छ । ‘गतवर्ष कोभिडले काम गर्न सकिएन । अन्तिम टुंगोको तयारीमा छौं,’ धवलागिरि गाउँपालिकाका शिक्षा अधिकृत कमलप्रसाद ढकालले भने ।

तनहुँका स्थानीय तहले पनि भूगोल, आर्थिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय क्षेत्रलाई समेटेर आधारभूत तहमा स्थानीय पाठ्यक्रम निर्माण गरेका र गर्ने तयारीमा छन् । १० मध्ये व्यास, भिमाद नगरपालिका, आँबुखैरेनी, म्याग्दे र देवघाट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरिसकेका छन् । भानु, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर, घिरिङ, ऋषिङ गाउँपालिकाले भने यसै आर्थिक वर्षमा स्थानीय पाठ्यक्रम निर्माण तयारी थालेका छन् ।

गाउँपालिकाको परिचय, भौगोलिक अवस्था, साँध सिमाना, जनसंख्या, जातजाति, संघसंस्थालगायतलाई समावेश गरी कक्षा १ देखि ५ सम्मका लागि पाठ्यक्रम तयार गरिएको म्याग्देका शिक्षा शाखाप्रमुख बुद्धिसागर खनालले बताए । उनले भने, ‘पाठ्यक्रममा प्राकृतिक स्रोत सम्पदा, संस्कार र संस्कृति, ऐतिहासिक, पर्यटकीय र धार्मिक स्थल, पेसा, स्वास्थ्य सरसफाइ, प्रकोप वातावरण आदि क्षेत्रलाई समेत समेटिएको छ ।’ पाठ्यक्रम गाउँपालिकाका विद्यालयमा बाँडिएको छ । व्यासले १ देखि ३ कक्षाका लागि पाठ्यक्रम र १ कक्षाका लागि पाठ्यपुस्तक तयार गरिसकेको शिक्षा शाखाप्रमुख नरेन्द्रप्रसाद रेग्मीले बताए । उनले भने, ‘कक्षा एकको पाठ्यपुस्तक सबै विद्यालयमा बाँडिसकिएको छ । अन्य कक्षाको पुस्तक बनाउने तयारी भइरहेको छ ।’

देवघाटले भने २०७४/०७५ मै बनाएको पाठ्यक्रमलाई केही परिमार्जन गरी विद्यालयलाई वितरण गर्ने तयारी गरेको शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बताए । बन्दीपुरले पाठ्यक्रमको प्रारम्भिक तयारी भएको तर विज्ञसँग छलफल गर्न नपाउँदा सम्पन्न हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताए । उनले भने, ‘कोरोना संक्रमण जोखिमका कारण विज्ञहरू बोलाएर छलफल गर्न सकिएको छैन । अब केही समयमै पाठ्यक्रमको टुंगो लगाउने तयारीमा छौं ।’

गोरखाका ३ स्थानीय तहले चालु शैक्षिक सत्रबाटै स्थानीय पाठ्यक्रममा पठनपाठनको तयारी थालेका छन् । सिरानचोक र सहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिकाले स्थानीयस्तरको पाठ्यक्रम तयार गरिसकेका छन् । धार्चे गाउँपालिकाले भने यो वर्ष पाठ्यक्रम बनाउने तयारीमा छ ।

धार्मिक र ऐतिहासिक सम्पदा, स्थानीय संस्कृति, सम्पदा, कृषि उपजका विषय पाठ्यक्रममा समेटिएका छन् । पालुङटारले १ र ६ कक्षाको पाठ्यक्रम तयार गरेको छ । यो वर्ष २, ३ र ७ तथा आगामी वर्ष ४ र ८ कक्षाका लागि तयार गर्ने नगरपालिकाका शिक्षा शाखाप्रमुख बाबुराम काराखेतीले बताए । ‘आधारभूत तहसम्मको स्थानीय पाठ्यक्रमलाई पूर्णता दिन्छौँ,’ उनले भने । पाठ्यक्रममा भौगोलिक अवस्था, प्राकृतिक सौन्दर्यता, तालतलैया, मठमन्दिर समावेश छन् । ‘प्रविधिको जमाना भएकाले आईटीका कुरा पनि राखेका छौँ,’ उनले भने, ‘कक्षा एकका १२ सय ५० विद्यार्थीका लागि किताब छपाइ भयो ।’ स्थानीयस्तरको पाठ्यक्रमको पनि एक सय पूर्णांकको परीक्षा हुने उनले बताए ।

२०७५ सालबाटै नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि नगर शिक्षा अधिकारी काराखेतीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाएको थियो । ‘हाम्रोमा उखु, लिची खेती हुन्छ, ढिकी, जाँतोको तस्बिर छ, यही विषयवस्तु पनि समेटेका छौँ,’ उनले भने, ‘यस्ता विषयले विद्यार्थीले आफूले भोगेका कुरा व्यवहारमा ढाल्न सहज हुन्छ ।’

