१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३०६

गर्भवतीलाई प्रतीक्षाघर

प्रसूतिका लागि ल्याइने महिलासँगै कुरूवा पनि बस्न मिल्ने 
प्रकाश बराल

बागलुङ — छरिएका बस्ती । बस्तीबाट टाढा स्वास्थ्यचौकी । निसीखोला गाउँपालिका–३ बोहोरागाउँकी रामकुमारी विकलाई स्वास्थ्यचौकी आइपुग्न ४ घण्टा लाग्थ्यो । सुत्केरी बेथाले च्यापेपछि आउन निकै कठिन थियो । तीन वर्षअघि पहिलो बच्चा जन्माउँदा एक सातासम्म होटलमा बसेकी थिइन् । 

हालै दोस्रो सन्तान जन्माएकी उनले होटलमा बस्नु परेन । सुत्केरी बेथाले च्याप्नुअघि नै उनी स्थानीयस्तरमा बनाइएको प्रतीक्षाघरमा आएर बसिन् । तेस्रो दिन सुत्केरी भइन् । कुरुवाले खाना पकाएर खुवाए । प्रतीक्षाघरमा खानेबस्ने व्यवस्था छ । परिवारका सदस्य र स्वास्थ्यकर्मीको निगरानीमा बस्दा उनी र शिशुले राम्रै स्याहार पाए । ‘साता दिनसम्म स्वास्थ्यचौकीमै बस्न पाइयो,’ उनले भनिन्, ‘घर फर्कंदा गाउँपालिकाले आयोडिन नुन र अण्डा दिएर पठायो ।’ एक वर्षअघि बनेको प्रतीक्षाघरले धेरै जना गर्भवतीलाई सहयोग पुगेको स्वास्थ्यचौकी प्रमुख कसेन्द्र शाहीले बताए ।

बोहोरागाउँकै देवी रेग्मीले पनि यो सेवा लिइन् । स्वास्थ्य संस्थामा उपचारका लागि गए पनि बस्ने ठाउँ नभएपछि सास्ती हुन्थ्यो । राम्रेसँग खानेबस्ने ठाउँ छैन । घरघरमा बास खोजेर पाउनै मुस्किल हुने रेग्मीले अनुभव सुनाइन् । पछिल्लो एक वर्षयता त झन् कोरोना संक्रमणका कारण बाहिरबाट आउनेलाई घरमा बास दिन कोही पनि तयार छैनन् । बस्न नपाएकै कारण सहर जानुपर्ने बाध्यता थियो । निःशुल्क हुने सुत्केरी सेवा यहाँका महिलाले हजारौं खर्चन बाध्य थिए ।

अहिले यहाँको स्वास्थ्यचौकीमा प्रसूति कुरुवा तथा प्रतीक्षाघर बनेको छ । यो घरमा सुत्केरी हुनुपूर्व र पछि राखेर स्याहार गर्न पाइन्छ । कुरुवा पनि बस्न मिल्छ । चौबिसै घण्टा स्वास्थ्यकर्मी हुन्छन् । यसले गाउँ तहमा सुत्केरी सेवा सुरक्षित र भरपर्दो भएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

५ लाख ५५ हजार रुपैयाँमा बनेको हो प्रतीक्षाघर । गाउँपालिकाले ३ लाख र ग्रामीण स्वास्थ्य सुधार परियोजनाले २ लाख ५५ हजार रुपैयाँ सहयोग गरेका हुन् । यहाँ ३ बेड छन् । स्वास्थ्यचौकीभित्रै पनि सुत्केरी सेवा लिने ५ जनासम्म राख्न सकिन्छ । शल्यक्रिया गर्नुपर्नेबाहेक अन्य समस्या तत्काल समाधान गर्न सक्ने उपकरण पनि जडान गरिएको छ । ‘बच्चा जन्मेपछि श्वासप्रश्वास समस्या भएमा खुलाउने, बच्चा र आमालाई न्यानो बनाइराख्ने र सरसफाइका धेरै सामग्री पनि थपिएको छ,’ शाहीले भने, ‘हामीले नो होम डेलिभरीको अभियान चलाएका छौं, सफल पनि भयौं ।’ स्वास्थ्य संस्थामा थोरै लगानी र व्यवस्थापन परिवर्तन हुँदा यो सफलता मिलेको उनले बताए ।

सेवासुविधा थपिएकै कारण यहाँ सुत्केरी हुन आउनेको संख्या पनि बढेको छ । गत वर्ष १ सय ४४ मध्ये १ सय ४० जना यहीं सुत्केरी भएका थिए । तीमध्ये एक सयले प्रतीक्षाघरको उपयोग गरेका थिए । चालु वर्ष पनि १ सय ४३ सुत्केरी भइसकेका छन् । १० जना रेफर गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । यस्तै प्रतीक्षाघर बुंगादोभान, खरवाङ, खुंखानी, बोबाङलगायत स्थानमा बनाइएका छन् ।

बागलुङको पश्चिम क्षेत्रका अधिकांश गाउँमा घरमै सुत्केरी हुने चलन बढी थियो । ३ वर्षयता विभिन्न संघसंस्थाको सहयोगमा स्थानीय पालिकाले ‘नो होम डेलिभरी’ लाई साथ दिएको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले बताए । जिल्लाका ८५ वडामध्ये ५५ स्थानमा बर्थिङ सेन्टर स्थापना भइसकेका छन् ।

प्रकाशित : असार २७, २०७८ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?