सडकमै कोदो रोपेर विरोध- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडकमै कोदो रोपेर विरोध

हरिराम उप्रेती

गोरखा — सडक स्तरोन्नतीमा बेवास्ता गरेको भन्दै स्थानीयले सडकमै कोदो रोपेर विरोध जनाएका छन् । गोरखा–आरुघाट सडकखण्ड अन्तर्गत बिहीबार ढुंगागाढेमा स्थानीय र जनप्रतिनिधिले हिलाम्मे सडकमा कोदो रोपेर सांकेतिक रुपमा विरोध गरेका हुन् ।

बर्खा लागेसँगै उक्त सडक अन्तर्गत ढुंगागाढे, आहाले र बराह क्षेत्रको सडक हिलाम्मे छ । तर सडक कालोपत्रेको जिम्मा पाएका ठेकेदारले कोभिड र बर्खाको बहाना बनाउँदै सडकको कामलाई निरन्तरता नदिएपछि स्थानीयले प्रदर्शन गरेका हुन् ।

बर्खा लागेसँगै आरुघाट लगायतका उत्तरी क्षेत्र यात्रा गर्ने यात्रुको गाडी फसेर दिनहुँजसो बिचल्ली हुने गरेको गोरखा नगरपालिका–४ का वडा अध्यक्ष खोपबहादुर अधिकारीले बताए । ‘हिलो भएको ठाउँमा ग्राभेल मात्र हालेर भएपनि गाडी पास हुने बनाउनुपर्‍यो,’ उनले भने, ‘बिरामी बोकेर आएको एम्बुलेन्स पनि सडक पार गर्न सक्दैन । सधैं धकेलेर सडक पार गराएर उपाय पनि लागेन ।’

९ करोड ८६ लाख ७० हजारको लागतमा अस्पतालमार्ग–फिनाम सडकखण्डको ४.२ किलोमिटर सडक कालोपत्रेको जिम्मा बानियाँ निर्माण सेवाले पाएको छ । २०७७ असोज ७ गते ठेक्का सम्झौता गरेको ठेकेदार कम्पनीले २०७९ भदौभित्र कालोपत्रे सक्नुपर्छ । तर सडक निर्माणमा एक महिना अघिदेखि ठेकेदारले कामदार नै नपठाएको स्थानीयको आरोप छ ।

ग्राभेल राखेर सडकमा गाडी हिँड्न मिल्ने बनाउन ठेकेदारलाई निर्देशन गरिएको पूर्वाधार विकास कार्यालय गोरखाका प्रमुख दयाराम अधिकारीले बताए । ‘दुई वर्षको ठेक्का हो । ठेकेदारले काम गर्दैछ,’ उनले भने, ‘तत्कालका लागि ग्राभेल राखेर गाडी पास हुने बनाउँछौं ।’

प्रकाशित : श्रावण १४, २०७८ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्

झुटो विवरण पेस गरी नागरिकता लिएको आरोपमा भारतीयसहित दुई जना पक्राउ

भूषण यादव

वीरगन्ज — झुटो विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोपमा एक भारतीयसहित दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भारतीय नागरिक सीता पटेलले कविता कुमारीका नामबाट जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता लिएको खुलेको हो । झुटो विवरण देखाएर नागरिकता लिएको सूचनाको आधारमा प्रहरीले अनुसन्धान थाल्दा दुवै जनालाई बुधबार बिहान वीरगन्जमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पटेललाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनको ब्यागमा जिल्ला प्रशासनबाट २०७० पुस ११ मा जारी भएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता बरामद भएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

उनका अनुसार पर्साको साबिक बैरियाविर्ता दा.पु.गाविस–९ निवासी धुरुपप्रसाद पटेलकी छोरी कविताकुमारी भन्ने विवरण रहेको नागरिकताको प्रतिलिपि फेला परेको हो । नागरिकता बनाउन बुबा बनी सनाखत गरिदिने बहुदरमाई नगरपालिका–२ निवासी ५१ वर्षीय धुरुपप्रसादलाई समेत प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ ।

दुवै जनालाई नागरिकता सम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । ‘नक्कली बुबा बनाएर भारतीय महिलाले नेपाली नागरिकता लिएको देखिएको छ,’ प्रहरी प्रवक्तासमेत रहेका डीएसपी खनालले भने, ‘थप अनुसन्धान गर्दै जाँदा खुल्नेछ ।’

प्रकाशित : श्रावण १४, २०७८ १३:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×