जो आफ्नै खुट्टामा टेकिन खोज्दै छिन्- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जो आफ्नै खुट्टामा टेकिन खोज्दै छिन्

प्रकाश बराल

बागलुङ — जन्मिँदा सामान्य उनी टुकुटुकु हिँड्ने बेला खुट्टा टेकिएनन् । बाबुआमाले हिँड्न ढिला भएको भन्दै सुरुमा सामान्य ठाने । निसीखोला गाउँपालिका–२ बायखोलाका हेमबहादुर र धना मल्लकी माइली छोरी गीताले उमेर पुग्दा पनि खुट्टा टेक्न सकिनन् ।

बागलुङ निसीखोला–२ की शारीरिक अपांगता भएकी गीता मल्ल ह्वीलचियरमा । तस्बिर : प्रकाश/कान्तिपुर

अस्पतालमा परीक्षण गर्दा दुवै खुट्टामा ‘कन्जाइम’ भनिने समस्या देखियो । कन्जाइमको समस्याले गीताले आफ्नो खुट्टाको भर पाउन सकिनन् । दुई खुट्टा टेकेर हिँड्नुपर्ने बेलासम्म उनलाई रोगले च्यापिसकेको थियो । ८ वर्षको उमेर पुग्दा उनका दुवै खुट्टा सुके । दुवै हातका औंलामा समेत समस्या छ ।

छोरीको समस्याले चिन्तामा परेका मल्ल दम्पतीले उपचारका लागि धेरै ठाउँ धाए । ज्याला मजदुरीबाट चल्ने उनीहरूलाई अपांग छोरीको उपचारमा धाउनु परेपछि हातमुख जोड्न मुस्किल भयो । ‘दुई छाक जुटाउनै दैनिक मजदुरी गर्नुपर्थ्यो । त्यति हुँदा पनि छोरीको उपचार भन्दै धेरै ठाउँ धायौं, कतै पनि सम्भव भएन,’ धनाले भनिन्, ‘पछि दुवै खुट्टा काटेर फाल्नुपर्ने अवस्था आयो ।’ रोइकराइ गरे पनि छोरी बचाउनका लागि खुट्टा काटेर फाल्न सहमति दिन बाध्य भएको उनले बताइन् । २०६५ को जेठ ५ मा अपांग बाल अस्पताल धुलिखेलमा गीताको दुवै खुट्टा तिघ्राबाट काटिएको थियो ।

मल्ल दम्पतीले ऋण खोजेर जुटाएको पैसाले छोरीको अपरेसन गरे । झन्डै ६ महिनासम्म अस्पतालको बसाइ भयो । लगातारको खर्च, छोरीको उपचारको पीडा र परिवार पालनपोषण गर्ने बाध्यताले कष्टकर जीवन बिताउन बाध्य भए । अझै पनि उनीहरूको परिवार मजदुरीमा छ । मल्ल दम्पतीका ५ छोरी छन् । त्यसै त विपन्न परिवार, भएको खेतबारी पनि पहिरोले लग्यो । उनीहरू सदरमुकाममा विस्थापित भए ।

२० वर्षकी गीता ह्वीलचियरमा छिन । पढ्ने चाहना भने छाडिनन् । आमाबाबुले पनि ज्यालादारी गरेर विद्यालय भर्ना गरिदिए । कक्षा ५ मा प्रथम भएकी गीताको विद्यालय टाढा भएकाले त्यसपछिको पढाइ अवरुद्ध भयो । कक्षा ६ पढ्न देवीस्थान मावि पुग्न सामान्य विद्यार्थीलाई डेढ घण्टा लाग्थ्यो । ‘केही दिन बोकेर लैजाने ल्याउने गरिरहें,’ मल्लले भनिन्, ‘कामै छाडेर कति दिन बोक्ने त्यसैले पढाइ छोड्न बाध्य भयौं ।’ गीतालाई दैनिक बोकेर विद्यालय पठाउनुपर्दा धनाले मजदुरीसमेत गर्न नपाएर भोकभोकै बस्नु परेको सुनाइन् । मर्नुभन्दा बहुलाउनु निको भनेर छोरीको पढाइ छुटाएको उनले बताइन् ।

