कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कालीगण्डकी करिडोर फेरि बन्द

प्रकाश बराल

बागलुङ — गलुवा र काला खोलामा पहिरो खसेपछि कालीगण्डकी करिडोरमा यातायात ठप्प भएको छ । बुधबार राति खसेको पहिरोले यातायात ठप्प भएको हो ।

कालीगण्डकी करिडोर फेरि बन्द

अठार दिनसम्म अवरुद्ध भएर सोमबार दिउँसो खुलेको करिडोर फेरि रोकिएको छ । करिडोर ठप्प भएपछि दक्षिण बागलुङको बलेवा, जैमिनी नगरपालिका र बरेङका लागि खाद्यान्न, अत्यावश्यक सामाग्री ढुवानीसमेत अवरुद्ध भएको जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बताए ।

बागलुङ कुश्मीसेरा सडक पनि २२ दिनदेखि अवरुद्ध छ । उक्त सडक अझै धेरै दिनसम्म खुलाउन कठिन हुने सडक डिभिजन कार्यालयका इञ्जिनियर मुकुन्दप्रसाद लामिछानेले बताए । गत वर्ष ग्रामीण सडक खन्दा खसेको पहिरोले एकैपटक दुइटा सडक बगाएको थियो । उक्त खण्डमा नयाँ ट्रयाक खोल्नुपर्ने भएपछि सडक सञ्चालन कठिनाइ भएको हो ।

दुइटै सडक अवरुद्ध भएपछि कुश्मीसेराका लागि खाद्यान्न ढुवानीमा हिँडेका सवारी साधन बागलुङ बजारमा अलपत्र परेका छन् । दैनिक दर्जनांै सवारीले ती क्षेत्रमा खाद्यान्न ढुवानी गर्छन् । त्यस्तै जैमिनी र बलेवा क्षेत्रबाट आउने दूध ढुवानी रोकिएको छ । पिठ्युँमा बोकेर ल्याउँदा दूध फाट्ने गरेको किसानले गुनासो गरेका छन् ।

त्यस्तै दक्षिण बागलुङका बिरामीले बलेवाबाट अग्लो झोलुंगे पुल तरेपछि मात्रै कुश्माबाट सवारी साधनको यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गरे । ‘गाडी चढेर सदरमुकामसम्म बिरामी पठाउन पनि सकिएन,’ बरेङ कोभिड अस्पतालकी प्रमुख डा.लक्ष्मी पन्थीले भनिन्, ‘सडक सडक अभावमा बिरामी रिफर गर्न पनि कठिन भयो ।’ सडक खुलाउने प्रयास भए पनि अझै समय लाग्ने भएपछि दक्षिण बागलुङका लागि केही ट्रयाक्टर अत्यावश्यक सामान तित्याङ हुँदै घुमाउरो बाटो पठाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरले बताए ।

प्रकाशित : श्रावण ७, २०७८ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?