कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बौद्धिक अपांगता भएका जुम्ल्याहा अलपत्र

निषेधाज्ञा जारी भएपछि अरू १२ बालबालिकाका अभिभावकले आफ्ना छोराछोरी लगे पनि उनीहरूका अभिभावक भने सम्पर्कमा आएनन्
घनश्याम खड्का

म्याग्दी — बेनी नगरपालिका–५ स्थित बाल जागृति आधारभूत विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना भएका जुम्ल्याहा बालक अभिभावक सम्पर्कमा नआएपछि अलपत्र परेका छन् । १२ वर्षीय आदित्य र आयुष मल्लका बाबुआमा पछिल्लो एक वर्षदेखि सम्पर्कविहीन छन् ।

बौद्धिक अपांगता भएका जुम्ल्याहा अलपत्र

विद्यालयमा उनीहरूसहित १४ जना बौद्धिक अपांगता बालबालिका अध्ययनरत थिए । वैशाख २२ देखि जिल्लामा निषेधाज्ञा जारी भएपछि अन्य १२ बालबालिकालाई अभिभावकले लगे पनि आदित्य र आयुषका अभिभावक भने सम्पर्कमा आएनन् । मल्ल दाजुभाइ विद्यालयको छात्रावासमा बस्दै आए पनि पछिल्लो समय उनीहरूको हेरचाह गर्ने नहुँदा अलपत्र परेका हुन् ।

बझाङको साबिक बाँझ गाविस–८ बागथला स्थायी घर भएका आदित्य र आयुषलाई २०७५ जेठ २० मा अभिभावकले विद्यालयको बौद्धिक स्रोत कक्षामा भर्ना गरी फर्केका थिए । त्यसपछि बाबु गणेशबहादुर विद्यालयमा फर्केका छैनन् । विद्यालयका अनुसार गणेशबहादुर र उनकी श्रीमतीले बझाङकै खप्तड छान्ना गाउँपालिकास्थित लामातोला माविमा पढाउँछन् । ‘पहिला–पहिला अभिभावकले आया (बालबालिकाको रेखदेख गर्ने) लाई सम्पर्क गर्ने र केही खर्च पनि पठाउने गर्नुहुन्थ्यो रे । पछिल्लो एक वर्षदेखि त सम्पर्कमै छैनन् । विद्यालयमा दिएको नम्बरमा सम्पर्कै हुँदैन,’ विद्यालयकी स्रोत शिक्षिका अमृता पौडेलले भनिन्, ‘यी बौद्धिक अपांगता भएका बालकलाई बिहान–बेलुका मिसहरुले खाना पकाउने/खुवाउने गर्छौं, राति उनीहरूलाई न घर लैजान सम्भव छ, न यहाँ कुरेर बस्न । हामी संकटमा छौं ।’

बौद्धिक अपांगता भएका बालबालिकाको रेखदेख र संरक्षण गर्न विद्यालयले दुई आया नियुक्त गरेको थियो । तीन वर्षदेखि दसैं–तिहारजस्ता चाडपर्वमा मात्र होइन लामो बिदा हुँदा बालबालिकालाई अभिभावकले घर लैजान्थे । तर मल्ल दाजुभाइलाई भने अभिभावकले वास्ता नगरेकाले छात्राबासमै राखिन्थ्यो । दुई जना आयाले आलोपालो गरी छात्रावासमै बसेर उनीहरूको नियमित रेखदेख गर्थे । अभिभावक सम्पर्कमा नभए पनि ठूलो समस्या परेको थिएन । तर अहिले विद्यालयमा उत्पन्न परिस्थितिपछि बौद्धिक स्रोत कक्षामा कार्यरत कर्मचारीले जिम्मेवारी लिन अस्वीकार गरेपछि समस्या थपिएको हो । ‘खासगरी मल्ल दाजुभाइको संरक्षकत्व लिन समस्या भएको छ,’ कार्यवाहक प्रधानाध्यापक धनबहादुर क्षेत्रीले भने, ‘सरकारले वैकल्पिक विधिबाट विद्यार्थी भर्ना गर्ने र अध्यापन गराउने भनेको छ । तर बौद्धिक अपांगता भएका बालबालिकालाई वैकल्पिक विधि उपयोगी नहुने भो । कोरोना संक्रमणको जोखिम उस्तै भएकाले तत्काल विद्यालय खुल्ने अवस्था पनि छैन ।’

विद्यालयका प्रअ भक्त कार्कीको हत्या अभियोगमा एक जना आयाका श्रीमान् पक्राउ परेका थिए । असार ६ मा भएको हत्यापछि ती आया विद्यालय आइनन् । अर्की आया पनि बिरामी भइ घरमै बसेपछि स्रोत कक्षा र छात्रावासमा रहेका यी बालबालिका हेर्ने व्यक्तिको जिम्मा लिने कोही नहुँदा अप्ठेरो अवस्था आएको विद्यालयले जनाएको छ ।

प्रकाशित : असार २१, २०७८ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?