उनीहरूको पीडाको समाचार २०७० मा कान्तिपुर दैनिकमा प्रकाशित भयो । समाचार प्रभावले शिक्षा विभाग र तत्कालीन जिल्ला शिक्षा कार्यालयको पहलमा सदरमुकामको विद्या मन्दिरमा पढ्ने व्यवस्था भयो । गीता र उनकी दिदी पार्वतीलाई विद्या मन्दिर माविले फिडर छात्रावासमा राख्यो । पहिरोले घरखेत बगाएर बस्ने ओत र खाने गाँस छुटेपछि २०७२ देखि मल्ल परिवार बागलुङ बजार सरेर मजदुरीबाट जीवन गुजारिरहेका छन् । सदरमुकाम बागलुङ बजारस्थित सिर्जना रोडको एक घरमा साँघुरा २ कोठामा ५ छोरी र धना बस्छन् । मासिक ५ हजार घरभाडा, ५ छोरीको पालनपोषण गर्दा धनालाई ऋणले डुबाएको छ । धनाले बजारका होटलमा भाँडा माझ्थिन् । कोरोना संक्रमण र निषेधाज्ञाले उनको रोजगारी खोसिदिएको छ ।

‘अहिले कोठाभित्रै बस्नुपर्छ, काम पनि पाइँदैन, के गरेर खाने ?’ धनाले गुनासो गरिन्, ‘जीवनमा कति दुःख पाउनुपर्ने होला ?’ कहिले उनी गिट्टी, बालुवा उठाउन पुग्छिन्, कहिले ढुंगा खेप्ने गर्छिन् । हेमबहादुर भारत पसेका छन् । ३ वर्ष भारतमा मजदुरी गरेरै खाने खर्च जुटाएका हेमबहादुरलाई अहिले उतै बसेर बाँच्न पनि कठिन भएको छ । ‘दुई वर्षदेखि कोरोनाका कारण न काम मिलेको छ, न फर्कन सक्नुभएको छ,’ धनाले भनिन्, ‘काम पाइएला र केही कमाउँला भन्दैमा अलपत्र हुनुभयो ।’ दसैंसम्म सहज नभए यतै फर्काएर सँगै मजदुरी गर्ने योजना उनले सुनाइन् ।

कक्षा ६ देखि १२ सम्म गीताले विद्या मन्दिर माविको छात्रावासमा बसेर पढिन् । ‘साथीहरूको सहयोगले मैले सजिलै पढ्न सकें, अब उच्च शिक्षा पढेर रोजगार बन्ने सपना छ,’ उनले भनिन्, ‘बाबुआमालाई आफ्नै कमाइले पाल्ने चाहनाका लागि रोजगारी खोजिरहेकी छु ।’ धौलागिरि बहुमुखी क्याम्पसमा बीएड प्रथम वर्षमा अध्ययनरत छिन् । उनलाई निःशुल्क भर्ना गरिदिएको प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘भर्ना निःशुल्क भयो, तर पढ्ने लेख्ने कापीकलम र जाने आउने सहयोगी चाहिन्छ,’ गीताले भनिन्, ‘अपांगमैत्री डेरा, सडक र कक्षाकोठा छैन ।’ ह्वील चियरमा गएपछि क्याम्पसको कक्षा पुग्न सास्ती हुने उनले गुनासो गरिन् ।

कक्षा १२ उत्तीर्णपछि उनको छात्रावास छुट्यो । अहिले आमासँगै बस्छिन् । ५ दिदीबहिनी ९ कक्षादेखि बीएड दोस्रो वर्षसम्म अध्ययनरत छन । सबैका लागि स्टेसनरी जोहो गर्दा मासिक २० हजारले पनि नपुग्ने धनाले गुनासो गरिन् । केही वर्षदेखि स्थानीय अधिकारकर्मी गीता श्रीषले उनका लागि पाठ्यपुस्तक किनेर सहयोग गरेकी छन् ।

गीताले ख वर्गको अपांग परिचयपत्र पाएकी छन् । उनलाई स्थानीय पालिकाले राहत तथा छात्रवृत्ति दिनुपर्ने छिमेकी रेशम नेपालीले बताए । ‘हामीले अधिकारको विषय उठाएका थियौं, तर सहयोग मिलेको छैन,’ नेपालीले भने, ‘सामाजिक सञ्जालमार्फत सहयोग कोष बनाउने तयारी गरेका छौं ।’

प्रकाशित : श्रावण १२, २०७८ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्

करोडौं खर्चेर नाम मात्रैका कालोपत्र

सडक बने तर गुणस्तर अनुगमन नहुँदा ठेकेदारको लापरबाही
प्रकाश बराल

बागलुङ — सदरमुकाम बागलुङ बजारको ट्राफिक चोकदेखि रामरेखा हुँदै कालीका मन्दिरसम्मको ३ किमि सडक असार १४ मा रिसिलिङ (अलकत्र हालेर गिटी बिछ्याउने प्रक्रिया) गरियो । कालोपत्र गर्नुपर्ने अधिकांश सडकमा केही वर्षदेखि गिट्टीको पत्र राख्ने काम मात्रै चलिरहेको छ । यतिबेला उक्त सडक भत्केर खाल्डैखाल्डा भएको छ ।