सहिद लखनले १ देखि ३ कक्षासम्मको स्थानीय पाठ्यक्रम तयार गरेको र यो वर्ष कक्षा एकबाट फढाइ सुरु गर्ने र क्रमशः लागू गर्दै जाने तयारीमा छ । ‘शिक्षकसँग अन्तर्त्रिया गरेर पाठ्यक्रम लागू गर्ने तयारी थालेको गाउँपालिकाका शिक्षा शाखाप्रमुख मोहन विष्टले बताए । ‘छपाइ गरिसकेका छैनौं, ई–कपी तयार भयो,’ उनले भने, ‘यो वर्ष चारदेखि आठ कक्षाको पाठ्यक्रम तयार हुन्छ ।’ मनकामना मन्दिर, खोला, पाटीपौवा, सहिद लखनको योगदान, पर्यटकीय गन्तव्य, कला, संस्कृतिबारेमा पाठ्यक्रममा चर्चा गरिएको छ ।

सिरानचोक गाउँपालिकाले पनि यही वर्षबाट १ देखि ३ कक्षासम्म पठनपाठन गर्ने जनाएको छ । स्थानीयस्तरका पाठ्यक्रममा पठनपाठन गर्दा गाउँपालिका र जन्मभूमिप्रति विद्यार्थीको अपनत्व बढ्ने गाउँपालिका अध्यक्ष राजु गुरुङ बताउँछन् । ‘इतिहास, कला, भाषाका कुरा समेटिएको छ, विपद्का कुरा हुन्छन्,’ उनले भने, ‘आफूले जानेबुझेका कुरा पढ्न पाउँदा विद्यार्थी पनि उत्साहित हुने भए ।’

पर्वतका स्थानीय तहले बजेट र दक्ष जनशक्तिको अभाव देखाउँदै निर्माणमा ढिलाइ गरेका छन् । कुश्मा नगरपालिकाका शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले बजेटको व्यवस्थापन नहुँदा पाठ्यक्रम निर्माण गर्न नसकिएको बताए । ‘सुन्दा सामान्य लाग्छ,’ उनले भने, ‘सम्बन्धित विषयविज्ञ, सरोकारवालासँग छलफल र बहसपछि पाठ्यपुस्तक निर्माण गर्नुपर्छ । त्यसका लागि कम्तीमा १०–१२ लाख बजेट आवश्यक हुन्छ । बजेट अभावकै कारण रोकिएको हो ।’ कुश्माले शिक्षा ऐन र नियमावली जारी गरेको २ वर्ष भइसक्यो ।

फलेबासका नगर शिक्षा अधिकारी कृष्ण आचार्यले ऐन नियमावली बनाएर तयारी अवस्थामा राखिएको र आगामी भदौदेखि स्थानीय पाठ्यक्रम निर्माणको थालनी गरिने बताए । उनले भने, ‘हामीले धेरैतिर छलफल र बहस थालेकोले केही ढिलाइ भएको छ । भदौदेखि तयारी गर्छौं ।’ जिल्लाका अन्य पाँच गाउँपालिकाले शिक्षा ऐन जारी गरेर पनि पाठ्यक्रम तयार पार्न नसकिएको बताएका छन् । बिहादीका अध्यक्ष कमलप्रसाद भुसालले दक्ष जनशक्ति नभएका कारण पाठ्यक्रम तयार पार्न नसकिएको बताए । पैंयू, महाशिला, मोदी र जलजला गाउँपालिकाले पनि अझै नयाँ पाठ्यक्रमतर्फ चासो देखाएका छैनन् ।

स्याङ्जाका ११ स्थानीय तहमध्ये ४ वटाले मात्र पाठ्यपुस्तक बनाउन लागेका छन् । फेदीखोला गाउँपालिकाले पाठ्यक्रम र पाठ्यपुस्तक पनि तयार गरिसकेको अध्यक्ष घनश्याम सुवेदीले बताए । ‘छपाइको काम बाँकी छ,’ उनले भने । उनले गाउँपालिकाको अवस्था, इतिहास, भूगोल, शैक्षिक र स्वास्थ्य अवस्थासँगै यस क्षेत्रको पहिचान झल्कने गरी पाठ्यपुस्तक तयार पारिएको बताए ।

भीरकोट नगरपालिका, बिरुवा र कालीगण्डकी गाउँपालिकाले पनि पाठ्यपुस्तक बनाउने क्रममा छन् । भीरकोटका योजना अधिकृत यामप्रसाद रेग्मीले भीरकोटको परिचयसँगै धार्मिक, पर्यटकीय, सामाजिक वस्तुस्थितिबारे समेटेर पुस्तक निकाल्ने तयारी भएको बताए । चारवटै स्थानीय तहले एकदेखि कक्षा ८ सम्मको एक/एकवटा विषय बनाउने भएका छन् । लोकसंस्कृतिका अभियान्ता तुलसी प्रवासले स्थानीयसँगै भेटेर पाठ्यपुस्तक तयार पारिएको बताए । कास्कीको रूपा गाउँपालिका र पोखरा महानगरपालिकाले पनि आफ्नै पाठ्यपुस्तक बनाउने तयारीमा जुटेका छन् ।

प्रकाश बराल (बागलुङ), घनश्याम खड्का (म्याग्दी), सम्झना रसाइली (तनहुँ), हरिराम उप्रेती (गोरखा), अगन्धर तिवारी (पर्वत) र प्रतीक्षा काफ्ले (कास्की)

प्रकाशित : श्रावण १८, २०७८ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?