बागलुङको धौलागिरि क्याम्पस चोकमा एक महिनाअघि गरिएको कालोपत्रको अवस्था ।

सदरमुकामकै बांगेचउरदेखि रामरेखा हुँदै उपल्लाचौर, कुँडुलेसम्मको ५ किमि सडकको समेत हालत उस्तै छ । केही खण्डमा कालोपत्र र केही खण्ड रिसिलिङ गरिएको थियो । रिसिलिङ भएको अधिकांश खण्ड जीर्ण भइसकेको छ । कतिपय खण्ड हिलाम्मे छ । सडक बोर्ड नेपालको ३ करोड रुपैयाँ खर्च भएको उक्त सडकमा मोटरसाइकल र स्कुटर पनि चिप्लिन थालेका छन् । हिलो छ्यापिएर पैदल यात्रुलाई सास्ती भएको छ । ठाउँठाउँमा खाल्डा छन् ।

घाम लागेको दिन धुलाम्मे र पानी पर्दा हिलाम्मे भएर बस्नै नसक्ने हुने बागलुङ नगरपालिका–२ का सञ्जय श्रेष्ठले बताए । ‘एक महिना पुगेको छैन, धूलो र हिलो भइसक्यो, बरु पहिलाकै ठीक थियो,’ श्रेष्ठले भने, ‘करोडौं रकम खर्च नगरेको भए पनि हुन्थ्यो ।’

बागलुङ नगरपालिकाको १५ लाख बजेटमा बजार क्षेत्रमा कालोपत्र गरिएको समेत सबै उप्केर हिलाम्मे बनेको छ । धौलागिरि क्याम्पस चोकदेखि जिपपार्क, श्रीनगरटोलतर्फको सडक १५ दिनमै हिलाम्मे भएको हो । ‘अब राम्रो भयो, हिलोधूलो खानु पर्दैन भनेको फेरि उस्तै भयो,’ स्थानीय थानेन्द्र गौतमले भने, ‘काम कस्तो भयो भनेर अनुगमन नगर्दा राज्यको करोडौं खर्च हुने तर सडक नटिक्ने भएको हो ।’

नगरपालिकाले चोक सुधार कार्यक्रममा गत दुई वर्षमा १ करोड ३० लाख खर्चेको थियो । तर साउन नलाग्दै हिलाम्मे भएपछि उपभोक्ताले भ्रष्टाचार भएको आरोप लगाएका छन् । ‘गुणस्तरहीन काम गर्नेलाई कारबाही गर्ने र क्षतिपूर्ति भराउने व्यवस्था गर्नुपर्छ,’ उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भने, ‘भ्रष्टाचार ठहर भएमा ठेकेदारको लाइसेन्स खारेज गर्नुपर्छ ।’ उपभोक्ता हितविपरीत काम गर्ने जोकोही पनि कारबाहीमा पर्नुपर्ने उनले बताए ।

ट्राफिक चोकदेखि कुँडुलेतर्फको रिसिलिङको काम फेवा बीएम संयुक्त निर्माण कम्पनी र बजारभित्रको कालोपत्र आरएस निर्माण सेवाले गरेका हुन् । फेवा बीएसका स्थानीय प्रतिनिधि बिमलेस आचार्यले काम राम्रो नभएको स्विकारे । उनले सडक विभागबाटै कालोपत्रको योजना बनाउनुपर्नेमा रिसिलिङ राख्दा नटिकेको बताए । ‘सडकको बेस राम्रो भए मात्रै यो विधि टिक्छ, नत्र कालोपत्र राम्रो हो,’ उनले भने, ‘राज्यले खर्च कटाउन खोज्दा कमजोर भएको हो ।’

सडक डिभिजन कार्यालयका इन्जिनियर मुकुन्दप्रसाद लामिछानेले सडक गुणस्तर नभएपछि ठेकेदारलाई भुक्तानी रोकेको बताए । ‘काम गरेको भोलिपल्टै स्थानीयबाट गुनासो आएको थियो, त्यसैले केही भुक्तानी रोकेका छौं,’ लामिछानेले भने, ‘म्याद सकिएकाले ठेकेदारलाई म्याद थपेर भए पनि भदौमा गुणस्तरीय बनाउन लगाउनुपर्छ ।’

प्रकाशित : श्रावण ७, २०७८ १२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×